काठमाडौँ : जापानको टोकियोमा आयोजना हुने ३२ औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।
आज सार्वजनिक भएको खेल तालिका अनुसार जुडो खेलाडी भट्टले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो। उनी ४८ केजी तौल समूहमा इरिनाको सामना गर्नेछिन्। भट्ट विश्व वरीयतामा १२७औँ स्थानमा छिन् भने इरिना विश्व वरीयतामा नवौं स्थानमा छिन् ।
उक्त खेल साउन ९ गते हुनेछ। पदकको टुङ्गो पनि सोही दिन लाग्नेछ। भट्ट वाइल्डकार्डमार्फत ओलम्पिक खेलमा छनोट भएकी हुन्। उनले नेपालमा आयोजना भएको तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा कास्य पदक जितेकी थिइन् ।
उनी महिला ४८ केजीमुनि तौल समूहमा नेपाललाई कास्य पदक दिलाइकी थिइन्। डोपिङ प्रकरणमा प्रतिबन्धमा परेको रुस ओलम्पिक खेलमा देशका रुपमा सहभागी छैन। रसियाका खेलाडीले रुस ओलम्पिक कमिटीको झण्डा मुनि रहेर प्रतिस्पर्धा गर्नेछन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया