असार २४, २०८२ मंगलबार July 8, 2025

काभ्रेमा सामुदायिक विद्यालय खुलाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना सङ्क्रमणको जोखिम कायमै रहँदा मण्डनदेउपुर नगरपालिकाको विद्यालयमा भौतिकरुपमा विद्यार्थी उपस्थिति गराई पठनपाठन सुरुआत गरिएको एक हप्ता भयो । नगरका विद्यालयमा कक्षागत समय विभाजन गरी शैक्षिक गतिविधि सुरु गरिएको नगर शिक्षा शाखाले जनायो ।

स्वास्थ्य-सुरक्षाका मापदण्ड अपनाइ भौतिक दूरी कायम गर्दै निश्चित समयभित्र तोकिएको शैक्षिक गतिविधि थालिएको नगर शिक्षा शाखा प्रमुख लोकेन्द्र विष्टले जानकारी दिए । ‘वैकल्पिक शैक्षिक सिकाइ गर्ने गरी समयमा विभाजन गरी विद्यालय खुलाएका हौँ’, उनले भने । उनका अनुसार नयाँ शैक्षिक सत्र २०७८ अन्तर्गतको कक्षामा पठनपाठन सुरु गरिएको हो ।

शाखाका अनुसार दैनिक छुट्टाछुट्टै कक्षामा विद्यार्थी बोलाई शैक्षिक क्रियाकलाप गरिने जनाइएको छ । आइतबार एकदेखि तीन कक्षा, सोमबार ४ देखि ५ कक्षा गर्दै क्रमशः १२ कक्षासम्मका विद्यार्थीलाई पठनपाठन गर्न थालिएको हो । शिक्षक–विद्यार्थीलाई भने अनिवार्य भौतिक दूरी र स्वास्थ्यका मापदण्ड अपनाउन भनिएको जनाइएको छ ।

मण्डनदेउपुर नपा–१० उमा सह शिक्षालय उच्च माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर लामाले भौतिक दूरी कायम गर्दै स्वास्थ्यका मापदण्ड अपनाई विद्यालय गत आइतबारदेखि नगरको निर्णयसँगै खुलाइएको बताए ।

उनले भने, ‘आलोपालो प्रणालीमा विद्यालयमा विद्यार्थी बोलाइएको छ, यसले विद्यालय आउने बानी बस्नुका साथै पढाइप्रतिको रुचि जाग्नेछ ।’ उनले विशेष गरी शिक्षक–विद्यार्थीले अनिवार्य भौतिक दूरी कायम गर्दै र स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने बताए। मण्डनदेउपुर नगरमा २८ आधारभूत, १२ माध्यमिक, एक क्याम्पस र ४२ बालविकास केन्द्र छन् ।

तेमाल गाउँपालिकाले आफ्ना क्षेत्रका सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन नै दिएको छ । शुक्रवार गाउँपालिकाको प्रमुख प्रशासकीय प्रमुख लक्षण कुईंकेलले विद्यालय सञ्चालन सम्बन्धमा विज्ञप्ति जारी गर्दै लामो समयदेखि अवरुद्ध विद्यालयको पठनपाठन सञ्चालन गर्न चार बुँदे निर्देशनसमेत गरेका छन् ।

निर्देशनमा स्वास्थ्यसम्बन्धी मापदण्ड तथा भौतिक दूरी कायम गरी विद्यालय सञ्चालन गरी भौतिकरुपमा शैक्षिक क्रियाकलाप गर्नुपर्ने, त्यसो गर्न नसकिए वैकल्पिक माध्यमबाट पठनपाठन गराउनुपर्ने तथा टाढाबाट आएका शिक्षकलाई कोरोनाविरुद्धको खोप अनिवार्य लगाई नियमित काममा खटाउन प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापनलाई आग्रह गरिएको उल्लेख छ । तेमालमा भने ४१ सामुदायिक विद्यालय छन् ।

केन्द्रीय सरकारले विद्यालय खुलाउने निर्णय नगरी स्थानीय तहले आफूखुसी विद्यालय सञ्चालन गर्न लागेकामा आपत्ति व्यक्त गर्दै महामारीको जोखिममा आफूखुसी निर्णय गर्नु उपयुक्त नभएको जिल्ला कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) का संयोजक शिवराम पोखरेलले बताए ।

उनले भने, “संवेदनशील विषयमा आफूखुसी निर्णय गर्नु राम्रो होइन, यदि सोही कारण भयावह अवस्था आए स्वयं जिम्मा लिनुपर्ने पनि हुनसक्छ ।” यसबारे जिल्लास्थित सरोकारवालासँग छलफल गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । जिल्लाका कूल ६९० विद्यालयमध्ये ५८७ सामुदायिक विद्यालय छन् ।

पछिल्लो केही हप्तादेखि काभ्रेमा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्नुका साथै दैनिक जसो एक सङ्क्रमितको मृत्यु हुने गरेको केन्द्रको तथ्याङ्कले देखाएको छ । कोरोनाका कारण शनिवार जिल्लाका दुईको मृत्यु भयो भने शुक्रवार एकको मृत्यु भएको छ । तीन हप्ताअघिसम्म करिब ३०० को हाराहारीमा झरेको सङ्क्रमितको सङ्ख्या हाल दोब्बरको अवस्थामा रहेको देखिन्छ । काभ्रेमा हालसम्म सङ्क्रमित १२ हजार २१४ मध्ये ११ हजार ४३१ सङ्क्रमणमुक्त भएका छन् भने १७६ को मृत्यु भइसकेको छ ।

जिल्लाका हाल ६०८ सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा १२०, धुलिखेलमा १३४, पनौतीमा १५४, पाँचखालमा १०८, नमोबुद्धमा ४५, मण्डनदेउपुरमा छ तथा रोशी गाउँपालिकामा १०, चौँरीदेउरालीमा चार, तेमालमा १०, भुम्लु तीन, बेथानचोकमा १२ र महाभारत गाउँपालिकामा दुई सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । तेह्र स्थानीय तहमध्ये खानीखोला गाउँपालिका हाल कोरोना सङ्क्रमणमुक्त अवस्थामा छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार