असार २, २०८३ मंगलबार June 16, 2026

नेपाली जनताको आर्तनाद र सत्ताको लडाइँ – रमेश घिमिरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विश्वको सबैभन्दा बढी संक्रमित र मृत्यु दर बढी भएको देशका रूपमा नेपाल दरिएको छ। नेपाली जनता प्राणवायु र अस्पतालमा शैया नपाएर मृत्यु वरण गर्न बाध्य भएका छन्। यस्तोमा नेपालमा सत्ता लुछाचुँडीको घीनलाग्दो प्रहसन जारी छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस एडहानोम गेहब्रेयससले समेत पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई संकटकालीन सहयोगका लागि विश्वसामु आह्वान गरिसकेका छन्। यसले नेपालको स्थिति अत्यन्त जोखिमपूर्ण रहेको जनाउँछ।

नेपाली जनताले सामान्य अवस्थामा त सर्वसुलभ स्वास्थ्य सेवा नपाइरहेको हाम्रो जस्तो मुलुकमा अहिलेको यस महामारीमा आफूलाई भगवान भरोसामा छाड्न बाध्य भएका छन्। समयमै चिकित्सा सुविधा पुग्दा बाँच्न सक्ने नेपाली मृत्य वरण गरिरहेका छन्। आफ्नो जीवनलाई जोखिममा पारेर मुलुकको सार्वजनिक स्वास्थ्य प्रणाली सुदृढ बनाउन अनेकौँ पटक अनशन बसेका डा.गोविन्द केसीलाई त्यतिखेर ‘सन्काहा’ समेतको उपमा दिइयो। अहिले स्पष्ट भएको छ– डा.केसीले भनेअनुसार सार्वजनिक स्वास्थ्य प्रणाली सुदृढ गरिएको भए यति धेरै मात्रामा नेपाली जनताले ज्यान गुमाउनुपर्ने थिएन।

सार्वजनिक स्वास्थ्य प्रणाली सुदृढ भएको राष्ट्र अस्ट्रेलियाले कोरोनामाथि हालसम्म विजय नै प्राप्त गरेको छ। नेपाली जनताको सर्वोच्च संस्था प्रतिनिधिसभामा विश्वासको मत पाउन असफल प्रधामन्त्री केपी ओली संविधानको छिद्र खोजेर पुनः सत्तारूढ भएका छन्। यसैलाई भन्छन्– अजब नेपाल, गजब नेपाल। संसद्ले अविश्वास गरेको व्यक्ति पुनः प्रधानमन्त्री हुनु ! यहाँ नैतिकताको कुनै मुल्य छैन। यहाँ सत्ताका लागि जे पनि गरिन्छ।

नेपाललाई आपत्कालीन वैदैशिक सहायता चाहिएको यस्तो विषम परिस्थितिमा मुलुकको परराष्ट्र–नीति रनभुल्लमा परेको छ। दक्षिणी छिमेकी भारतसँग हरेक कुरामा भर परेको नेपाल किंकर्तव्यविमुढ भएको छ। किनभने सोह्र वर्ष अगावै प्रधानमन्त्री मनमोहन सिंहको सरकारले कुनै पनि वैदेशिक सहायता नलिने घोषणा गरेको भारत, कोरोना महामारीले थला परेर विश्वसामु सहयोगको याचना गर्न बाध्य भएको छ। भारतको सहयोगको याचनापश्चात्त उसका मित्रराष्ट्रहरूले भारतलाई सहयोगको ओइरो लगाइरहेका छन्। तर विडम्बना, मे ८ मा कोरोना महामारीको स्थिति नियन्त्रणमा छ भनी सिएनएनमा दिएको अन्तर्वार्ताको दुई दिनपछि नै प्रधानमन्त्री केपी ओलीले भारतको सिको गर्दै बेलायतको प्रतिष्ठित पत्रिका ‘द गार्डियन’ को १० मे को अनलाइन संस्करणमा एक लेख लेख्दै नेपाली जनतालाई कोरोना महामारीबाट जोगाउन अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको याचना गरे। तापनि हालसम्म नेपालले खासै सहयोग प्राप्त गर्न सकेको छैन।

प्रधानमन्त्री ओली सैकडौँ वर्षअघिदेखि रहिआएको नेपाल–बेलायत सम्बन्धको दुहाइ दिँदै अगाडि लेख्छन्– बेलायत विश्वका विकसित राष्ट्रहरूको समूह जि–७ को हाल अध्यक्ष भएको हुनाले नेपाललाई सहयोग गर्नका लागि विशेष पहलकदमी लिइदिनुहुन अनुरोध गर्छु। जि–७ मा संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानडा सदस्य छन्। तत्काल भारतबाट खोपलगायत अन्य स्वास्थ्य सामग्री आउने सम्भावना देखिँदैन। खोपका लागि नेपाल सरकारले भारतबाहेक अन्य मित्रराष्ट्रसँग ठोस पहल गर्दै गरेन। परिणाम– कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका लगभग १५ लाख ज्येष्ठ नागरिकको खोपको दोस्रो मात्रा अनिश्चित बनेको छ।

