कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

दल विभाजनले लोकतन्त्र कहिल्यै बलियो हुँदैन । – नीलकण्ठ उप्रेती (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

राजनीतिक दल विभाजनलाई सहज पार्ने अध्यादेश आएको छ यसको प्रभाव के देख्नुहुन्छ ?

दल विभाजनले लोकतन्त्र कहिल्यै बलियो हुँदैन । दल धेरै भएर लोकतन्त्र बलियो हुने भए १३३ दलले निर्वाचनमा भाग लिएका थिए २०७० सालमा, ती दलहरू अहिले हराइसकेका छन् । तिनको प्रतिनिधित्व हुन सकेको छैन । ३ प्रतिशतसम्मको थ्रेसहोल्ड राख्दा दलहरूलाई आपसमा मिल्न सहज गरेको थियो । अहिले पनि के कुरा दोहोर्‍‍याउन चाहन्छु भने दल धेरै भएर लोकतन्त्र बलियो हुने भए हामीकहाँ लोकतन्त्र धेरै नै बलियो हुन्थ्यो । राजनीतिक स्थिरता हुन्थ्यो । कुनै पनि अनुभवले दल टुक्रिनु भनेको देशको लागि हानिकारक छ । दलको लागि पनि हानिकारक छ । सिद्धान्तको राजनीति गर्नेहरूलाई पनि यसले हानी गर्छ ।

राजनीतिक व्यवस्थामा पर्ने यसका असर के हुन् ?

बहुमतको सरकार हुनुपर्ने, भएको थियो । एउटाले ५ वर्ष राम्रोसँग दर्शन, सिद्धान्त र जनतासँग गरेका प्रतिबद्धताहरू अनुसार राम्रो काम गरेन भने फेरि जनताले चुनावमा परिक्षण गर्छन् । जसलाई आवश्यक ठान्छन् त्यसलाई सरकारमा पुर्‍याउँछन् । त्यो परिपक्वता र अधिकार जनतासँग हुन्छ । यो प्रक्रियाबाट देश जाओस् भनेर नै राम्रो खालको निर्वाचन प्रणाली ल्याउन खोजेको हो । यो किसिमको विभाजन गर्ने, टुक्राउने प्रक्रियाले देशको लोकतन्त्र बलियो बन्दैन । यो दुर्भाग्यपूर्ण हो । यसो भन्दा कसैलाई दुख्छ भने दुखोस् । तर दल टुक्राउन सहज पार्ने अध्यादेश ल्याइन्छ भने यो नितान्त लोकतन्त्रका लागि हानिकारक छ र उपयुक्त होइन ।

दल विभाजनका लागि नेपालमा केन्द्रीय कमिटी र संसदीय समितिमा ४० प्रतिशत हुनुपर्ने भनेर राखियो । यो व्यवस्था राख्ने दलहरू नै अहिले भत्काउन लागेको छन्, यसलाई कसरी हेर्नुभएको छ ?

अपरिपक्पता एउटा कुरा हो । सत्तास्वार्थ अर्को कुरा हो । सैद्धान्तिक विधि र प्रक्रियाबाट यो काम गरिएको होइन । संविधान र ऐनको मर्म, भावना यस्तो खालको होइन । यसरी संसद् चलिरहेको बेला हठात् बन्द गरिदिने र अध्यादेश ल्याउने होइन । अघिल्लो सरकारले पनि त्यस्तै गर्‍यो र यसले पनि त्यस्तै गर्‍यो, जुन ठीक थिएन ।

पहिला कसैलाई सहज पार्न र कुनै पार्टी टुक्राउनका लागि गरियो । अहिले अर्कै किसिमले काम गरियो । त्यसकारण जे जति काम भइरहेको छ, यति धेरै वर्षदेखि राजनीतिमा लागेका अनुभवी नेताहरूले संविधान र ऐनका मर्म र भावना विपरीतका काम गरिरहेका छन् । विभाजनको सट्टा एकीकरणका लागि काम गर्दै गयो भने दुईवटा वा तीनवटा भन्दा बढी पार्टी चाहिन्छ जस्तो लाग्दैन । सिद्धान्तमा समस्या छैन । व्यक्तिगत इच्छामा टुक्राउने, मन्त्री खाने र देशको दोहन, शोषण गर्ने, देशको लागि काम गर्न नसक्ने अवस्थामा मन्त्री भएर आफ्नो स्वार्थसिद्ध गर्ने कुरा गरिएका छन् । पहिलो संविधानसभाको निर्वाचनयता यस्तै कुरा देखिइरहेका छन्, यो दु:खद् कुरा हो । यी नेताहरूमा योग्यता अनुभव नभएको पनि होइन तर स्वार्थले गर्दाखेरि अहिलेको परिस्थिति आएकोले जनताले निर्वाचनका बेला सोच्नुपर्ने हुन्छ । चुनावमा जाादा जनताले कसलाई ल्याउने ? युवा नेता ल्याउने कि यिनैलाई ? भन्नेबारे जनताले निर्णय गर्नुपर्छ । यसरी बस्नुभन्दा चाँडै निर्वाचनमा जानु उपयुक्त हो भन्ने मलाई लाग्छ ।

केही पहिलेसम्म अध्यादेशबाट राज्य सञ्चालन गर्न हुन्न संसद्‍बाट कानुन बनाउनपर्छ भन्ने र साझा न्यूनतम कार्यक्रममा पनि त्यो प्रतिबद्धता उल्लेख गरेको सत्तारुढ गठबन्धनले यो अध्यादेश ल्याउनुलाई कसरी बुझ्ने ?

यो अलि फरक समीकरण बन्यो । हिजो एमाले र माओवादीको समिकरण बन्यो तर त्यसले काम गरेन । त्यो भत्केर अहिले अर्को समिकरण बन्यो । कुन पवित्र, कुन अपवित्र हो थाहा छैन । मैले हेर्दा त कतैतिर पनि पवित्रता देख्दिनँ । सैद्धान्तअनुसार नेपाली कांग्रेस कता, माओवादी कता ! सिद्धान्तले एकठाउँमा उभिएर सरकार बनाउने हो तर अहिले अचम्म लागिरहेको छ । यो सबै स्वार्थका लागि भइरहेको हुँदा म भन्छु कि जनताले यसमा समर्थन गर्नु हुँदैन । बुद्धि विवेक र इच्छाशक्ति भएकाहरूलाई सत्तामा ल्याउन र टिकाउन जनता लाग्नुपर्ने हो । कपाल मात्र फुलेर हुँदो रहेनछ, बुढो मात्र भएर हुँदो रहेनछ । ५० वर्षसम्म राजनीति गरेकाहरू पनि यस्ता खालका संविधान ऐन कानुनका भावनाहरूभन्दा फरक किसिमका कामहरू गरिरहेको अवस्था छ ।

यो अध्यादेश ल्याउने अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओली र अहिलेको सत्ता गठबन्धन आफ्नो कामको पुष्टिका लागि ‘मन मिलेसम्म पो एउटै दलमा बस्ने हो मन नमिले कानुनले मात्रै बााधेर राख्न सक्दैन’ भन्ने तर्क गरिरहेको छ । यसलाई कसरी हेर्नुहुन्छ ?

हिजो ओलीले यो अध्यादेश ल्याउँदा अहिलेको गठबन्धनले कसरी विरोध गरेको थियो भन्ने त बिर्सनु भएन नी ! सबैले विरोध गरेर जबरजस्ती गरेर फिर्ता गर्न लगाए । हिजो ओलीलाई फिर्ता गर्न लगाए आज आफैंले ल्याउँदा चाहिँ कसरी यो ठिक हो ? र हिजोको बेठिक थियो भन्ने ? त्यसकारण हिजो पनि बेठिक थियो, आज पनि बेठिक छ । यस्तो परिपाटी सही होइन । ऐनमा व्यवस्था गरेको छ कि, ४० प्रतिशत संसद् र केन्द्रीय समितिमा भयो भने अर्को पार्टी बनाउन सकिन्छ । ऐनले व्यवस्था नगरेको कुरा होइन । एउटा पार्टीका कतिवटा टुक्रा बनाउन ऐनले मद्दत गर्नुपर्ने हो ? जे बनाउनुछ ऐनबाट नै बनाउनुस् न ! ५ टुक्रा बनाउन मिल्ने वा १० जनाले पनि पार्टी गठन गर्न सक्ने भन्ने ? एकजनाले पनि भिन्दै पार्टी बनाउन मिल्ने बनाउनुपर्ने भए ऐनमा नै बनाउनुस् । तर यस्तो गाइजात्रे खालको अध्यादेश ल्याउन भएन ।

यो अध्यादेश निर्वाचन प्रणालीमा रहेको कमीको परिणाम पनि हो कि ?

नेपालको निर्वाचन प्रणाली त परिवर्तन नै गर्नुपर्छ । जुन अहिले हामीले ल्याएका छौं यसलाई दुरुपयोग गरिएको छ, भ्रष्ट बनाइएको छ । यस्तो भ्रष्ट बनाइएको प्रणालीलाई परिवर्तन गरेर लोकतन्त्रको लागि काम लाग्ने प्रणाली अवलम्बन गर्नुपर्छ । निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ भनेर जनतामा गएका बेला थाहा भएको हो । साथसाथै जुन खालका राजनीतिक दलका व्यवहार देखिए आ–आफ्नो स्वार्थ सिद्धिका लागि जे–जसो पनि गर्ने कुरा भइरहेको यसले उनीहरू विश्वसनीयता घटेर जान्छ । जो नबुझी पछाडि लाग्छन् त्यसको त कुरा नै भएन, बुझ्ने जनताले चाहिँ यस्ता विवेकहीन, संविधान कानुनविपरीत काम गर्नेहरूलाई कारबाही गर्नुपर्छ । भोटद्वारा नै कारबाही गरेमा परिवर्तनलाई संस्थागत गरेर अगाडि बढ्न सक्छौं । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलरको बिक्रीदर १५१.४७ रुपैयाँ
२०८३ कार्तिक २०, शुक्रबार
आज शुक्रबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस राशिफल
२०८३ कार्तिक २०, शुक्रबार
यू-१९ महिला बेल्ट एन्ड रोड सिरिजमा नेपालको शानदार जित, हङकङ ९२ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार
सभापति लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
२०८३ कार्तिक १९, बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
२०८३ कार्तिक १९, बिहिबार
मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्त्वपूर्ण : महासचिव पोखरेल
२०८३ कार्तिक १९, बिहिबार
काठमाण्डु गोखार्जद्वारा विराटनगर किङ्स ९ विकेटले पराजित
२०८३ कार्तिक १९, बिहिबार