असार २३, २०८२ सोमबार July 7, 2025

सरकारले त सुरुमै हाम्रो पार्टीलाई समाप्त पार्न खोजेको थियो, सकेन – धर्मेन्द्र बास्तोला (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पछिल्लो समय राजनीतिक भेटघाट निकै तीब्र बनाउनु भएको छ । यसको अन्तर्य के हो ? 

अहिले जुन छलफल चलाइरहेका छौं, त्यसको उद्देश्य सरकारसँग भएको तीन बुँदे कार्यान्वयन होस् भन्‍ने हो ।

सहमति सरकारसँग गर्नु भएको हो, कार्यान्वयन गर्ने जिम्मेवारी पनि उसैको होला, तर यहाँहरूको भेटघाट त दलका नेता केन्द्रित देखिन्छ नि ?

सरकारमा दलहरू पनि सहभागी छन् । अर्थात यो दलहरूकै सरकार हो । सरकारसँग पनि कुरा गर्छौ । सरकारमा आबद्ध पार्टीसँग छलफल गरेका हौं । छिटोभन्दा छिटो सहमति कार्यान्वयन गर्न मद्दत पुगोस् भन्ने हाम्रो चाहना हो । अर्को कुरा देशको पछिल्लो राजनीतिक अवस्थाबारे पनि चासो हो ।

देशको पछिल्लो राजनीतिक अवस्थाबारे यहाँहरूको धारणा के हो ? 

पहिलो त संसदवादी पार्टीहरूबीचको अन्तरसंघर्षले वर्तमान अवस्था आएको हो । वर्तमान अवस्था आउनुमा उहाँहरूको पार्टीभित्रको अन्तर्संघर्षले काम गरेको छ । हाम्रो बुझाइ के हो भने संसदीय व्यवस्था नै यस्तो हो । यसले अस्थिरता बाहेक अर्को केही पैदा गर्दैन । अस्थिरता पैदा गर्ने अन्तरनिहित चरित्र यसमा हुन्छ । जसको नतिजा अहिले देखिरहेको छ ।

अस्थिर राजनीतिबारे यहाँहरूले दलका नेताहरूसँग के कुरा गर्नु भयो ? उहाँहरूको प्रतिक्रया के रह्यो ?

उहाँहरूले पनि चाहेको अस्थितरता होइन भन्नुहुन्छ । यसलाई हटाउनु पर्छ भन्ने त उहाँहरूको पनि छ । तर, किन भयो भन्नेबारे त्यति खोजबिन भएजस्तो लाग्दैन । हाम्रो भनाइ नै संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्छ र नयाँ व्यवस्था स्थापना गर्नुपर्छ भन्ने हो ।

प्रणाली परिवर्तको पनि एउटा निश्चित प्रक्रिया छ । यहाँहरूले संविधान बहिस्कार गरेर संघर्ष गर्नुभयो । नेताहरूसँग छलफल गरेकै आधारमा त यो व्यवस्था र प्रणाली कसरी परिवर्तन हुन्छ ? परिवर्तन गर्ने आधार के हो ?

संविधान नमान्ने त बास्तवमा हामी मात्रै होइनौँ, कसैले पनि मानेकै छैन । संविधान मान्ने भनेका संस्थाले मानेका छैनन् । जस्तो नेपालको संविधानमा अदालतले दुई वटा पार्टी बनाइदिने व्यवस्था कतै छ त ? तर, अदालतले बनाइदियो । दुई वटै पार्टी फैसला मान्न विवस बनेकै छन् । कसैले पनि संविधान मानेकै छैनन् ।

वर्तमान संसदीय प्रणालीभन्दा बाहिर, यसलाई फाल्न र नयाँ व्यवस्था ल्याउन बृहत् कम्युनिष्ट एकता गरौं भन्ने हाम्रो एजेण्डा हो । 

हामीले भनेको के हो भने यो संविधानले नेपाली जनताको हित गर्न सक्दैन । यसलाई बदल्नुपर्छ । जसले यो संविधान मानेर संविधानअनुसार देश चल्छ ।

यसको एक अक्षर पनि बदल्न मिल्दैन भने, तिनीहरूले नै संविधान मानिरहेका छैनन् । नेपाली जनताले मान्ने कुरा हुन्छ त ? सबैले संविधान नमान्ने स्थिति भएकै कारण हामीले दलहरूसँग छलफल चलाएका हौं ।

यहाँले भनेजस्तै यो संविधान र व्यवस्था कसरी बदल्ने ? 

यदि संविधान कसैले पनि नमान्ने हो भने बदल्ने कुरा त आयो । किनभने मान्ने संविधान बनाउनु पर्‍यो नि त । संविधान बनाउने, अनि नमान्ने भएपछि त त्यसले अराजकतातिर लैजान्छ । अस्थिरतातिर लैजान्छ । सबै जनताले मान्ने संविधान बनाउनुपर्‍यो भन्ने हाम्रो कुरा हो । जसले संविधान बनायो उसैले नमान्ने भएपछि नयाँ बनाउनुपर्ने आधारै त्यही भयो नि । जनतमत संग्रहमार्फत यसलाई छिनोफानो गर्ने जिम्मा जनतालाई दिनुपर्छ भन्ने हाम्रो धारणा हो ।

संविधान पालना हुन सकेन भन्ने पो संसद्वादी दलहरूको भनाइ हो त । बदल्नुपर्छ त भनेको छैनन् नि ? कि यहाँहरूसँग बदल्नुपर्छ भन्नुभयो ?

ठीक हो । उहाँहरू तत्काल निष्कर्षमा पुगिसक्नु नभएको होला । तर, परिवेशले त्यो ठाउँमा धकेलिहाल्यो । यही संसदीय प्रणालीमा ल चुनावमा गइयो । चुनावबाट के परिणाम आउँछ ? जे अहिले चलिरहेको छ त्यही परिणाम आउने न हो । दुई तिहाइ बहुमतको सरकार हुँदा, एउटा पार्टी नै बहुमतमा हुँदा पनि संसद विघटन हुनुपर्ने ? सरकार ढल्नुपर्ने ? पार्टी विभाजित हुने स्थितमा देश जाने हो भने कसरी यसले स्थिरता दिन्छ ? विगतमा पनि यस्तै भएको छ । यसले के पुष्टि गर्यो ?

वर्तमान प्रणालीले स्थिरता दिँदैन । यो व्यवहारिक रूपमै पुष्टि भइसक्यो । संसदवादी पार्टीहरूले एकै पटक मान्ने अवस्था नहोला । तर, नमानी सुख छैन । 

नेपालमा चलिरहेको संसदीय प्रणालीभित्र बहुमत या दुई तिहाइ ल्याएर स्थिरता भन्ने आउँदैन । किनभने यो प्रणालीले स्थिरता दिँदैन । यो व्यवहारिक रूपमा पुष्टि भइसक्यो । संसदवादी पार्टीहरूले एकै चोटि मान्ने अवस्था नहोला । तर, नमानी सुख त छैन । किनभने यसले स्थिरता आउदैन ।

भनेपछि व्यवस्था र संविधान परिवर्तनका लागि सहकार्य गरौं र मिलेर जाऔं भन्ने कुरा यहाँहरूले गरिरहनु भएको छ ? 
हो । हाम्रो कुरा त्यो हो । सबै राजनीतिक पार्टीहरूले सहकार्य गरौं, मिलेर जाऔं । सबै मिलेर प्रगतिशील संयुक्त सरकार बनाऔं । अनि जनताले कस्तो प्रकारको व्यवस्था छान्न चाहन्छन् त्यसको निम्ति जनमत संग्रह गरौं भन्ने हाम्रो कुरा हो । वैज्ञानिक समाजवाद स्थापना गरौं भन्ने हाम्रो कुरा हो । जसले देशका राजनीतिक, आर्थिक र सामाजिक समस्याहरू निराकरण गर्न सक्छ । नयाँ प्रकारको समाज निर्माण गर्ने दिशातिर जाऔं भन्ने कुरा हो ।

यहाँहरूको भेटघाट पनि एक पक्षीय जस्तो देखिन्छ । पूर्वमाओवादी अथवा कम्युनिष्ट केन्द्रित छ । माधव नेपाललाई एक पटक भेट्नु भयो । प्रचण्ड र बाबुरामलाई त पछिल्लो समय दुई-दुई पटक भेटिसक्नु भयो । यसको संकेत के हो ? 

तत्काल त तीन बुँदेकै कुरा हो । यसलाई कार्यान्वयन गरौं भन्ने नै हो । दोस्रो कुरा हामीले चाहेको बृहत् कम्युनिष्ट एकता हो । त्यो भनेको पूर्व माओवादी या एमालेको कुरा होइन  । नयाँ एजेण्डा, नयाँ धरातलमा, भविष्यको निम्ति, नयाँ कोर्स दिनको निम्ति बृृहत कम्युनिष्ट एकता गरौं भन्ने हाम्रो कुरा छ पार्टीको एजेण्डाका हिसाबले । तर, त्यो एजेण्डामा हामीले छलफल चलाएका छैनौँ । बहसमा पुग्या छैनौं । तीन बुँदे कार्यान्व्यन नै हाम्रो छलफलको मुख्य विषय हो ।

तर, अहिलेकै छलफलमा कम्युनिष्ट एकता वा पूर्व माओवादी एकताका विषयमा पनि  कुरा भएको भनेर विवरणहरू त आए ? 

त्यस्तो छैन । उहाँहरूले पनि कुनै प्रस्ताव गर्नु भएको छैन । हामीले पनि छैनौं । देशको राजनीतिक समस्याको निकास कसरी दिने त्यो विषयमा छलफल गरौं मात्रै भनेका छौं ।

बृहत कम्युनिष्ट एकताको कुरा गर्दा त्यसमा अटाउन सक्ने अहिलेका संसदवादी दलहरू कुन-कुन हुन् ? 

प्रगतीशील संयुक्त सरकारमा त परिवर्तनका निम्ति जो तयार हुन्छ त्यो सबै अट्ने हुन्छ । बृहत कम्युनिष्ट एकताको सन्दर्भमा नेपालमा समाजवाद स्थापनाको निम्ति सबै कम्युनियट एक ठाउँमा लागौ न त भन्ने हाम्रो कुरा हो ।

कम्युनिष्ट एकता त यसअघि पनि देखिहालियो नि । जनताले मत पनि दिए तर, परिणाम दिन सकेन । अन्ततः विभाजित भए नि ?

यो व्यवस्थाको कारणले भएको हो । जबसम्म नेपालमा संसद्वाद रहन्छ तबसम्म यस्तै हुन्छ । त्यसले शासक त फेर्छ तर जनताको जीवन फेर्दैन । जनताको राजनीतिक स्थिति फेर्दैन । जनताको केही पनि फेर्दैन ।

भनेपछि यहाँहरूले खोजेको अहिले व्यवस्था र संविधान बाहिरको बृहत कम्युनिष्ट एकता हो ? 

हामीले खोजेको भनेको यो व्यवस्थाबाहिर समाजवादी व्यवस्था । जहाँ जनताका अधिकार सुनिश्चित हुन्छन् । जीवनस्तर उठाउने आधारहरू तयार हुन्छन् । जहाँ जनताले सुख र समृद्धि प्राप्त गर्छ । सुरक्षा, सम्मान र स्वाभिमान प्राप्त गर्छ । यो खालको व्यवस्था जसलाई वैज्ञानिक समाजवाद भन्छौं । यो संसदीय प्रणालीभन्दा बाहिर, यसलाई फाल्नको निम्त, नयाँ बनाउन निम्ति बृहत कम्युनिष्ट एकता हामीले भनेको हो । यही व्यवस्थामा त सम्भव छैन ।

रणनीतिक मोर्चा

प्रतिबन्धित अवस्थामा चार दलीय रणनीतिक मोर्चा बनाउनु भएको थियो । त्यो सक्रिय छ कि निष्क्रिय भइसक्यो ? 

त्यसको छलफल चलिरहेको छ । सक्रिय पार्नुपर्छ । बन्छ ।

अहिले सक्रिय छैन ? 

– होइन, आआफ्नो तरिकाले संघर्ष त चलिरहेको छ । तर, त्यो प्रकारको सक्रियता छैन ।

संसदवादी दलहरूसँग निरन्तर छलफल गरिरहनु भएको छ । तर, मोर्चासँग छलफल गर्नु भएन ? 

त्यो त दलहरूको कुरा भयो । हाम्रो स्वतन्त्र पार्टी भएका कारण हामीले आफ्नो तर्फबाट गर्ने कुरा भयो । अरु दलले आफ्नो तरिकाले गर्ने कुरा भयो ।

वार्ताअघि मोर्चामार्फत दबाब सिर्जर्ना गर्ने काम गर्नुभयो । तर, वार्तापछि त्यसलाई उपेक्षा गर्नु भयो कि ? 

होइन । छलफल चलाउँदै गएका छौँ । चलाउँदै जान्छौं । अगाडि बढाउनुपर्छ ।

रणनीतिक मोर्चा पनि सँगै जान्छ । बृहत् कम्युनिष्ट एकताको कुरा पनि अगाडि बढाउनुहुन्छ ? 

रणनीतिक मोर्चा पनि बृहत् कम्युनिष्ट एकताको आधारकै रूपमा बनेको हो । बृहत् कम्युनिष्ट एकतालाई मद्दत गरोस् भनेरै बनाएको मोर्चा हो । बृृहत् एकैचोटी बन्ने त होइन । कदम कदममा बन्ने कुरा हो । एक कदम मोर्चा बनेको हो ।

सरकारसँग सहमति भएको चार महिनासम्म जे जति प्रगती भयो त्यसप्रति सन्तुष्ट हुनुहुन्छ ? 

सन्तोषजनक रहेन । किनभने सहमति भइसकेपछि दुई हप्तामै हिरासतमा रहेका साथीहरू छोड्ने र मुद्दा फिर्ता लिन सकिन्थ्यो । सरकारले सक्थ्यो । चार महिना वितेर पाँचौँ महिना चलिहरकोे छ । सरकारले प्रतिबन्ध फुकुवा गर्नेबाहेक अरु कुनै काम गरेन । त्यसका कारण त्यति सन्तोषजनक रहेन ।

ओली सरकारले सहमति गर्यो, कार्यान्वयन गरेन वा गर्ने तत्परता देखाएन । के भन्नुहुन्छ ? 

हुनुपर्थ्यो, भएन । किन भएन भन्ने हामीलाई जानकारी छैन । हाम्रो कुरा के थियो भने दुई हप्तामै हुनुपर्थ्यो । सकिन सक्थ्यो, राज्यले चाहेको भए ।

सहमति भएको चार महिना वितिसक्दा पनि नेताकार्यकर्ता हिरासतमै छन् । मुद्दा फिर्ता भएको छैन । राजनीतिक मुद्दा ज्यूका त्यू छ । वार्ताको उपलब्धी के भयो त ?

उपलब्धी हुने/नहुने कुराको मुल्यांकन हामीले गरिसकेका छैनौं । एउटा कुरा के हो भने सरकारले हाम्रो पार्टीसँग राजनीतिक मुद्दा छन् भन्ने महसुस गर्‍यो । त्यो मुद्दालाई छलफल र वार्ताको माध्यमबाट समाधान गर्नुपर्छ भन्या छ । त्यो महत्वपूर्ण विषय हो । त्यो बाहेक अरु विषय सुरु नै हुन पाएको छैन । सरकारले जुन ढिलाइ गर्यो त्यो चाहिँ ठीक भएन भन्ने कुरा हो ।

वार्ता गर्न हतार गरिएछ भन्ने त लागेको छैन ?

वार्ता भन्ने कुरा मान्छेको चाहनाभन्दा बाहिरको कुरा हो । सरकारको पनि चाहनाभन्दा बाहिरको कुरा हो । किनभने सरकारले त सुरुमै पार्टीलाई समाप्त पार्न खोजेको थियो । सकेन । हाम्रो पनि एउटा परिवेशमा सहमति गर्नुपर्ने स्थिति पैदा भयो । ईकागजबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार