असार २३, २०८२ सोमबार July 7, 2025

‘माधव नेपाल समूहसहित सरकारमा सहभागी हुँदैछौं’ – जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सरकार बनेको १९ दिन भइसक्यो मन्त्रिपरिषद्‌ विस्तार किन हुन सकेको छैन ?

हाम्रो पनि पार्टीको आधिकारिकताको सवाल थियो, त्यो टुंगिएको छ । अब चाँडै नै सरकारले पूर्णता पाउँछ । आइतबार बेलुकादेखि छलफल सुरू हुन्छ । मन्त्रालयहरू बाँडफाँट भएपछि मन्त्रीहरू चयन हुन्छन् ।

मन्त्रालयको भागबन्डा टुंगिएको छैन ?

हामी अहिलेसम्म त्यो विषयमा प्रवेश गरेका थिएनौं । सरकार बनिरहेको छ, चलिरहेछ भनेर अहिलेसम्म हामी त्यो विषयमा ठोस रूपमा प्रवेश नगरेका हौं ।

सरकारको विषयमा टुंगोमा पुग्न अहिले कार्यदल निर्माण भएको छ त्यसले के काम गरिरहेको छ ?

कार्यदलले साझा कार्यक्रम, सरकारले गर्नुपर्ने मुख्य काम, भूमिका र आचरणलगायतका कुराहरु तयार गर्‍यो । त्यो अन्तिम चरण र घोषणा हुने तयारीमा छ । मन्त्रालय बाँडफाँट भएपछि टुंगो लाग्छ ।

मन्त्रालय कसरी भागबन्डा गर्ने तयारी छ ?

मन्त्रालयको संख्याको विषयमा प्रवेश गर्न बाँकी छ । त्यो टुंगिएको भए त सबै कुरा भइसक्थ्यो नि !

तपाईंहरूको आधिकारिकताका कारण पनि अल्झेको थियो । अहिलेचाहिँ एमालेको माधव नेपालका कारण अल्झेको हो ? नेपाल समूह पनि सरकारमा सहभागी हुने हो ?

माधव नेपाल समूह पनि सरकारमा सहभागी हुन्छ । उहाँसहित हामी सबै मिलेर बनाएको सरकार हो यो । सरकारमा सहभागी नहुने कुरै छैन ।

त्यसोभए माधव नेपाल समूह सरकार समर्थकमात्र होइन मन्त्रिपरिषद्‌मै सहभागी हुन्छ ?

हो, उहाँहरू मन्त्रीसहित नै सरकारमा आउनुहुन्छ । उहाँहरूका लागि सरकारमा जाने वातावरण बनेको छ । उहाँहरू (माधव नेपाल समूह) र हामीसँगै सरकारमा सहभागी हुने भन्ने छ ।

मन्त्रालय भागबन्डामा माधव नेपाल सहितको सहभागिताका लागि छलफल भइरहेको हो ?

हो । उहाँहरूसहितको छलफल भएको छ । राष्ट्रिय जनमोर्चाचाहिँ मन्त्रिपरिषद्‌मा भाग नलिने भनेको छ । अरूचाहिँ सबै सहभागी हुने कुरा छ ।

गठबन्धनको न्यूनतम साझा कार्यक्रम बनिरहेको छ । प्राथमिकता के–के छन् ?

मुख्य प्राथमिकता कोरोना हो । प्रत्येक जनतालाई खोप पुर्‍याउने भन्ने छ । त्यसपछि धरासायी हुँदै गरेको अर्थतन्त्रलाई आफ्नो खुट्टामा उभ्याउन प्रयास गर्ने, संघीयता कार्यान्वयन गर्ने लगायतका कुरा मुख्य छन् ।

तपाईंहरूले ओली सरकारलाई गलत भन्नुभयो तर अहिले तपाईंहरु पनि गलत बाटोमा जानुभएको हो कि ? एकजना मन्त्री नियुक्तिमै ठूलो विवाद भयो नि ! यसलाई तपाईंले कसरी लिनु भएको छ ?

गलत काम गर्न हुँदैन । अर्काले गल्ती गर्‍यो भने गल्ती भन्ने अनि हामी खुदै गल्ती गर्‍यौं भने उनी र हामीमा फरक के भयो त ? त्यस कुरामा सावधान हुनुपर्छ ।

जसपाबाट कसले नेतृत्व गर्छ ? कि तपाईं आफैं जाने ?

मन्त्रालय टुंगो लागेपछि निश्चित हुन्छ । पार्टीले जे निर्णय गर्छ त्यही हुने हो । अहिले नै केही निर्णय भइसकेको छैन ।

गठबन्धनमा धेरै दलहरू हुनुहुन्छ । यो गठबन्धन कति दीगो हुन्छ ? के आउँदो चुनावसम्मै लैजाने भन्ने हो ?

यो गठबन्धन चुनाव र त्यसपछिसम्म पनि रहन्छ । लोकतान्त्रिक गठबन्धनको रुपमा यसले संविधान, लोकतन्त्रको रक्षा, संविधान संशोधन र संघीयता कार्यान्वयन गर्न सक्छ । त्यस हिसाबले अघि बढ्नुपर्छ भन्ने लाग्छ ।

जसपामा भर्खरै तपाईंहरूले आधिकारिकता पाउनुभएको छ । पार्टी अब कसरी अघि बढ्छ ? अर्को पक्ष (महन्थ ठाकुर) को हैसियत के हुन्छ ?

हामी समानता, स्वतन्त्रता, सामाजिक न्यायसहितको लोकतान्त्रिक दिशामा अघि बढ्छौं । पार्टी विभाजन त भएको छैन । जब केपी शर्मा ओलीले संसद् भंग गर्नु भयो त्यतिबेला यो कार्य असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी हो भनेर हामी संघर्षको मैदानमा पनि उत्रियौं । त्यो मैदानमा संघर्ष चलेकै बेलामा केही नेताहरू भागेर प्रतिगमनकारीकै मतियार बन्नुभयो । उहाँहरू बाटो बिराएर जानुभएको हो । केही साथीहरू मन्त्री बन्नका लागि सरकारमा जानुभयो । सरकारमा जानु आउनु ठूलो कुरा होइन तर पार्टी भएपछि त निर्णय गरेर सरकारमा जानुपर्छ । निर्णय गरेर नै सरकारबाट हट्नुपर्छ । तर उहाँहरूले निर्णय नगरी कोही दायाँबाट कोही बायाँबाट ओलीको खुट्टामुनिबाट छिरेर मन्त्री बन्नुभयो । गल्ती त उहाँहरूले गर्नु भएको हो । हामीले घोक्र्याएर निकालेको होइन । त्यसरी बाटो बिराउँदै लोभ–लालचमा फसेर वा अरुको खटनपटनमा खटिएर गएका साथीहरू हुन् ।

राजपा पृष्ठभूमिका नेताहरुको पार्टीगत हैसियत अहिले के छ ?

उहाँहरू पार्टीमै हुनुहुन्छ भनेर हामीले सम्झेका छौं । उहाँहरूले कसरी सम्झिनु भएको छ थाह छैन ।

महन्थ ठाकुरले ‘म आफैं नै अध्यक्ष हुँ’ भन्नुभएको छ नि ?

उहाँहरूले आधिकारिकता गुमाइसक्नुभएको छ । आधिकारिकता गुमाइसकेपछि ‘म नै आधिकारिक हुँ’ भन्नु उचित हुँदैन । तैपनि हामीले उहाँहरू जसपामै रहेको सम्झेका छौं । उहाँहरूको पदको सन्दर्भमा पार्टीको विधान र विधिअनुसार हुन्छ । उहाँहरूको ट्रेन छुटिसक्यो । ओलीमार्गको ट्रेन पक्रेर उहाँहरु धेरै टाढा पुग्नुभएको छ । उहाँहरूले गरेको दाबीको पक्षमा १६ जना मात्र हुनुभयो भयो । पार्टी सिस्टममा बस्न बहुमतले गरेको निर्णय उहाँहरूले मान्नुपर्छ । उहाँहरू सुध्रेर, आत्मालोचना गरेर सच्याउन चाहनुहुन्छ भने उहाँहरुलाई सुध्रिने मौका हो । उहाँहरुका लागि हामीले ढोका बन्द गरेका छैनौं । तर उहाँहरुले पार्टीलाई नोक्सान गर्ने गलत कार्य गर्नुभयो ।

तपाईं पूर्वपरराष्ट्रमन्त्री पनि हुनुहुन्छ, अहिले दार्चुलामा तुइनबाट खसेर एक नेपालीको निधन भएको घटनालाई कसरी लिनुभएको छ ?

यस्ता विषयका समस्या सडकबाट समस्या हल हुँदैनन् । यो समस्या हल गर्न परराष्ट्र मन्त्रालयले ‘डिम्प्लोम्याटिक नोट’मार्फत भारत सरकारलाई पठाउनुपर्छ र कुरा गर्नुपर्छ । यस खालको बहुपक्षीय समस्या आएमा वार्ताद्वारा कूटनीतिक माध्यमबाटै हल गर्नुपर्छ । यसका लागि परराष्ट्र मन्त्रालयले हल गरोस् । सरकारले परराष्ट्र मन्त्रालयलाई यस कुरामा चासो लेऊ र सत्यतथ्य भारत सरकारलाई प्रस्तुत गर भन्नुपर्छ । कान्तिपुरबाट साभार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार