असार २३, २०८२ सोमबार July 7, 2025

गठबन्धनमा मन्त्रालयको विषयमा कुनै लफडा छैन यो सब वाहियात हो । – महेन्द्र यादव (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्त्रालय भागवण्डा मिलाउने बिषय तपाईहरु समक्ष आयो कसरी मिलाउँदै हुनुहुन्छ ?

सरकारलाई सुझाव दिनका लागि न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल बनाइएको थियो । हामी साथीहरू बसेर सरकारलाई सुझाव दिने गर्थ्यौ । कार्यदल कुनै औपचारिक पनि होइन । यो मन्त्रालयको विषयमा पनि साथीहरू मिलेर छलफल गर्छौ र कसरी अगाडी बढ्ने भनेर सरकारलाई सुझाव दिने मात्र हो ।

गठबन्धनकै दलका तपाईंहरू कार्यदलमा हुनुहुन्छ, शीर्ष नेताहरूले टुङ्गाउन नसकेको विषय तपाईंहरूले टुङ्गाउन सक्नुहुन्छ त ?

यो गठबन्धनमा हामी सबै एक मत छौँ । अहिलेलाई यत्ति बुझ्नुस् सरकारले चांडै पूर्णता पाउँछ । त्यसका लागि गृहकार्य भइरहेको छ । विगतमा विभिन्न कारणले समय लाग्यो । अध्यादेशका कारणले २२ गतेसम्म समय लाग्यो त्यसपछि पनि विभिन्न समस्या आए त्यो बिस्तारै मिल्दै छ । अव चाडै पूर्णता पाउंछ । आन्तरिक रूपमा छलफल भइरहेको छ ।

कार्यदलले कसरी टुङ्याउछ ? भागबन्डामा दलहरूको असहमति छ फेरी कार्यदलमा पनि तपाईंहरू दलकै प्रतिनिधिहरू हुनुहुन्छ ?

यो मुलुकको लोकतन्त्र र सङ्घीयता लगायतका उपलब्धिलाई रक्षाकानिम्ति, गणतन्त्र र संविधानको रक्षाका निम्ति यो गठबन्धन निर्माण भएको छ । र यो गठबन्धन मुलुकमा राजनीतिक स्थिरताका लागि पनि हो । त्यसैले यो समस्या चांडै हल हुन्छ हामीले समझदारी गरेका छौँ त्यही अनुसार हामी हाम्रो काम गछौँ ।

तपाईँहरूको गठबन्धन त असक्षम देखियो नि ?

यो गठबन्धनलाई अक्षम बनाउनका लागि नै संसदमा तपाईँले देख्नुभएको छैन विपक्षी दल कसरी लागेको छ भनेर । अध्यादेशहरू पास गर्ने स्थिति नै बनेन उहाँहरू वार्तामा पनि नआउने संसद् सुचारु गर्न पनि नदिने ! न कुनै एजेन्डा छ, विरोधका नाममा विरोध गरिरहनुभएको छ । सरकारले पूर्णता पाउन पनि विधि विधान आवश्यक पर्छ त्यसै अवरोध भएकाले अलि ढिलाइ भएकै हो ।

कुन दललाई कति मन्त्रालय भन्नेसम्म पनि टुङ्गाउन नसक्नु त गठबन्धनको असक्षमता वा अपरिपक्वताले होइन र ?

यो सबै बाहिरी हल्ला हो । गठबन्धनमा मन्त्रालयको विषयमा कुनै लफडा छैन यो सब वाहियात हो । हामी विधि विधानअनुसार नै चलिरहेका छौँ ।

माधव नेपाल र तपाईंहरूको पार्टीले समान दाबी गरेपछि प्रधानमन्त्री नै तनावमा हुनुहुन्छ रे त ?

कसले भन्यो ? हामीबीच कुनै त्यस्तो असमझदारी विवाद केही छैन, प्रक्रिया अलि लामो भएका कारण अड्कलबाजी गरेका होलान् तर त्यसमा सत्यता छैन गठबन्धन बलियो छ । कुनै विवाद छैन ।

२ महिना देखिनै तपाइहरूले मन्त्रीपरिषद् विस्तार चाँडै हुन्छ भन्नुभएको छ । आज प्रस्ट पारिदिनुस् चाँडै भनेको कहिले ?

अव चाडै हुन्छ, जहिले प्रतिपक्षसँग वार्ता हुन्छ अनि संसद् सुचारु हुन्छ त्यसपछि मन्त्रीपरिषद्ले पूर्णता पाउँछ । -काठमाण्डुपाटीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया