असार २३, २०८२ सोमबार July 7, 2025

१० बुँदे कार्यान्वयन पनि हुँदैन र एकताको सम्भावना पनि छैन । : राजेन्द्र पाण्डे (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सहमतिको कोसिस गरिरहेका नेताहरूले एकताका लागि दल दर्ता प्रक्रियाबाट पछाडि हट्न माधव नेपालसहितका नेताहरूलाई आग्रह गर्नुभएको छ । अगाडि बढ्नुहुन्छ कि ‘ब्याकगियर’को ठाउँ छ ?

अब फर्किने कुनै कतै ठाउँ छैन । हुन्थ्यो भने हामी आज यो अवस्थामा आइपुग्ने नै थिएनौँ । अब उहाँहरूको बाटो छुट्टै र हाम्रो बाटो छुट्टै भइसक्यो । उहाँहरू ओलीजीकै बाटोमा हिँड्न चाहनुभयो ।

उता १०बुँदे सहमति कार्यान्वयन गर्ने गरी ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको छ नि ? 

त्यो त हामी पनि हेर्दै जाऔँला नि ! उहाँहरूको स्थायी कमिटी बस्ने, निर्णय गर्ने, कार्यान्वयन गर्ने र त्यसले त्यो पार्टी जोगिने कुरा कसरी हुँदोरहेछ । सीधा कुरा के हो भने त्यो १०बुँदे कार्यान्वयन पनि हुँदैन र एकताको सम्भावना पनि छैन ।

दल दर्ताका लागि दिनुभएको निवेदनअनुसार बुधबार निर्वाचन आयोगले सनाखत गर्दै छ । तपाईंहरूको तयारी के हुँदै छ ?

हाम्रोतर्फबाट सनाखतमा उपस्थित हुनुपर्ने सबै साथीहरू तयार हुनुहुन्छ । आयोगले बोलाएको समयमा सनाखतका लागि हामी उपस्थित हुन्छौँ ।

तपाईंहरूलाई साथ दिने केन्द्रीय सदस्यहरूको संख्या घटेकोघट्यै छ ? आयोगमा सनाखत जानेवेलासम्म २० प्रतिशत पनि पुग्दैनन् भन्ने एमालेका नेताहरूको दाबी छ । तपाईंहरूसँग केन्द्रीय कमिटीमा र संसद्मा संख्या कति हुन्छ ? 

सनाखत गर्दा हाम्रा ३० प्रतिशत सांसद र केन्द्रीय सदस्य उपस्थित हुनुहुन्छ । कसले के दाबी गर्छ भन्ने कुरा अलग हो, कति उपस्थित हुन्छन् भन्ने त्यही वेला थाहा हुन्छ।

अचानक चन्द्रागिरितिर लाग्नुभएछ, आफ्नो नेता चोरिन्छन् भन्ने डर भएर हो कि ? 

निर्वाचन आयोगमा प्रस्ताव गरिएको केन्द्रीय समितिको बैठक बस्न हामी यहाँ आएका छौँ । यो बैठकले आयोगमा पेस गरेका दस्ताबेजहरू विधान, घोषणापत्र, नियमावली आदिमा छलफल गर्छौँ । यसमा हामीले केपी ओली र हामीबीचमा के फरक छ भनेर छलफल गर्छौँ । यो बुधबार बिहानसम्म चल्छ । त्यसैका लागि हामी यहाँ आएका हौँ ।

तपाईंहरूकै समूहमा रहेका, तर निर्णायक चरणमा साथ नदिएका नेताहरूलाई केही सन्देश छ कि ?

उहाँहरू अहिले पनि ओलीजीले काम गर्नुहुन्छ भन्ने भ्रममा हुनुहुन्छ । त्यो भ्रममा नपर्दा राम्रो हुन्छ । हिजोदेखि नै हामीसँग रहनुभएको र विचार समूह पनि एउटै भएको हुनाले हामीसँग आउनु उहाँहरूका लागि राम्रो हुन्छ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया