असार २, २०८३ मंगलबार June 16, 2026

दंगलमा उभिएर ललकार्दै एउटा खलिफा – पुरञ्जन आचार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भारतका प्रसिद्ध समाजवादी नेता र चिन्तक डा. राममनोहर लोहिया मृत्युशय्यामा बडबडाउँथे रे, ‘मेरो देश सड्यो, मेरो देशको आत्मा मर्‍यो’ भनेर । नेपाली कांग्रेसका नेता बिपी कोइराला र राममनोहर लोहियाबीच घनिष्ट सम्बन्ध मात्र थिएन कि वैचारिक सामिप्य पनि थियो । बिपी कस्तै विपरीत परिस्थितिमा पनि नेपालको भविष्य छ र त्यो ‘हामी हाैँ’ भन्नुहुन्थ्यो । मृत्युशड्ढयामा पनि बिपी लोहियाजस्तो निराश देखिनुभएन । जब बिपी ‘हामी’ भन्नुहुन्थ्यो, उहाँको अभिव्यक्तिमा गहिरो विश्वास भर्ने एउटा बृहत् विचार, दर्शन, संगठन र समर्पित कार्यकर्ताको आलोक थियो । कांग्रेस नेतृत्वपंक्तिमा अहिले आसिन अधिकांश नेताले बिपीको सानिध्य पाएका छन् । कवि कविरदासले भनेझैँ ‘सबैभन्दा ठूलो सुख भनेको सन्त मिलनको सुख हो’ जो कांग्रेस नेतृत्वको वर्तमान पुस्ताले पाएका छन्, बिपीको सानिध्यमा ।

मुलुकको वर्तमान राजनीतिलाई अब दुई चस्माले हेर्न सकिन्छ । एउटा, लोहियावादी घोर निराशाको चस्मा र अर्को बिपीवादी विश्वास र आशाको चस्मा । लोहियावादी चस्मालाई आजको भारत प्रमाणित गर्दै छ, अर्थात् भारत सडेको देश भएको छ, धेरैको नजरमा । नेपाललाई अहिलेसम्म सडेको र आत्मा मरेको देश कुनै नेताले भनेका छैनन् । यहाँ अझै पनि विचारधाराको राजनीतिले प्रतिस्पर्धा गर्दै छ । ‘कम्युनिस्ट’ प्रधानमन्त्री केपी ओली ‘प्रजातान्त्रिक समाजवादी’ नेता शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा गएको समाचारले राजनीति तरंगित भयो, बितेको हप्ता । ओली दलबलसहित देउवानिवास पुगे । त्यहाँ मुलुकको आत्मा बचाउने कुनै कुरा भएन । कोरोनाको कहरले देशको आत्मालाई चिहानमा परिवर्तन गरिरहेका वेला प्रधानमन्त्री सत्ता जोगाइदिने अनुनयविनय गर्न पुगेका थिए । प्रधानमन्त्री जुन समय प्रमुख प्रतिपक्षी नेतासँग ‘मेरो सत्ता बचाउन तिमी पनि सत्तामा आऊ’ भन्दै थिए, ठीक त्यही समय कोभिड संक्रमणबाट मारिने नेपाली पोल्ने ठाउँ ‘आर्यघाट विस्तारको’ काम तत्परताका साथ भइरहेको थियो ।

प्रधानमन्त्री ओली देउवानिवास पुग्दा म युट्य्बमा अपरिचित युवा सुदन गुरुङले वीर अस्पतालबाट गरेको आह्वान हेर्दै थिएँ । उनी वीर अस्पतालभित्र कोरोना बिरामीका लागि बेड निर्माणमा व्यस्त थिए । भन्दै थिए, ‘यहाँ बेड राख्न प्रशस्त ठाउँ छ, हामी सक्छौँ ।’ गुरुङ न्युरोडवरपरका युवालाई वीर अस्पतालमा स्वयंसेवी हुन उत्प्रेरित गर्दै थिए । थाहा छैन, स्वास्थ्य मन्त्रालय र यी ऊर्जावान् युवाबीच कस्तो सम्बन्ध विकसित भएको छ र यी युवा कुन ऊर्जाबाट जीवनको जोखिम मोलेर घरबाट निस्केका हुन् । यस्तै ऊर्जावान् युवामाथि विश्वास गरेरै हुनुपर्छ बिपीले नेपालको भविष्य छ भनेको ।

भारतको न्यायालयले सत्तामा बसेर अनुत्तरदायी हुनेलाई कठघरामा उभ्याउने निर्णय गर्दै छ । नागरिकको बोली जब सरकार बुझ्दैन, पार्टीहरू मुखमा भोटेताल्चा लगाउँछन्, तब नागरिकको अभिव्यक्ति न्यायालयबाट अभिव्यक्त हुन सक्छ ।

बुढानिलकण्ठबाट निराश भएर प्रधानमन्त्री ओली बाहिरिँदा म युट्युबमै युवाद्वय सुरज पाण्डे र इडा रिजाल निर्मित एपबारे जानकारी लिँदै थिएँ । ‘कोभिड कनेक्ट’ नामको यो एपमा नेपालको स्वास्थ्य प्रणालीको सूचना प्राप्त गर्न सकिने गरी काम भइरहेको पाएँ । सुदन, सुरज र इडा मात्र होइन, अहिलेका युवापुस्ता देशसेवामा जोडिन चाहन्छन्, नागरिक हुनुको कर्तव्य पूरा गर्न चाहन्छन् । तर, फोहोर राजनीति बाधक भएर तिनको ऊर्जा छेक्न तेर्सिएको छ । सबै नेपालीलाई थाहा छ, मुलुकको स्वास्थ्य प्रणाली प्रभावकारी छैन भनेर । वास्तवमा कोरोनाजस्तो महामारीसँग लड्न स्वास्थ्य पूर्वाधार कुनै पनि मुलुकमा थिएन, एक वर्षअघि । यहाँसम्म कि अमेरिका, युरोप र चीनसँग पनि थिएन । तर, बितेको एक वर्ष धनी र गरिब दुवैखाले देश हात बाँधेर बसेनन् । तिनले स्वास्थ्य पूर्वाधार निर्माण गरे, डिजिटल प्रविधिको माध्यमबाट ।

उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग मानव हितमा कसरी गर्न सकिन्छ भनी त्यहाँका राष्ट्रप्रमुख–सरकारप्रमुख अरू सबै काम छाडी त्यसैमा सक्रिय भए । जर्मनी र अमेरिकाले मात्र होइन, बितेको एक वर्षमा नेपालभन्दा गरिब अफगानिस्तान र युगान्डाले पनि आफ्नो स्वास्थ्य पूर्वाधार आधुनिकीकरणमा थोर–बहुत काम गरे अनि कोरोनाको दोस्रो लहरबाट धेरै हदसम्म देशवासीलाई जोगाए । हाम्रामा यसबीच के भयो ? प्रधानमन्त्री ‘आयुर्वेदाचार्य’को अवतारमा प्रकट भए । संसद्बाटै कोरोनाको आयुर्वेदिक उपचार विधि मात्र सिकाएनन्, नेपालीको प्रतिरोधात्मक क्षमताको पाठ पनि पढाए । हाम्रा प्रधानमन्त्रीले मुलुकमा कसरी कोरोना आफ्नो बोली र व्यवहारबाट विस्तार गरे भनी लामो लेख सिएनएनको अनलाइन भर्सनमा शुक्रबार पढ्दा म लज्जित भएँ । प्रधानमन्त्री र उनका आसेपासेले पढे हुन्छ ।

प्रधानमन्त्रीलाई मतदाताले काम गर्न दिएको झन्डै ६० प्रतिशत समय पार्टीसँग, संसद्सँग, नागरिक समाजसँग र अन्तर्राष्ट्रिय समुदायसँग झगडा–फसाद गरेरै बिताए । यसरी अनुत्तरदायी भएर समय बर्बाद गरेका प्रधानमन्त्रीलाई के भन्ने ? मानवताको अपराधी वा अरू केही ? आज मुलुकमा कोरोनाले जुन ताण्डव प्रदर्शन गरिरहेको छ, त्यसको विस्तार केन्द्र प्रधानमन्त्री निवास बालुवाटार हो भन्न संकोच मान्नुपर्छ र ? पर्दैन । राजकाज जब निवासबाट हुन्छ, नागरिक असहाय र बेसहारा हुन्छन् । सम्पूर्ण सरकारी संयन्त्र असफल हुन्छ । सम्पूर्ण प्रणाली असफल हुन्छ किनकि निवासमा प्रधानमन्त्रीको निजी झुण्ड हुन्छ । त्यहाँ प्रधानमन्त्रीको आत्मप्रशंसा महोत्सव मनाइन्छ । भारतको न्यायालयले सत्तामा बसेर अनुत्तरदायी हुनेलाई कठघरामा उभ्याउने निर्णय गर्दै छ धमाधम । भारतको न्यायालयले गरेको निर्णयलाई ‘जुडिसियल एक्टिभिजम’बाट ‘जुडिसियल एक्सट्रिमिजम’ भनेर विमर्श गर्न सकिएला । तर, नागरिकको बोली जब सरकार बुझ्दैन, पार्टीहरू मुखमा भोटेताल्चा लगाउँछन्, तब नागरिकको अभिव्यक्ति न्यायालयबाट अभिव्यक्त हुन सक्छ । न्यायलयबाट पनि हुन नसक्दा सुरक्षा निकाय अर्थात् सेना नै सक्रिय भएका उदाहरण पनि छन् ।

कोरोनाको पहिलो लहरपछि सातवटै प्रदेशमा दक्ष प्रविधि राखेर स्वास्थ्यको डाटा बेस निर्माण गर्न सकिन्थ्यो । युवा तयार थिए, त्यसका लागि । देशमा उपलब्ध जुन स्वास्थ प्रणाली छ, त्यसलाई केही सुधार गरी स्वास्थ क्षेत्रको डिजिटल एकीकृत सूचना केन्द्र निर्माण गर्न सकिन्थ्यो । कति बेड, अस्पताल, औषधि, भेन्टिलेटर, आइसियू, अक्सिजन, डाक्टर र नर्स छन्, सबै बुझ्ने–बुझाउने गरी सर्वसुलभ बनाउन सकिन्थ्यो, यो एक वर्षमा । पाकिस्तानले त्यही गर्‍यो र अहिले विश्व स्वास्थ्य संगठनबाट धन्यवाद पाइरहेको छ । पाकिस्तान कुनै ठूलो स्रोत–साधन भएको देश होइन । प्रधानमन्त्री इमरान खानसँग इच्छाशक्ति थियो र गरे । कैयन मेडिकल विद्यार्थी, नर्स र सरकारी सेवाबाट अवकाश प्राप्त चिकित्सकलाई प्रयोग गर्न सकिन्थ्यो । स्वास्थ क्षेत्रमा हजारौँ रोजगारी सिर्जना हुन सक्थ्यो । कोरोना महामारी हाम्रो स्वास्थ प्रणालीमा व्यापक सुधारका लागि ठूलो अवसर हुन सक्थ्यो । सामाजिक पूर्वाधारको यो अवसर हाम्रो प्रधानमन्त्रीले एकपछि अर्कोसँग लाप्पा खेल्दै खेर फाले । उनी त दंगलमा लाप्पा खेल्न आह्वान गरिरहेका यस्ता खलिफाजस्ता देखिए, जो लाप्पा खेल्न कोही नआए दर्शकदीर्घातिरै झम्टिन पछि पर्दैन ।

मुलुकको जनसंख्याको एक प्रतिशत हाराहारीलाई कोभिड लागेको छ । अर्थात् तीन लाखलाई । यसमध्ये अधिकांश आफैँ ठीक भइरहेका छन् । हामी घमण्ड गर्छौं, हामीसँग मेडिकल कलेज यति छन्, उति छन् भनेर । हामी घमण्ड गर्छौंडाक्टर र नर्सहरू उत्पादन गरेर हामी निर्यात गर्छौं भनेर । तर, जब मुलुकमा स्वास्थ्य संकट आयो, सम्बोधन गर्न पर्याप्त समय पनि थियो, निजी र सरकारी क्षेत्रमा विस्तारित जनशक्तिको कुनै सदुपयोग भएन । सरकारले सेवा दिने कोरोनापीडित थोरै संख्यामा छन् । सरकारले चाहेको भए महामारीलाई यस्तो बिकराल अवस्था सिर्जना गर्नबाट रोक्न सकिन्थ्यो । यही आकारको महामारी भए पनि खेर गएको एक वर्षमा स्वास्थ्य क्षेत्रलाई सुधार गरेको भए अहिलेजस्तो त्राहिमाम हुँदैन थियो । स्वास्थ्य क्षेत्रमा प्रणाली निर्माण र सुधार गर्न सम्भव थियो । तर, राज्यभन्दा शक्तिशाली कमिसन एजेन्टहरू अगाडि आए । खोप मात्र कमिसनको कारणले रोकिएको कहाँ हो र ? पूरा स्वास्थ्य मन्त्रालय नै ठप्पजस्तो भएको छ बिचौलियाका कारण ।

प्रधानमन्त्री जुन समय प्रतिपक्षीलाई  ‘सत्तामा आऊ’ भन्दै थिए, ठीक त्यही समय ‘आर्यघाट विस्तार’को काम भइरहेको थियो ।

कैयनपटक प्रधानमन्त्री र उनका आसेपासेलाई कहिले सार्वजनिक रूपमा त कहिले व्यक्तिगत तवरले भनियो, ‘प्रणाली सुधार गर्नुहोस्’ भनेर । प्रणालीलाई काम गर्न दिनुहोस् भनेर । तर, प्रणाली सुधार्ने र बनाउने प्रधानमन्त्रीको प्राथमिकतामा कहिल्यै परेन । धरहरा, रानीपोखरी र भ्युटावर आदि–इत्यादि एउटा गतिमा निर्माण भइरहेकै थिए, उद्घाटन गरेर निर्माणको जस लिँदै त्यसलाई भोटमा परिणत गर्ने औजार बनाउने नियतलाई उच्च प्राथमिकतामा पार्न जरुरी थिएन । धार्मिक आन्दोलन पछि गर्दा पनि हुन्थ्यो, तर सुने पो । प्रधानमन्त्री एउटा क्लिकले जग्गाको कित्ता नम्बर भेटिन्छ भन्छन्, हचुवाको भरमा । एउटा क्लिकबाट समस्त स्वास्थ्य प्रणाली भेटिने गरी चुस्त–दुरुस्त बनाऊँ भनेको भए आज अनाहकमा यति धेरै नेपालीको ज्यान जाने थिएन ।

प्रधानमन्त्रीका एकजना निकटस्थले सोधे ‘के हो प्रणाली सुधार भनेको ?’ संविधान बन्यो त भने । के अहिले सम्पूर्ण राजनीतिक प्राणी र नोकरशाही आमनागरिकले प्राप्त प्रणालीभित्र छन् ? छैनन् । प्रणाली चलाउने नै प्रणालीबाहिर छन् । ती शासक र प्रशासक हुन् । अहिलेको नेपालमा प्रणालीबाहिर समानान्तर प्रणाली छ बिचौलियाको, जो शासक–प्रशासकभन्दा पनि माथि छन् । तिनै बिचौलिया प्रधानमन्त्रीको जयजयकार गर्छन् । शुभजन्मोत्सव मनाउँछन् सुदूरपूर्वको पहाड पुगेर अनि बालुवाटार छिरेर । प्रणालीबाट चल्ने देशमा बिचौलिया थर्किन्छन्, प्रणालीबाटै । विरोधाभासपूर्ण स्थिति रहुन्जेल ठोकुवाका साथ भन्न सकिन्छ, सामाजिक पूर्वाधारका दुई क्षेत्र शिक्षा र स्वास्थ्यको सुधार सम्भव छैन । निजी क्षेत्रको स्वास्थ्य र शिक्षा बन्देज गर्नैपर्दैन, सरकारी प्रणाली चुस्त र नागरिकको विश्वासयुक्त भए बिस्तारै निजी पनि उत्पातको नाफामुखी हुँदैन ।

प्रणाली संकटमै सुध्रिने हो, चाँडै । मुलुकमा अहिले भइरहेको प्रणाली काम लाग्दैन भनी तर्क गर्ने पनि छन् । प्रणाली काम नलाग्ने भएको होइन, प्रणाली चलाउनेको इमान काम नलाग्ने भएको हो । अन्यत्र पनि यही प्रणाली त हो । यिनै संस्था त हुन् । त्यहाँ प्रभावकारी हुने हामीकहाँ नहुने किन ? किनकि यहाँ प्रणालीबाहिरकाले नयाँ प्रणाली बनाउँछन् । जस्तो– प्रधानमन्त्री ओलीले जवाफदेही नहुने झुण्डबाट प्रणालीमाथि लकडाउन गरे । ती को हुन्, भनिरहनुपर्छ र ? सबैलाई थाहा छ । प्रधानमन्त्री यसकारण आजको परिस्थितिका लागि प्रमुख दोषी हुन्, किनकि सम्पूर्ण कार्यकारिणी अधिकार उनीसँगै छ ।

सञ्चारकर्मी सोध्छन्– सरकार कांग्रेस नेतृत्वमा बन्ला भनेर । के हुन्छ ओली गएर देउवा आए ? देउवाले प्रणाली सुधार गर्छन् ? सम्भवै छैन । फरक के मात्र हो भने देउवाले आत्मप्रशंसा गर्न जान्दैनन् । संसदीय प्रणालीकै लागि लडेका योद्धा हुन्, आलोचनाबाट हच्किन्छन् । राममनोहर लोहिया मृत्युशड्ढयामा पनि देशप्रति चिन्तित थिए । मृत्युलाई जितेर शासनमा चुनौतीरहित बनेका प्रधानमन्त्री ओलीमा लोहियाको केही आत्मा प्रवेश गथ्र्यो भने आज ओली ‘भिक्षाम देही’ भन्दै देउवानिवास जानु पर्दैनथ्यो । ओली शासन सम्झिनुपर्दा अहंकारयुक्त आत्मप्रशंसामा लिप्त एउटा बहुमतको निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री आयो र अहिले जाने तरखरमा छ भनी टिप्पणी गर्नु पर्दैनथ्यो । नयाँपत्रिका दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार
२०८३ असार २, मंगलबार
भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा
२०८३ असार २, मंगलबार
सङ्घसङ्गठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन काठमाण्डौं प्रशासनको निर्देशन
२०८३ असार २, मंगलबार
रास्वपाको महाधिवेशन भरतपुरमा, उद्घाटनमा ५० हजार सहभागी हुने अनुमान
२०८३ असार २, मंगलबार
परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय
२०८३ असार २, मंगलबार
रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न
२०८३ असार २, मंगलबार
सडक पूर्वाधार र यातायात क्षेत्रलाई बजेटमा प्राथमिकताः मुख्यमन्त्री पाण्डे
२०८३ असार २, मंगलबार