संसद्ले अविश्वास गरेको व्यक्ति पुनः प्रधानमन्त्री हुनु ! यहाँ नैतिकताको कुनै मुल्य छैन। यहाँ सत्ताका लागि जे पनि गरिन्छ।

यस्तो छ सरकारी बेथितिको नमुना। जबकि विश्वमा कोरोनाको पहिलो खोप उत्पादक मित्रराष्ट्र रूसले नेपाललाई प्रारम्भमै दिने प्रस्ताव गरेको थियो तर त्यसलाई सुनिएन। त्यस्तै उत्तरी छिमेकी चीनले विकास गरेको चिनिया कोरोना खोप–सिनोभ्याक विश्वका धेरै मुलुकले चलाउन थालिसक्दा पनि नेपालले आफ्नो मुलुकमा त्यसलाई भित्राउन पहल गरेन। बल्ल टाउकोमाथि पानी बग्न थालेपछि चिनियाँ खोप नेपाल भित्राउन थालिएको छ। अझै पनि सो खोप किन्नेबारे सरकार निर्णयमा पुगेको छैन।

नेपाली जनताले तिरेको ठूलो राजस्व खर्च गरी नेपाल सरकारले विश्वका विभिन्न मुलुकमा राजदूत राखेको छ। मुलुक यस्तो संकटमा परेका बेला ती राजदूतावासले आफ्नो औचित्य प्रदर्शन गर्न सकेका छैनन्। हालै कार्यकाल सुरुमात्र गरेका अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई आन्तरिक राजनीतिको कचिङ्गलले फिर्ता बोलाइएको छ। यस्तो कार्यले देशबाहिर नेपालको छविमा असर गर्छ। फेरि प्रधानमन्त्री ओलीले एघार देशमा आफ्ना अरौटेभरौटेलाई राजदूतमा नियुक्त गरेका छन्। राजदूतले सम्बन्धित मुलुकमा नेपालको प्रतिनिधित्व गर्ने हुनाले यस्ता नियुक्ति राजनीति भन्दा माथि उठेर देशहितका लागि गरिनुपर्छ। राजदूत पद राजनीतिक कार्यकर्ता भर्ना गर्ने थलो बनाइनुहुँदैन।

अहिलेको कोरोना महामारीबाट केही मात्रामा भए पनि त्राण पाउन निम्न उपाय गरिनुपर्छ– १. संक्रमितहरूको पहिचान गरी एकान्तबासमा राखी उचित उपचारको व्यवस्था। २. पिसिआर परीक्षण निःशुल्क गरिनुपर्छ। जसले गर्दा समाजमा संक्रमितको एकिन तथ्यांक आओस्। यसले सरकारलाई भावी कदम निर्धारण गर्न सघाउँछ। ३. चीनले यसको नियन्त्रणमा जसरी सफलता प्राप्त गर्‍यो, त्यसबाट पाठ सिकी चीनसँग खोपलगायत ठूलो सहयोग प्राप्त गर्न ओलीले चीनका राष्ट्रपतिसँगै वार्ता गर्नुपर्छ।

स्मरणीय छ, कोरोनाको पहिलो लहरमा इटाली नराम्रोसँग थला परेका बेला चीनले स्वास्थ्य विशेषज्ञसहित ठूलो मात्रामा उसलाई सहयोग गरेको थियो। अहिले उसले दैनिक लगभग डेढ करोड जनतालाई खोप लगाइरहेको छ। हामीले चाहेको सहयोग यस्तै हो। ४. खोप प्राप्त गर्न राज्यले सम्पूर्ण शक्ति लगाउने। कोरोना रोक्न यो एकमात्र उपाय हो। अहिलेको अवस्थामा चीनबाट मात्र खोप पाउन सम्भव छ किनभने उसले आफ्नो उत्पादनको आधा खोप निर्यात गर्दै आएको छ। रुसी खोप जतिसक्दो चाँडो नेपाल भित्राउन पहल गर्ने।

यी सबै काम गर्न मुलुकमा बलियो सरकार आवश्यक हुन्छ। तर हाल प्रधानमन्त्री ओलीको हठले लगभग दुईतिहाइ बहुमत भएको कम्युनिस्ट सरकार अन्तरपार्टी विग्रहले गर्दा ढलेको छ। यस्तोमा आफ्नै कुर्सी बचाउने जोरजाममा रहेका मुलुकको कार्यकारी प्रमुखबाट नेपाली जनताले कोरोनाबाट कसरी त्राण पाउने ? प्रश्न गम्भीर छ। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार
२०८३ असार २, मंगलबार
भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा
२०८३ असार २, मंगलबार
सङ्घसङ्गठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन काठमाण्डौं प्रशासनको निर्देशन
२०८३ असार २, मंगलबार
रास्वपाको महाधिवेशन भरतपुरमा, उद्घाटनमा ५० हजार सहभागी हुने अनुमान
२०८३ असार २, मंगलबार
परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय
२०८३ असार २, मंगलबार
रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न
२०८३ असार २, मंगलबार
सडक पूर्वाधार र यातायात क्षेत्रलाई बजेटमा प्राथमिकताः मुख्यमन्त्री पाण्डे
२०८३ असार २, मंगलबार