मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

सीसीएमसीको प्रमुखमा बालानन्द शर्मा नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः  सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा बालानन्द शर्मालाई नियुक्त गरेको छ । नेपाली सेनाका पूर्वरथी रहेका शर्मालाई सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सरकारले अध्यादेशमार्फत् सीसीएमसीको पुनर्गठन गर्दै शर्मालाई मुख्य जिम्मेवारी दिएको जानकारी दिनुभयो ।

मुलुकमा कोरोना भाइरस महामारी चरम विन्दूमा रहेका बेला सरकारले कोभिड– १९ को नियन्त्रण तथा रोकथामका लागि हालै अध्यादेश ल्याएको थियो । पुनर्गठित सीसीएमसीमा प्रधानमन्त्रीको अध्यक्षतामा एक निर्देशक समिति रहने व्यवस्था छ । उक्त निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पूर्वरथी शर्मालाई नियुक्त गरिएको हो ।

शर्माको विगतको अनुभव

पूर्वरथी शर्मासँग विगतमा द्वन्द्व व्यवस्थापनका क्रममा नेपाली सेना र माओवादी लडाकुको समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर काम गरेको अनुभव छ । यसका साथै संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपालको तर्फबाट फोर्स कमान्डरको रुपमा समेत रहेर सफलतापूर्वक भूमिका निर्वाह गरिसकेको अनुभव उहाँसँग छ । उहाँकै नेतृत्वमा यसअघि सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माण कार्य समेत अघि बढाएको थियो ।

उहाँको नेतृत्वमा कोरोना संक्रमण नियन्त्रणको योजना बनाउने र कार्यान्वयन गर्ने जिम्मेवारी परेपछि अब केही प्रभावकारी काम हुन्छ कि भन्ने अपेक्षा गरिएकाे छ ।

विशेष खालका मुद्दामा डिल गर्न विशेष एजेन्सी प्रभावकारी भएको अनुभवको आधारमा सीसीएमसी पुनर्गठन गरी अलग्गै प्रमुख कार्यकारीकाे व्यवस्था गरिएको सल्लाहकार भट्टराईले बताउनुभएकाे छ ।

निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य रहने व्यवस्था छ । प्रधानमन्त्री मातहत रहने निर्देशक समितिअन्तर्गत काम गर्ने गरी ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र’ रहनेछ, जसकाे प्रमुखमा बाह्रौं तहका स्वास्थ्य सेवाका अधिकृत रहने व्यवस्था गरिएकाे छ ।

कोभिड विरुद्धकाे प्रतिकार्यमा नेपाली सेनाका उपरथी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सदस्य रहने व्यवस्था छ । स्वास्थ्य आपतकाल घोषणा गरेर सेना परिचालन गर्नसक्ने सम्मको अधिकार समेत उक्त समितिलाइ दिइएको छ ।

खुम्चियो पोखरेलको भूमिका

यसअघि सीसीएमसीको नेतृत्व उपप्रधामन्त्री ईश्वर पोखरेलले गर्दै आउनुभएको थियो । केही दिनअघि मात्र पोखरेलको काम प्रभावकारी नभएको ठहरसहित जिम्मेवारीमुक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै हातमा सीसीएमसीको सबै नेतृत्व लिनुभएको थियो ।

विवादित छविका ईश्वर पोखरेल विगतमा रक्षामन्त्री समेत हुनुहुन्थ्यो, तर पछिल्लाे समय उहाँबाट उक्त मन्त्रालय खोसेर प्रधानमन्त्रीले आफैसँग राख्नुभएको छ । अब सीसीएमसीको नेतृत्व पनि खोसिएपछि पोखरेलको काम विनाविभागीय उपप्रधानमन्त्री भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी सम्हाल्नेमा सीमित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया