असार २४, २०८२ मंगलबार July 8, 2025

साफ च्याम्पियनसिपः ५० सदस्यीय प्रारम्भिक टोली घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपका लागि ५० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् ।

प्रशिक्षक अलमुताइरीले विश्वकप तथा एसियन कप छनोटको दोस्रो चरणमा बोलाइएका ३२ खेलाडीमा केही खेलाडी थप्दै टोली घोषणा गरेका हुन् । टोलीले अर्को बिहीबारदेखि प्रशिक्षण सुरु गर्नेछ । प्रशिक्षण खेलाडीलाई दुई समूहमा विभाजन गरेर दुई सेसनमा हुनेछ ।

एउटा सेसन बिहान १० बजे र अर्को सेसन अपराह्न ४ बजेपछि शुरु हुने एन्फाले जनाएको छ । साफ च्याम्पियनसिप १४ देखि २५ सेप्टेम्बरसम्म बङ्गलादेशमा हुने कार्यक्रम रहेको छ ।

यस पटक टोलीमा ६ गोलरक्षक रहेका छन् । गोलरक्षक विकेश कुथु र विशाल श्रेष्ठ टोलीमा पुनरागमन गर्दा अर्पण कार्की पनि प्रारम्भिक टोलीमा समेटिएका छन् । विश्वकप छनोटका लागि टोलीमा रहेका किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की नियमित छन् ।

प्रशिक्षक अलमुताइरीले नेपाल सुपर लिगको प्रदर्शनलाई नै आधार मान्दै खेलाडी थप गरेका हुन् । युवा डिफेन्डर रन्दीप पौडेल र निरज बस्नेतसँगै मिडफिल्डर डोना थापा, गौरव बुढाथोकी, राजन गुरुङ, प्रेजेन तामाङ, राजीव लोप्चन र सुदिल राई पहिलो पटक सिनियर टोलीको क्याम्पमा परेका छन् ।

विंगर प्रकाश बुढाथोकीले झन्डै ४ वर्षपछि सिनियर टोलीमा पुनरागमन गर्ने अवसर पाएका छन् । डिफेन्डर विकास खवास विश्वकप छनोटका दौरान चोट बोकेपछि शल्यक्रिया गर्नुपर्ने भएको छ ।

एनएसएलमा चोटका कारण पछिल्लो पटक टोलीमा नपरेका त्रिदेव गुरुङ, तेज तामाङ, जर्ज प्रिन्स कार्की लगायत खेलाडी पनि टोलीमा छन् । यस्तै सुजल श्रेष्ठले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन् ।

कतारमा उपचार गरेर फर्केपछि प्रशिक्षक अलमुताइरीसँग नै केही समय बिताएका मिडफिल्डर विक्रम लामाको नाम भने प्रारम्भिक सुचीमा छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया