असार २३, २०८२ सोमबार July 7, 2025

द्विपक्षीय प्रगाढ सम्बन्ध बहुपक्षीय सम्बन्धमा पनि झल्कियोस्- नेपालका लागि इजरायली राजदुत खनान गोडेर (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

यहाँले दशवर्षअघि आउँदा र अहिले नेपालमा कस्ता परिवर्तन देखिरहनुभएको छ ?

मलाई धेरै नेपाली मित्रले यो प्रश्न गर्नुहुन्छ । तपाईंहरू यहीँ बसिरहँदा त्यो परिवर्तनको अनुभूति सायद गर्न सक्नुहुन्न होला । मैले धेरै परिवर्तन देखिरहेको छु । नेपाल र नेपाली समाज सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । राजनीतिक रूपमै ठूलो परिवर्तन भएको छ । यहाँको संस्कृति र अर्थतन्त्र पनि सङ्क्रमणकालीन अवस्थाबाट अगाडि बढिरहेको छ । म पहिलोपटक यहाँ हुँदा १८ घण्टासम्म लोडसेडिङको मार खेप्नुपथ्र्यो । अहिले त्यो अवस्थामा सुधार भएको छ । अब नेपाल केही वर्षमा विद्युत् निर्यात गर्ने अवस्थामा पुग्दै छ । कोभिडको अवस्थालाई छाडेर भन्नुपर्दा नेपालको अर्थतन्त्रमा पनि निकै सुधार देखिएको छ ।

नेपाल र इजरायलबीचको दौत्य सम्बन्ध स्थापना भएको छ दशकभन्दा बढीको अवधिमा दुई देशबीचको सम्बन्धलाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ ?

छ दशकअघि नेपाल र इजरायलबीच सुरु भएको दौत्य सम्बन्ध निकै उत्साहपूर्ण छ । इजरायलले त्यसलाई कहिल्यै बिर्सन सक्दैन । सन् १९६० मा पहिलोपटक नेपालका नेता बीपी कोइरालाले नेतृत्व गर्नुभएको सरकारले इजरायललाई जुन सम्मान र मान्यता दिएको थियो, त्यो अविस्मरणीय छ । यो क्षेत्रबाटै नेपाल पहिलो राष्ट्र हो, जसले इजरायलसँग सम्बन्ध स्थापित गरेको थियो ।

त्यसबेलादेखि अहिलेसम्म आइपुग्दा दुई देशबीचको सम्बन्ध निकै सुमधुर भएको छ । दुई मित्रराष्ट्रबीच सम्बन्ध, जनता–जनताबीचको सम्बन्ध पनि उत्तिकै सुमधुर हुँदै आएको छ । इजरायलले स्वास्थ्य, शिक्षा, कृषि, अर्थतन्त्र, सैन्य सहयोग गर्दै आएको छ । गत सातामात्र पनि कोभिड–१९ रोकथाम र उपचारका लागि इजरायलले नेपालमा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सन् २०१५ मा नेपालमा गएको ‘गोर्खा भूकम्प’को समयमा पनि इजरायलबाट दुई सयजना स्वास्थ्यकर्मी आवश्यक औषधोपचार सामग्रीसहित सबैभन्दा पहिले आएर खटिएको सबैलाई स्मरण होला । आवश्यक परेको समयमा यस्ता सहयोग निरन्तर हुँदै आएका छन् ।

छात्रवृत्तिको सम्बन्धमा भन्ने हो भने पनि हामीले करिब चार हजारभन्दा बढी पेशा र व्यवसायमा रहेका नेपालीलाई विभिन्न इजरायली छात्रवृत्ति उपलब्ध गराइसकेका छौँ । दस हजारभन्दा बढी इजरायलीले नेपाल भ्रमण गरिसकेका छन् । यस्ता थुप्रै परियोजना चलिरहेका पनि छन् । त्यसैले हामी दुई देशबीचको सम्बन्ध र आपसी सहयोगलाई लिएर निकै नै सन्तोषजनक अवस्थामा रहेका छौँ ।

इजरायलले नेपाललाई विशेषगरी कृषि क्षेत्रमा निकै ठूलो सहयोग गर्दै आएको छ । नेपाली युवालाई उपलब्ध गराइएको ‘सिक र कमाऊ परियोजना’ निकै प्रशंसनीय मानिएको छ । यो परियोजनालाई थप प्रभावकारी बनाउन नेपालमा सात प्रदेशमा बनाउने भनिएको ‘सेन्टर फर एक्सिलेन्स’को काम कसरी अगाडि बढिरहेको छ ?

एउटा के कुरा बुझ्न जरुरी छ भने इजरायल निकै सानो मुलुक हो । आकारमा भुुटानभन्दा आधामात्र छ । त्यसमध्ये पनि आधा भू–भागमा निकै समस्या छ । मात्र दुई प्रतिशत जनता कृषिमा आबद्ध छन् । ती दुई प्रतिशतले बाँकी ९८ प्रतिशतलाई खाद्यान्न पु¥याइरहेका छन् ।

नेपालको कृषि क्षेत्रको विकास र विस्तारका लागि इजरायलले नेपाली युवालाई सिक र कमाऊ परियोजनाअन्तर्गत तालिमको अवसर उपलब्ध गराउँदै आएको छ । हालसम्म तीन हजारभन्दा बढी युवाले यो अवसर पाइसकेका छन् । उनीहरूले एक वर्ष इजरायलमा कृषिसम्बन्धी ज्ञान र प्रविधि सिकेर नेपाल फर्की आफ्नो ठाउँमा निकै राम्रो काम गरिरहेका छन् । योबाट हामी निकै खुसी छौँ ।

गत वर्षमात्र हामीले दुई देशबीच एक सम्झौता पनि गरेका छौँ । सरकार–सरकारबीचमा भएको उक्त सम्झौताअनुसार सात प्रदेशमा एक–एकवटा गरी सातवटा ‘एक्सिलेन्स सेन्टर’ स्थापना हुनेछन् । यसको काम अगाडि बढेको छ । त्यसका लागि गठन भएको समितिमा छलफल पनि चलिरहेको छ ।

एक्सिलेन्स सेन्टर स्थापना गर्नुको उद्देश्य त्यहाँ नमुुनाका रूपमा खेती गरेर स्थानीय किसानलाई खेती गर्ने प्रविधि र सीप सिकाउनु हो । इजरायलमा सफल भएको कृषि प्रविधिलाई नेपालमा भिœयाएर ठूलो आकारमा कृषि उत्पादन बढाउने यसको उद्देश्य हो । नेपाली किसानका लागि एक्सिलेन्स सेन्टर स्थापना हुनु ठूलो अवसर पनि हो । नेपालमा यति धेरै प्रतिशत जनता कृषिमा आधारित भएर बसे पनि त्यसले देशको आवश्यकता धान्न सकिरहेको छैन । अबका दिनमा नेपालमा कृषिलाई आधुनिक प्रविधिमैत्री बनाउनुपर्छ । यसलाई सोखमात्र होइन, यसलाई पेशाका रूपमा विकास गर्नु जरुरी छ । एकपटक प्रविधि भिœयाउन सकेमा नेपाल खाद्यसामग्री आयातलाई प्रतिस्थापनमात्र होइन, निर्यात गरेर नै मुलुकले समृद्धि हासिल गर्न सक्ने ठूलो सम्भावना छ । नेपालको छिमेकी मुलुक भारतमा स्थापना भएको एक्सिलेन्स सेन्टर अत्यन्तै प्रभावकारी साबित भएर अहिले धेरैवटा राज्यमा विस्तार भइरहेको छ ।

हामी नेपाललाई पनि त्यस किसिमको सहयोग गर्न चाहिरहेका छौँ । सायद आगामी वर्ष कम्तीमा पनि एउटा प्रदेशमा यो परियोजना सुरु गर्न सकिन्छ भन्ने विश्वासकासाथ काम भइरहेको छ ।

अहिले विश्वका अन्य देशजस्तै कोभिड–१९ को महामारीमा परेर नेपाली युवाले पनि रोजगारी गुमाएका छन् । अर्थतन्त्रमा सङ्कुचन आइरहेको छ । नेपाली युवा वैदेशिक रोजगारीका लागि बढी लालायित रहेका छन् । यस्तो अवस्थामा कृषि र केयर गिभर (स्याहार सुसार) बाहेक नेपाली युवालाई अन्य क्षेत्रमा इजरायलमा रोजगारी उपलब्ध गराउने विषयमा केही सोच छ कि ?

एउटा कुरा म के भन्न चाहन्छु भने नेपाली युवा निकै सक्षम छन् । विशेषगरी सूचना प्रविधि (आईटी)का क्षेत्रमा उनीहरू निकै अगाडि देखिन्छन् । मिहिनेती पनि उत्तिकै छन् । इजरायली कम्पनी र नेपाली कम्पनीबीच सहकार्य भएको छ । विशेषगरी आईटीको क्षेत्रमा नेपालमा विकास गरेको सफ्टवेयरबाट धेरै राम्रो काम भएको छ । यो सहकार्यले निरन्तरता पाउनेमा म विश्वस्त छु । यसबाहेक चिकित्सा क्षेत्र, पर्यटनका क्षेत्रमा पनि सहयोग भइरहेको छ । साथै, नेपाली पेशाकर्मीलाई सीप विकासको छात्रवृत्ति उपलब्ध गराइरहेको छ । कहिलेकाहीँ दुई देशबीचको व्यापार तथ्याङ्कमा देखिँदैन किनकि इजरायली कम्पनीको प्रमुख शाखा भारतमा रहेका छन् । त्यसैले यहाँबाट निर्यात भएर भारत जान्छ र भारतबाट इजरायल गएको अवस्था छ । तर पनि मल, स्वास्थ्य उपकरण इजरायलबाट नेपाल आयात हुने गरेका छन् । नेपालमा इजरायली उत्पादनको निकै ठूलो माग छ ।

दुई देशबीच आयात–निर्यातको अवस्थालाई हेर्दा व्यापार घाटा निकै ठूलो देखिन्छ । त्यसलाई कम गर्न नेपालबाट के–कस्ता वस्तु इजरायलमा निर्यात गर्न सकिएला ?

नेपाल भर्खर इमर्जिङ (आर्थिक रूपमा जागृत) देश हो । कोभिडको अवस्थालाई छोडेर भन्नुपर्दा यहाँको आर्थिक वृद्धिदर औसतमा करिब छ प्रतिशत रहँदै आएको छ । यो वर्षदेखि नेपालमा ऊर्जाको अभाव रहेन । उद्योगका लागि ऊर्जा पहिलो सर्त रहँदै आएको छ । नेपालको टेक्सटाइल उत्पादन विगत दुई वर्षमा बढ्दो अवस्थामा रहेको छ । नेपाली खाद्यसामग्री पनि बढिरहेको छ ।

मलाई के विश्वास छ भने केही वर्षमा नेपाल ऊर्जा निर्यात गर्न सक्ने अवस्थामा पुग्दै छ । नेपालमा हरेक क्षेत्रमा उत्तिकै सम्भावना रहेको छ । कफी, चिया, दलहनलगायतका खाद्यसामग्री, प्लास्टिकजस्ता सामग्री उत्पादन गरेमा निर्यातको प्रशस्त सम्भावना छ ।

नेपालले यतिबेला कोभिडविरुद्धको खोपको खोजी गरिरहेको छ । यस्तो अवस्थामा नेपाललाई इजरायलबाट हुने सहयोग केही हुन सक्छ ?

हो, कोभिडको महामारी निकै डरलाग्दो छ । विश्वभर नै यसले मानिसको जीवनलाई निकै ठूलो असर पु¥याइरहेको छ । यसले हाम्रो समाज, बालबालिकाको शिक्षा, युवाको रोजगारी, देशको अर्थतन्त्र सबै क्षेत्रलाई तहसनहस बनाइरहेको छ । यसबाट बाँचे पनि निकै लामो समयसम्म त्यसको असर देखिरहन्छ । इजरायल विश्वको पहिलो देश बन्यो, जसले आफ्ना जनतालाई आफैँ खोप उपलब्ध गराउन सकेको छ । अझै पनि पर्यटन, संस्कृतिका क्षेत्रमा निकै प्रभावित छ । अझै तेस्रो लहर देखिन थालेको छ ।

तथापि, इजरायलले आफ्ना मित्रराष्ट्रलाई सहयोग गर्न छोडेको छैन । गत सातामात्र इजरायली सरकार, विभिन्न गैरसरकारी सङ्घ संस्था र इजरायलमा काम गरिरहेका नेपाली समुदायलगायतको सहयोगमा कोभिड उपचारमा प्रयोग हुने भेन्टिलेटरलगायतका एक जहाज स्वास्थ्य सामग्री नेपाललाई पठाइएको छ । आगामी दिनमा पनि यस्तो सहयोग जारी नै रहनेछ ।

स्याहार सुसार र कृषिबाहेक अन्य क्षेत्रमा पनि नेपाली युवालाई इजरायलमा रोजगारी उपलब्ध गराउन सकिन्छ कि ?

अहिलेका लागि हामीले केयर गिभर र कृषिका लागि सरकार–सरकारबीच सम्झौता गरेका छौँ । इजरायल नेपालीलाई पर्यटनको क्षेत्रमा पनि आमन्त्रण गर्न चाहिरहेको छ । निर्माणका क्षेत्रमा पनि नेपाली युवालाई अवसर दिन चाहिरहेको छ । कृषिमा पनि अहिले हुँदै आएको सिक र कमाऊ (लर्न एन्ड अर्न) मात्र नभई लामो अवधिका लागि अवसर प्रदान गर्न चाहन्छ ।

यतिबेला नेपाल विभिन्न देशबाट लगानी भित्र्याउन चाहिरहेको छ । इजरायली लगानीकर्तालाई नेपालमा भित्र्याउने सम्भावना कति देख्नुहुन्छ ?

मलाइ लाग्छ– नेपालमा लगानीकर्ता भित्र्याउन उपयुक्त वातावरण बनाउन जरुरी छ । इजरायली लगानीकर्ता पनि आफ्नो लगानी विदेशमा गर्न चाहिरहेका छन्, लगानी क्षेत्रको खोजी गरिरहेका छन् । केही आईटी कम्पनीले यहाँ काम पनि गरिरहेका छन् । स्वास्थ्य सामग्री, कृषिका सामग्री उत्पादन गर्ने कम्पनीलाई नेपालमा भिœयाउन सक्ने सम्भावना मैले देखेको छु । इजरायली व्यवसायीको टोली नेपाल भ्रमणमा आउन समय पर्खिरहेको छ । कोभिड केही साम्य भएपछि यो पनि होला भन्ने अपेक्षा छ ।

महामहिम, विभिन्न मञ्चमा यहाँले नेपाल–इजरायल दुई देशबीचको सम्बन्धका आधार निकै बलियो भए पनि बहुपक्षीय सम्बन्धका आधार त्यति धेरै बलियो बन्न सकिरहेको छैन भन्दै आउनुभएको छ । बहुपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन इजरायलले नेपालसँग के–कस्तो अपेक्षा राखेको हो ? स्पष्ट परिदिनुस् न !
हो, म यसमा स्पष्ट पार्न चाहन्छु । जब दुई देशबीचको सम्बन्धको कुरा हुन्छ, त्यसको दुईवटा खुट्टा हुने गर्छ । एउटा द्विपक्षीय सम्बन्धको खुट्टा, अर्को बहुपक्षीय खुट्टा, जुन संयुक्त राष्ट्रसङ्घको महासभामा व्यक्त हुने मतमा देखिने गरेको छ ।

इजरायल–नेपालबीच दुई देशबीचको सम्बन्ध स्थापनाकालदेखि नै निकै सुमधुर रहँदै आएको छ । यो सम्बन्धलाई सुदृढ र बलियो बनाउन शिक्षा, स्वास्थ्य, कृषि, छात्रवृत्ति, विपद्मा सहयोग वा सैन्य सहयोगजस्ता जे–जस्ता सहकार्य गर्न सकिन्छ, त्यो हुँदै पनि आएको छ । आममानिसले पनि यो सम्बन्धलाई सहजै देख्न सक्छन् । बहुपक्षीय सम्बन्ध त्यसरी देखिँदैन । तर, प्रश्न बहुपक्षीय सम्बन्धको हो ।

राष्ट्रसङ्घको महासभामा वा जेनेभाको मानवअधिकार समितिमा नेपाल जसरी इजरायलीको पक्षमा उभिदियोस् भन्ने हाम्रो चाहना छ, त्यो हुन सकिरहेको छैन । राष्ट्रसङ्घमा नेपालको मत अत्यन्तै महŒवपूर्ण हुन्छ । अन्य कतिपय देशको सवालमा तटस्थ भएर बस्ने नेपालले इजरायलको पक्ष जोडिँदा किन तटस्थ बस्दैन वा किन हल (बैठक) छोडिदिँदैन भन्नेमात्र हाम्रो चासो हो । म यतिमात्र भन्न चाहन्छु कि दुई देशबीचको सम्बन्ध जति सुन्दर र सुदृढ छ, त्यो बहुपक्षीय सम्बन्धमा पनि झल्कियोस् भन्ने हाम्रो आग्रह हो । अन्तर्राष्ट्रिय फोरममा नेपालले दिने मतमा केही परिवर्तन होस् भनेर त्यसैले म यहाँ बारम्बार यो प्रश्न र चासो उठाउँदै आएको छु । नेपालले आफ्नो असंलग्न परराष्ट्र नीतिलाई उचित विवेक लगाएर प्रयोग गरोस् भन्ने हाम्रो कामना छ ।

नेपालस्थित इजरायली दूतावासअन्तर्गत एउटा सालोम क्लब भन्ने संस्था छ । त्यो कस्तो संस्था हो र त्यसले नेपाली समाजलाई कस्तो योगदान दिन्छ ?

हामीले सन् १९६० देखि नै इजरायलमा नेपालीलाई यस्ता अवसर उपलब्ध गराउँदै आएका छौँ । त्यतिबेलादेखि नै नेपालबाट विभिन्न समयमा विभिन्न विषयमा इजरायल पुगेर विभिन्न अवधिका तालिम, ज्ञान र शिक्षा लिएर फर्किएका छन् । सालोम क्लब त्यसरी फर्किएका नेपालीको नै संस्था हो । उक्त संस्थाको संयोजन इजरायली दूतावासका कर्मचारी रेश्मा जोशीले गर्दै आउनुभएको छ । यो संस्थाले अहिले नेपाली समाजका पछाडि परेका वर्ग, समुदाय, बालबालिका, युवाको हित हुने कार्य गर्दै आएको छ । यसमा सदस्य हुन बाँकी सदस्य पनि आबद्ध हुन सक्नुहुन्छ । यसको फेसबुक पेजबाट पनि आबद्ध हुन सक्नुहुन्छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?

नेपाल अत्यन्तै राम्रो देश छ । यहाँका जनता उत्तिकै असल छन् । यहाँको सामाजिक एकता निकै प्रभावकारी छ । दुई हप्ताअघि म असार १५ को अवसरमा धान रोप्न काठमाडौँ उपत्यकाबाहिर पुगेको थिएँ । म यहाँको कला, संस्कृति र समाज, नेपालीको सरलताले निकै प्रभावित भएको छु । मैले नेपालमा निरन्तर विकास भएको पाएको छु । विकास हुँदै गर्दा यहाँको समाजका राम्रा पक्षलाई जोगाइरहनुपर्छ जस्तो लाग्छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार