काठमाण्डौः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको आन्तरिक विवादले नेताका दौडधुप तीव्र बनेको छ ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन गरेको प्रयास असफल भएपछि विवाद झन् बढ्दै गएको छ । प्रधानमन्त्री ओली संसद्मा २७ वैशाखमा विश्वासको मत लिदै छन् ।
यसैगरी, आगामी ६ जेठमा हुने (बाग्मती प्रदेशतर्फको) राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हुँदै छ । यी दुई विषय केन्द्रित छलफल जारी छ । ओली आफूलाई विश्वासको मत दिनुका साथै उपनिर्वाचनमा नेपाल समूहले बिनासर्त सहयोग गर्नुपर्ने अडानमा छन् ।
तर, नेपाल समूह पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काएर नयाँ ढंगले अघि बढनुपर्ने अडान राख्दै आएको छ । एमाले धेरै नै अघि बढिसकेकाले फर्किन नसक्ने अडान ओलीको छ ।
शीर्षनेताको अडानबीच पार्टी एकता कायम राख्दै अघि बढ्ने विषयमा दोस्रो तहका नेता आन्तरिक छलफलमा जुटेका छन् । शुक्रबार ओली समूह नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाल र नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्टबीच छलफल भएको छ ।
‘पार्टी एकता जोगाउने विषयमा केही समययता हामीबीच सामूहिक तथा छुट्टाछुट्टै छलफल भइरहेको छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘अझै केही समहमति भएको छैन, जुटाउने विषयमा केन्द्रित छौं ।’
पार्टी एकता जोगाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सक्रिय भएको बुझिएको छ । शीर्षनेता अडानबाट टसमस नभएपछि पार्टी नै विभाजन हुने निश्चित भएपछि राष्ट्रपतिले समेत नेताबीच सहमति गराउन पहल गरिरहेको स्रोतको दाबी छ ।
राष्ट्रपति शितल निवासमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल बोलाएर भण्डारीले छलफल गरिसकेकी छन् । तर, राष्ट्रपति साक्षी राखेर छलफल भए पनि ‘कुनै किसिमको सहमति जुट्न’ सकेको छैन ।
नेता नेपालले छलफल जारी रहे पनि कुनै किसिमको सहमति नजुटेको जनाएका छन् । पार्टी विधि, प्रक्रिया, विधानअनुसार चल्नुपर्ने अडान राख्दै आएका उनले पार्टी एकताका लागि वार्ता र चलकता दुवै अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सहमति जुटाउन एक सातादेखि छलफल तीव्र छ । नेताहरूले दिनरात छलफल भइरहेको भए पनि ‘कसरी मिलाएर अगाडि बढ्ने ?’ विषयमा ठोस सहमति जुटाउन सकिरहेका छैनन् ।
यसैबीच, नेताबीच छलफल भइरहेकै बेला शुक्रबार साझ उपप्रधानमन्त्रीसमेत रहेका एमाले महासचिव ईश्वर पोखरेल राष्ट्रपति भेट्न शितल निवास पुगेका छन् । शितलमा अहिलेसम्म भएका छलफलबारे जानकारी गाराउँदै पार्टी एकताका लागि पहल गर्न आग्रह गरिएको छ ।
स्रोतका अनुसार नेपाल समूहका २० सांसदले मात्रै राजीनामा गर्नेछन् । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनिसकेपछि उपनिर्वाचन गरेर ती ठाउँमा पुनः नेपाल समूहकै नेतालाई कांग्रेस, माओवादी र जसपाले साझा उम्मेदवार बनाएर विजयी गराउने रणनीति बूढानीलकण्ठमा बनेको छ ।
ओली आफ्नो अडानबाट पछि नहटे नेपाल समूहले नयाँ दल दर्ता गराउनेछ । सोहीमार्फत नेपाल समूह उपनिर्वाचनमा महागठबन्ध बनाएर होमिनेछ । राष्ट्रिय सभा उपनिर्वाचनजस्तै ओलीविरुद्ध अन्य दल एकजुट भएर अघि बढ्ने योजनामा सबै सहमत रहेको स्रोतको दाबी छ । राजधानी दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया