काठमाण्डौः मुगुको छायाँनाथ रारा नगरपालिकाले शिक्षकलाई दैनिक खाजा भत्ता दिने भएको छ ।
नवौं नगरसभाले पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकलाई दैनिक खाजा भत्ता दिने उल्लेख छ ।
नगरपालिकाका प्रमुख हरिजङग शाहीले शैक्षिक गुणस्तर बढाउनका लागि नगरमा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकलाई दैनिक खाजाको भत्ताको व्यवस्था गर्न लागिएको बताउनुभयो । कार्यविधि निर्माण गरेर आर्थिक वर्ष २०७८÷०७९ देखि दैनिक रु एक सयका दरले शिक्षकलाई खाजा भत्ता दिइने तयारी नगरपालिकाको छ ।
“वर्षको १८० दिनका हिसावले प्रतिदिन रु एक सयका दरले शिक्षकलाई खाजा भत्ता उपलब्ध गराइनेछ”, नगरप्रमुख शाहीले भन्नुभयो, “नगरपालिकाभित्र ४४ सामुदायिक विद्यालयमा करिब ३०० शिक्षक कर्मचारी कार्यरत छन ।” नगरपालिकालाई सबल, सक्षम र समृद्ध बनाउने हो भने परिवर्तनका संवाहक शिक्षकको आत्मसम्मानका लागि दैनिक खाजा भत्ता कार्यक्रम ल्याइएको उहाँको भनाइ छ ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया