असार २५, २०८२ बुधबार July 9, 2025

एमालेको नेपाल-खनाल समूह जसपाको निर्णय पर्खंदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्ता समीकरणमा निर्णायक मानिएको एमालेको खनाल–नेपाल समूहमा सबैको ध्यान सोझिएका बेला उसले भने जसपाको निर्णय पर्खिने भएको छ । गठबन्धन सरकारका विषयमा जसपाले बिहीबार बैठक डाकेको छ ।

उक्त बैठकले गर्ने निर्णयका आधारमा सांसद पदबाट राजीनामा दिएर गठबन्धन सरकार निर्माणको गाँठो फुकाउने या अरू कुनै विकल्प सोच्ने भन्ने खनाल–नेपाल समूहका नेताले जनाएका छन् प्रतिनिधिसभा सदस्य रहेका स्थायी कमिटी सदस्यहरूको बुधबार भर्चुअल छलफल भएको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग एकताको ढोका बन्द नगर्ने निष्कर्ष निकाल्दै गएको सोमबार खनाल–नेपाल समूहका सांसदले पदबाट राजीनामा दिएका थिएनन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा प्रतिनिधिसभामा अनुपस्थित सांसदले ओलीले थप संवादको पहल गर्छन् कि भन्ने आस गरेका थिए । तर एकातिर गठबन्धन सरकार बनाउने समय घर्किंदै जाने र अर्कातिर प्रधानमन्त्री ओलीले वास्तै नगर्ने भएपछि यो समूहमा राजीनामाका लागि दबाब बढेको छ ।

बुधबार दिउँसो जनवर्गीय संगठनहरूले ‘हामी अघि बढिसक्यौं, नेताहरू पछि नहट’ भनेर सामूहिक विज्ञप्ति निकाल्ने तयारी गरेका थिए । तर त्यो रोकेर बैठक बसेका नेताहरूले जसपाको परिपक्व निर्णय आएपछि मात्रै निर्णय गर्ने निष्कर्ष निकालेका हुन् । ‘जसपामा पनि अलमल छ, उसको अलमल कायमै रहे हामीले राजीनामा दिएर मात्रै गठबन्धन सरकारका लागि सघाउ पुग्दैन,’ खनाल–नेपाल समूहका एक पदाधिकारीले भने, ‘अहिले सबैको नजर हाम्रो समूहतिर छ, तर हाम्रो नजर जसपातिर छ । उसले बिहीबार दिनभरिमा गर्ने निर्णय नै हाम्रो निर्णयको आधार हो ।’

सांसदहरूले भने ओली सरकारलाई जसरी पनि बर्खास्त गर्नुपर्ने भन्दै सामूहिक राजीनामाको माइन्युटमा हस्ताक्षर गरेर नेता नेपाललाई बुझाइसकेका छन् । आवश्यक पर्नेबित्तिकै सोही निर्णयबमोजिम राजीनामा बुझाइहाल्ने तयारी छ । ‘२७ गते नै राजीनामा दिऔं भनेका थियौं तर केही साथीले राजीनामा दिए सिधै पार्टी विभाजनको उद्घोष हुने भएकाले केही समय पर्खिऔं भनेपछि हेरौं भनिएको हो,’ एक स्थायी कमिटी सदस्यले भने, ‘तर उताबाट केही पहल भएन, अब राजीनामा दिनु नै एक मात्रै विकल्प हो भन्ने निष्कर्षमा पुगेका छौं ।’

उपाध्यक्ष भीम रावलले पनि राजीनामा गर्नुपर्ने बेला आइसकेको बताएका छन् । ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपीलाई पदमुक्त गर्नु आवश्यक छ,’ रावलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानुनी दृष्टिले धेरै उचित छ ।’ रावलको यो ट्वीटपछि स्थायी कमिटी सदस्यहरू फेरि छलफलमा जुटेका थिए । त्यसपछि उनीहरूले बिहीबार जसपाले गर्ने निर्णयपछि टुंगोमा पुग्नुपर्ने निष्कर्ष निकालेका हुन् । कान्तिपुर दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया