काठमाण्डौंः जसपाका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव आफ्नो निर्णयबाट पछि हटेका छन्। विपक्षी गठबन्धनमा लागेको यो समूह मध्यमार्गी धारमा देखिएको छ। डा भट्टराई महन्थ ठाकुर र राजेन्द्र महतोसहितलाई बोलाएर पदाधिकारी बैठक बसेको छ। बैठकमा बिहीबारसम्ममा एकीकृत विचार बनाउने प्रयत्न गर्ने निर्णय भएको डा भट्टराईले बताए। बैठकपछि भट्टराईले पदाधिकारी बैठकमा विभिन्न विचार आएको बताए। भने, ‘एकीकृत विचार बनाउने प्रयन्न लागेका छौं, निश्कर्ष भने निकालेका छैनौं।’ उनले पार्टीको सम्पूर्ण पक्षले एउटै धारणा बनाउने गरी अगाडि बढेको बताए।
विश्वासको मतपछि विपक्षी कांग्रेस सभापति देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र आफ्ना नेता उपेन्द्र यादवको संयुक्त विज्ञप्ति सरकार बनाउन नभई राष्ट्रपतिको ध्यानाकर्षण गराउन रहेको उनको तर्क छ। ‘प्रधानमन्त्रीले संसद विघटन गरेर असंवैधानिक काम गर्नुभएको थियो। विश्वासको मतपछि पनि त्यस्तै हुन्छ कि भनेर ध्यानाकर्षण मात्रै गराइएको हो। सरकार बनाउन भनेर कुनै सहमति भएको छैन’, उनले भने, ‘राष्ट्रपतिबाट संविधानअनुसार सरकार बनाउन आह्वान भयो, अहिले संविधानभित्रै छौं, यसैभित्र सहमतिमा जान्छौं।’ उनले एक वर्षभित्र निर्वाचन गराउनुपर्ने प्रस्ताव गरेका छन्। उनले ट्वीट गर्दै उनले देशको संकट समाधान गर्न एक वर्षमा निर्वाचन गराउनुपर्ने प्रस्ताव अघि सारेका हुन्।
उनले पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने जनाएका छन्। सबै दलको सहभागितामा राष्ट्रिय सरकार गठन गर्नुपर्ने उनको भनाइ छ। दलका प्रमुख र पूर्वप्रधानमन्त्री रहेको निर्देशन समिति गठन गर्नुपर्ने, कोरोना नियन्त्रण, द्वन्द्वकालीन मुद्दा, संविधान संशोधन, आर्थिक राहतलगायत लागू गर्नुपर्ने र एक वर्षभित्र चुनाव गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन्।
जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतोले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। उनीहरूले जसपाको प्रथम अध्यक्ष ठाकुर भएको र निर्वाचन आयोगमा पनि प्रथम अध्यक्षकै हस्ताक्षर चल्ने भन्दै अरू कोही आए वैधता नदिन राष्ट्रपतिसमक्ष आग्रह गरेका छन्। अन्नपूर्ण पोस्ट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया