असार ५, २०८३ शुक्रबार June 19, 2026

कात्तिक-मंसिरमा निर्वाचन हुने स्थिति बन्यो भने महाधिवेशन प्रभावित हुन्छ ।- कृष्ण सिटौला (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काँग्रेसको १४ औं महाधिवेशन हुनेमा अझै पनि प्रश्न उब्जिएको देखिन्छ । वर्तमान परिस्थितिमा महाधिवेशन हुने अवस्था छ कि छैन ?

कोभिड–१९ संक्रमणको महामारी रोकिएको छैन । त्यसका कारणले मानिसमा त्रास छ । तर, भदौ महिनाभित्र केन्द्रीय पदाधिकारीको निर्वाचन सम्पन्न गर्ने हामीलाई संवैधानिक बाध्यता छ ।

पार्टी विधानले दिएको व्यवस्था र संविधानले गरेका व्यवस्था अन्तर्गत केन्द्रीय पदाधिकारी र सातैवटा प्रदेश कार्यसमितिका पदाधिकारीको निर्वाचन हुनैपर्छ ।

सर्वोच्चको फैसलापछिको राजनीति परिणामले मंसिरमा आम चुनाव हुने परिस्थिति बन्यो भने महाधिवेशन गर्न कठिन हुन्छ ।

यसलाई सम्बोधन गर्नका लागि संवैधानिक न्यायिक बाटो खोज्नुपर्यो । त्यसतर्फको प्रस्ताव आयो भने त्यसका विकल्पहरु के–के हुन्छन् भनेर छलफल होला । तपाईंले अन्तर्वार्ता लिँदै गर्दा महाधिवेशनको तयारीमा देशभर साथीहरु लाग्नुभएको छ ।

क्रियाशील सदस्य छानविन समितिले यही असार मसान्तभित्र आफ्नो कार्यभार पूरा गर्छ । निर्वाचन समितिले प्रतिनिधिहरु जिल्लामा खटाउँछ । साउन १२ गते सुरु गर्ने भनेको वडा अधिवेशन केही दिन पर सर्न सक्छ । त्यो म देख्छु । त्यो ठूलो कुरा भएन नि ! वैकल्पिक बाटोको चर्चा गरेपनि अबसम्म साथीहरुले छलफलका लागि प्रस्ताव ल्याउनुहुन्न त्यसतर्फ सोच्नु उपयुक्त हुन्न भन्ने लाग्छ मलाई ।

क्रियाशील सदस्यता विवाद कसरी टुंग्याउने भन्नेबारे छानविन समितिले मापदण्ड बनाउन नसक्दा तपाईंले सहजीकरण गर्नुभएको थियो । अझै पनि क्रियाशील सदस्यताका सन्दर्भमा विवाद कायमै छ । यो किन भइरहेको छ ?

क्रियाशील सदस्य छानविन समितिले छानविनका लागि मापदण्ड बनाउन सकेको अवस्था थिएन । यसबारे केन्द्रका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा छलफल हुँदा छानविन समितिले मसँग सहयोग माग्यो । मैले सहयोग गरेँ । मापदण्ड बन्यो । अब छानविन समितिले विवादका विषयलाई सहमतिमै टुंग्याउने छ । सहमति भएन भने मापदण्ड बमोजिम निर्णय हुन्छ । अब कुनै गाह्रो छैन ।

त्यसो भए अझै पनि क्रियाशील सदस्यतामा चलखेल गरेर संस्थापन पक्षले पार्टी कब्जा गर्न लागेको भन्दै संस्थापन इत्तर पक्षले विरोध किन गरिरहेको छ त ?

क्रियाशील सदस्य छानविन समितिले गर्ने निर्णयमा अब ठूलो समस्या छैन । निर्णय दिन सक्छ । समस्या समायोजन समितिबाट उठ्न थालेको भनेर चर्चामा आएको छ ।

समायोजन समितिको निर्णयबाट विवाद धेरै बल्झिएको भन्ने खालाको कुरा शुक्रबार रामचन्द्रजीले मलाई भन्नुभयो । समायोजन समितिले कहाँनिर आफ्नो कार्यभार पुर्याएको छ, के गरेको छ ? त्यो मैले बुझिरहेको छैन । तर क्रियाशील सदस्यता छानविन समितिमा निर्णय गर्नै नसक्ने विवाद हुन्छ भन्ने मलाई लाग्दैन ।​

काँग्रेस बनाउन र आफू बन्न काँग्रेसमा आएकाहरुप्रति संस्थापन इत्तर पक्षले निषेधको नीति लिँदा समायोजनका नाममा विवाद बल्झिएको भन्ने छ । काँग्रेसमा आएकाहरुको अस्तित्व स्वीकार नगर्दा यो समास्या आयो हो ?

–मलाई त्यस्तो लाग्दैन । महाधिवेशनको प्रतिस्पर्धामा प्रवेश गरेपछि एक अर्कालाई घोचपेच त गर्छन् साथीहरुले । त्यो घोचपेच नगरेको जाति । केन्द्रमा प्रवेश गर्ने अन्य पार्टीका नेताहरुले केन्द्रमा पनि सूची बनाउनुभएको छ । त्यसलाई कसरी मापदण्ड बनाएर टुंग्याउने भन्ने कुरामा पनि केन्द्रीय कार्यसमितिले निर्णय गरिसकेको छ । त्यो निर्णयका आधारमा टुंग्याउँदा सिद्धिहाल्यो । त्यसमा कुनै समस्या देख्दिनँ ।

केन्द्रीय कार्यसमितिले निश्चिम कार्यदिशा र मापदण्ड बनाएर समायोजन समितिलाई दिएको छ । त्यसैको आधारमा छलफल हुनुपर्छ मेरो भनाइ हो ।

दोस्रो कुुरा जिल्लामा अन्य पार्टीबाट प्रवेश गरेकाको विषयमा विवाद आउन खोजेको छ । त्यसमा जिल्लाले वडा तहबाट प्रक्रिया पुर्याएर ल्याएको छ भने समायोजन समितिले हेर्छ । प्रक्रिया नै पुरा गरेर आएको छैन भने त समायोजन समितिलाई निर्णय लिन गाह्रो होला । त्यसैले यसमा एकले अर्कालाई घोचपेच गर्न आवश्यकता नै छैन ।

विधान, नियम र केन्द्रीय कार्यसमितिको निर्णयले पनि नपुग्ने भन्ने र त्यसलाई नै उल्लघंन गर्ने कुरा त मान्य हुँदैन नि ! त्यसमा आधारित भएर सहमतिका साथ निर्णय गर्नुपर्छ । महाधिवेशन कार्यविधि र कार्यतालिका बहुमत र अल्पमतले बनाउने होइन । प्रतिस्पर्धा आफ्नो ठाउँमा हुन्छ । तर कार्यविधि र कार्यतालिका समझदारी र सहमतिबाट बनाउने नेपाली काँग्रेसको परम्परा हो । आजसम्म त्यो परम्पराले नै नेपाली काँग्रेस आन्तरिक लोकतन्त्रमा आधारित भएर बाच्यो नि त । यो एकदम सुन्दर पक्ष छ ।

हामी कार्य विधि र कार्यतालिका समझदारीबाट मनाउँछौं । निर्वाचन समिति समझदारीबाट बनाउँछौं । छानविन समिति सझदारीबाट बनाउँछौं । समझदारी र सहमतिबाट निर्णय गर्छौं । अनि प्रतिस्पर्धामा उत्रिन्छौं र आएको परिणामलाई  सहज ढंगले स्वीकार गर्छौं । यो नेपाली काँग्रेस पार्टीको सुन्दर पक्ष हो । लोकतान्त्रिक ढंगले संगठन निर्माण गर्न सुन्दर पक्ष पनि यही हो नि ! यसलाई मर्न दिनुहुँदैन । स्वच्छ प्रतिस्पर्धा र परिणामपछि पार्टीभित्र सम्पूर्ण एकतालाई केन्द्रमा राखेर जानुपर्छ ।

क्रियाशील सदस्यताका विवादले महाधिवेशन प्रभावित हुँदैन भन्नेमा तपाईं ढुक्क देखिनुभयो । राष्ट्रिय राजनीतिले महाधिवेशनलाई प्रभावित पार्ने सम्भावना कति देख्नुभएको छ ?

अदालतको फैसलापछि जे सरकार र संसदमा राजनीतिक परिणाम होला, त्यो परिणामले कात्तिक–मंसिरमा निर्वाचन हुने स्थिति बन्यो भने महाधिवेशन प्रभावित हुन्छ । हामीलाई गाह्रो हुन्छ । भदौमा महाधिवेशन सम्पन्न गर्न लाग्ने कि कात्तिक मंसिरको चुनावको तयारीमा लाग्ने भन्ने प्रश्न खडा हुन्छ । त्यसबेला हामी छलफल गर्छौं ।

सर्वोच्चको कस्तो फैसला आउँछ, त्यो फैसलाले कस्तो राजनीतिक कार्यदिशा गाइड गर्छ र त्यसबाट के परिणाम आउछ । हेर्न बाँकी छ । अहिले अनुमानका भरमा बोल्नु उपयुक्त हुँदैन नि त !

मानौं सर्वोच्च अदालतबाट संसद विघटन सदर भयो ।  तर, काँग्रेसलाई भदौंमा महाधिवेशन गर्नुपर्ने बाध्यता छ । त्यो परिस्थितिमा त्यो बाध्यताको विकल्प के देख्नुभएको छ ? तपाईं त कानुनको पनि ज्ञाता हो…

यो दुनियाँमा निर्विकल्प त केही छैन । विकल्प हुन्छ ।

तर, काँग्रेसका केही नेता र कानुनविद्ले त महाधिवेशनको विकल्प छैन भन्नुहुन्छ नि ?

अहिलेको परिस्थितिमा विकल्प छैन । परिस्थिति परिवर्तन हुन्छ भने विकल्प पनि परिवर्तन हुन्छ नि त ! त्यति त हामीले बुझ्न सक्नुपर्छ । दुनियाँमा असम्भव केही छैन । सम्भावनाका खेलहरु जहिलेसुकै रहन्छन् । कहिले पनि ढोका बन्द हुँदैन । एउटा ढोका बन्द भए अर्को ढोका खोल्न सकिन्छ नि त ! निर्विकल्प केही हुन्छ म कहिले सोच्दिनँ । त्यसैले हामीले यति ज्यादा आत्तिनुपर्ने अवस्था छैन । विकल्प नै छैन, अब खतम भयो भन्ने हतासातर्फ हामी कसैले पनि जानुहुँदैन ।

काँग्रेसभित्र सहमतिमा नेतृत्व चयनको बहस पनि छ । वर्तमान सभापति शेरबहादुर देउवा पनि यसको गृहकार्यमा रहेको पाइन्छ । त्यो परिस्थिति देख्नुहुन्छ ?

फेरि तपाईंलाई भन्छु । आजको परिस्थितिमा महाधिवेशन गर्ने हाम्रो रहर हो । खाली कोरोनाका कारणले साथीहरुलाई केही हुन्छ कि भन्ने हामीलाई त्रासचाहिँ छ । महाधिवेशन गरौं, प्रतिस्पर्धा गरौं, परिणाम निकालौं र संगठन निर्माणको ऐतिहासिक कार्यभार गर्न हामी लागि परेका छौं ।

महाधिवेशनले पार्टीभित्र नयाँ रक्तसञ्चार हुन्छ, नयाँ उत्साह हुन्छ, नयाँ जोश पलाउँछ, नयाँ विचार निर्माण हुन्छ, नयाँ संगठन आउँछ र नयाँ कार्यदिशा खडा हुन्छ । पार्टीले नयाँ जीवन प्राप्त गर्छ । महाधिवेशन महत्वपूर्ण कुरा हो । यसमाथि भोलिको परिस्थितिले सर्वसम्मति पनि हुनसक्छ ।

परिस्थिति अनुसार भोलि सर्वसम्मति वा प्रतिस्पर्धा जे पनि सम्भव हुन्छ । त्यसैले अहिले मैले बोल्दै गर्दाको परिस्थितिमा महाधिवेशन गर्नुपर्नेछ । प्रतिस्पर्धा हुन्छ । भोलि परिस्थिति परिवर्तन भयो भने परिवर्तित परिस्थितिमा सोचौंला नि । किन मसँग एडभान्स कुरा लिन खोज्नुहुन्छ ?

संस्थापन र इत्तर पक्ष नै सर्वसम्मतिको खोजीमा देखिन्छन् । सभापतिको दाबेदारको नाताले अन्यको दाबीलाई पनि नियाल्नुभएकै होला । यसले सर्वसम्मत हुने सम्भावना देख्नुहुन्छ कि देख्नुहुन्न भन्नेर जोड्न खोजेको ….

 त्यस्तो छलफल नै सुरु भएको छैन । छलफल सुरु भएपछि सोचौंला नि । सर्वसम्मत नेतृत्वको चयनको विचार गलत होइन । तर, दबाबमा हुनुभएन ।

पार्टीमा समस्या खडा हुँदा तपाईं समन्वयकारी भूमिकामा अगाडि आउनुहुन्छ । भोलि महाधिवेशन नहुने परिस्थितिमा तपाईंको भूमिका कस्तो रहन्छ ? केही सोच्नुभएको छ ?

काल्पनिक प्रश्नमा अनुमानित कुरा मैले किन गर्ने ? तर,प परिस्थितिले सोच्नुपर्ने स्थिति आयो भने त्यो सोच्न नसकिने विषय होइन । तर, अहिले त्यसमा कुनै चर्चा छैन ।

शेरबहादुर देउवाविरुद्धको उम्मेदवार चयनका सन्दर्भमा संस्थापन इत्तर पक्षका नेताहरु शुक्रबार भेला हुनुभएको थियो । रामचन्द्र पौडेल समूहको छलफलमा तपाईं पनि सहभागी हुनुभयो । त्यो छलफलको उद्देश्य र सन्देश के थियो ?

अर्जुननरसिंह केसीजीले संयोजन गरेर बैठक बोलाउनुभयो । हामी ९ जना साथीहरु थियौं । गएको १३ औं महाधिवेशनमा रामचन्द्रीको टिमबाट विभिन्न पद तथा सदस्यमा उठ्ने साथीहरु थिए । सभापतिमा सबैको दह्रो दाबी देखिएको छ । पहिला पनि उहाँहरुले यस्तो बैठकमा बोलाउँदा गएको छु । पहिले त्यस्तो दाबी हुँदैन थियो  ।

शुक्रबारको छलफलमा दाबी प्रस्तुत भयो । उहाँको टीमभित्रबाट एउटा उम्मेदवार भन्ने लक्ष्ण मैले त्यहाँ देखिनँ । भोलिको परिस्थिति त कसले आंकलन गर्न सक्छ र ? मैले आफ्नो कुरा पनि भन्दै आएको छु । मेरो आफ्नो छुट्टै दाबी छ । त्यो कुरा छलफलपछि अर्जुननरसिंह केसीले पनि प्रेसलाई भन्नुभएकै छ । छलफल त सबैसँग भइरहन्छ नि !  शेरबहादुरजीसँग मेरो भेटघाट भइरहेको छ । रामचन्द्रजीसँग भइरहेको छ । अरु नेताहरुसँग पनि भइरहेको छ । सबै नेता साथीहरुसँग लचिलो र गतिशील ढंगले कुराकानी गर्ने मेरो स्वभाव नै हो । मेरो कसैकाप्रति आग्रह पूर्वाग्रह छैन ।

देउवा पक्षमा ३ जना र पौडेल समूहमा ९ जनाको सभापतिमा दाबीपछि तपाईंले आफूलाई १४ औं महाधिवेशन सहज हुने आंकलन गर्नुभएको हो ?

होइन, त्यसरी गरेको छैन । धेरै टिम पनि त्यति स्वस्थकर हुँदैन कि जस्तो लाग्छ । त्यसको बाबजुद सभापतिमा उठ्ने हक साथीहरुलाई छ । जहाँसम्म मेरो बारेमा सोध्नुभयो, हाम्रो आफ्नो तयारी निरन्तर जारी छ ।

देउवा र पौडेल समूहबाट उछिट्टिएका नेताहरुलाई एकीकृत गरेर बलियो टिम बनाउँछु, सशक्त बन्छु र सभापति जित्छु भन्ने विश्लेषण त होला नि ?

मेरो कसैप्रति नकारात्मक सोच छैन । सकारात्मक रुपमा म आफूलाई प्रस्तुत गर्दै जान्छु । साथीहरुलाई जोड्दै जान्छु । विगतको महाधिवेशनमा शेरबहादुरको टीमबाट अर्जननरसिंह केसी महामन्त्री उठ्नुभएको थियो । विमलेन्द्रजीलाई उहाँले उपसभापति बनाउनुभएको थियो । उहाँ पनि अहिले सभापतिमा दाबी गरिराख्नुभएको छ । पछि कहासम्म पुग्नुहुन्छ थाहा छैन । तर, मसँग पनि कुरा गरिराख्नु भएको छ । रामचन्द्रजीको टीमबाट अरु साथीहरुले पनि सभापतिमा दाबी गरिराख्नुभएको छ ।

महाधिवेशनको क्षणसम्म पुग्दा कसरी समीकरणको विकास हुन्छ ? अहिले अड्कलबाजी गर्ने कुरा भएन कसैका बारेमा पनि । म कसैलाई पनि कमजोर ठानेर टिप्पणी गर्न चाहन्नँ । सबै साथीहरुमा केही न केही हैसियत छ । सबैमा केही न केही क्षमता छ । सबैको क्षमता समान नहुनु स्वभाविक हो । कसैमा कुन पक्ष बढी छ, कसैमा कुन पक्ष बढी छ । त्यो आ–आफ्नो खालको विशिष्ठता हो । त्यो विशिष्ठ पक्षलाई जोडेर पार्टी बलियो पार्ने हो पहिलो कुरा । मेरो उद्देश्य साथीहरुलाई जोड्ने नै रहन्छ ।

तपाईं अन्य नेताहरुलाई जोड्ने कुरा गरिराख्नुभएको छ । तपाईंकै टिमका नेताहरु बलियो टिमको खोजीमा देखिएको पाइन्छ । यसपटक हार्ने गरी सिटौला भन्दै बस्दैनौं भन्नुहुन्छ । यस्तो अवस्थामा आफ्नो टिमलाई कसरी अगाडि बढाएर लैजानुहुन्छ ?

त्यस्तो त कसैले भन्नुभएको छैन मलाई र अरुलाई पनि । हाम्रो लगातार वार्ता, संवाद र छलफल भइरहेको छ । आफूलाई विस्तारित र सशक्त गर्दै जाने हाम्रो निर्णय भएको छ । हामी त्यसैमा छौं । बाहिर प्रेसमा आएका कुराबाट हामी खल्बलिन्नौं ।

१४ औं महाधिवेशनमा कृष्ण सिटौला सभापति, गगन थापा प्रदीप पौडेल महामन्त्री, कोही सहमहामन्त्री गरी पूर्ण टिम बनाएर तपाईं अगाडि जाँदै हुनुहुन्छ भन्ने हो ? यति कुरामा प्रस्ट हुनुस् म महाधिवेशनमा प्रतिस्पर्धामा छु, मेरो टिम विस्तारित र पूर्ण हुनेछ । सदस्यसहित यो पटक पूर्ण टिम हुन्छ भन्ने कुरामा आशंका नगर्दा हुन्छ ।​

गगन थापा र प्रदीप पौडेल त हार्ने गरेर सिटौला टिमबाट लड्नि भन्नुहुन्छ नि त ? परिस्थिति हेरेर निर्णय लिइन्छ भन्नुहुन्छ । यस्तो अवस्थामा कसरी पूर्ण टिम बनाउनुहोला ? भएको टीम रहने नरहने टुंगो छैन….

 सबै रहन्छन् । मिडियाले पनि यसमा धेरै आशंका नगरे हुन्छ । यस्ता मनगढन्ते कुरा नखोतले कै जाति ।

वर्तमान सभापति शेरबहादुर देउवाको तयारी हेर्दा उहाँसँगको प्रतिस्पर्धालाई कसरी हेर्नुभएको छ ?

उहाँले आफ्नो तयारी गर्नुहुन्छ । त्यो स्वाभाविक हो । त्यसभित्र मैले किन प्रवेश गर्नुपर्यो ?

 बाहिरबाट कसरी हेर्नुभएको छ ?

बाहिरबाट हेर्दा उहाँ भइरहेको सभापति हो । तयारी त राम्रै होला नि ।

सभापति जित्नका लागि १३ औं महाधिवेशनयता तपाईंको टिममा फेरबदल के आयो ? कति शक्ति सञ्चय गर्नुभयो ?

 सबै कुरा तपाईंलाई किन भन्नुपर्यो ? बाहिर छताछुल्ल किन पोख्नुपर्यो ? अघि भनें नि, सबै जिल्ला र क्षेत्रहरुमा साथीहरुले काम गरिराख्नुभएको छ ।

तपाईंले टिम पूर्णसहित चुनावी मैदानमा जान्छु भने पनि तपाईं पावर सेयरिङमा कुनै समूहमा गएर मिसिनुहुन्छ भन्ने धेरैको अनुमान छ ….

अनुमान गर्नेलाई अनुमान गर्नुदिनुस् न । अनुमान गर्ने पनि त अधिकार रहन्छ नि !

त्यो अनुमानमा कति प्रतिशत सत्यता छ ? कि सत्यता नै छैन ?

अनुमान गर्नेका लागि त्यो सत्य छ । मेरा लागि मेरै तयारी सत्य छ ।

तर, तपाईंको उम्मेदवार देखिने टिमसहित सशक्त रुपमा किन देखिरहेको छैन ?

तपाईले कसको सशक्त देख्नुभएको छ ? शेरबहादुरजीको उपसभापति आफैं सभापतिमा उठ्ने भनिराक्नुभएको छ । रामचन्द्रजीको पदाधिकारी र सदस्य आफैं दाबी गरिराख्नुभएको छ ।

१४ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको उम्मेदवारी किन र केका लागि ?

समय परिस्थितिअनुसार नेपाली काँग्रेस सबल हुनुपर्छ । आजको स्थितिमा रहेर पुग्दैन । नयाँ ढंगले विकसित हुनुपर्छ । देशको राजनीतिक परिस्थिति नयाँ बनेको छ । चुनौती नयाँ छन् । राष्ट्रसामु धेरै समस्या उत्पन्न भएका छन् । त्यसका लागि नयाँ दृष्टिकोण, नयाँ नीति, नयाँ कार्यक्रम नयाँ नेतृत्व चाहिन्छ । मेरो उम्मेदवारी त्यसका लागि हो । बाँकी कुरा म महाधिवेशनका बेला भनिहाल्छु नि !

एउटा काल्पनिक प्रश्न– कृष्णप्रसाद सिटौला काँग्रेस सभापति हुँदा चलाउने पार्टी कस्तो हुन्छ ? केही कल्पना गर्नुभएको छ ?

यो मुलुकलाई सही दिशा दिने आम नेपाली जनताले भरोसा गर्ने व्यवस्थित पार्टीका रुपमा विकसित हुन्छ ।

सभापतिका सबैजसो दाबेदारले युवा उपस्थितिलाई जोड दिएको देखिन्छ । तपाईले  युवा पुस्तालाई कसरी समेट्ने तयारी गर्नुभएको छ ?

स्वभाविकरुपले सबै समूहमा युवाहरुको पहुँच हुन्छ ।

सबैले युवालाई आफ्नो ब्याकअप शक्तिका रुपमा ब्याख्या गरेका सुनिन्छ । सिटौलाका ब्याकअप गगन र प्रदीप मात्र हुन् वा अरु पनि ?

अरु पनि छन् । थुप्रै छन् । टिम बनाउँदा साथीहरु आउनुहुन्छ । खुला र समावेशी सबै पक्षबाट पार्टीका सबै तहमा युवाहरुलाई प्रोत्साहन गर्नुपर्छ भन्ने मेरो मान्यता हो । नेपाली काँग्रेस नेतृत्वमा देशमा ठूलो परिवर्तन छ । प​रिवर्तित संविधान पनि हाम्रै नेतृत्वमा बनेको छ । परिवर्तित व्यवस्थाबाट देशलाई समृद्ध बनाउने नेतृत्व काँग्रेसले दिन सक्नुपर्छ । यसका लागि काँग्रेस पार्टीभित्र पनि आमुल परिवर्तन आवश्यक छ ।

सभापतिसँग भेटवार्ता भएको समाचार आएको छ । के–के कुराकानी गर्नुभयो ?

मुख्यतः क्रियाशील सदस्यताको छानविन छिट्टै टुंग्याउनैपर्छ भन्ने मेरो कुरा हो । साथै देशको राष्ट्रिय राजनीतिमा नेपाली काँग्रेसले खेल्नुपर्ने भूमिका सन्दर्भमा पनि सामान्य चर्चा भएको छ । मेरो यस्तो भेटघाट देउवाजी, पौडेल सबै नेता साथीहरुसँग भइरहन्छ । यी निरन्तर भइराख्ने भेटघाटहरु प्रेससँग भनिराख्नुपर्ने विषयहरु होइनन् । यी पार्टीभित्रका आन्तरिक परम्पराहरु हुन् । रातोपाटी ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार