असार २५, २०८२ बुधबार July 9, 2025

गोकुलेश्वर टि-२० क्रिकेटको उपाधि कैलपाललाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दार्चुलाको सीमाक्षेत्र गोकुलेश्वरमा सम्पन्न दोस्रो संस्करणको खुला गोकुलेश्वर टि-२० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लब,बैतडीले हात पारेको छ ।

गोकुलेश्वर खेल मैदानमा आज भएको फाइनल खेलमा कैलपालले सुशितम क्रिकेट क्लब,पन्ज्युनयाँलाई सुपर ओभरमा हराएको हो । दुबै टोलीले समान १३३ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

 सुपर ओभरमा पहिला  ब्याटिङ गरेको कैलपालले १२ रन बनायो । जवाफमा पन्ज्युनयाँले तीन रन मात्रै बनाउन सक्यो । त्यसअघि टर हारेर पहिला ब्याटिङ गरेको पन्ज्युनयाँ निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । जसमा सुदिप कार्कीले नटआउट ५४ रनको पारी खेले । कैलपालका महेश चन्दले चार विकेट हात पारेका थिए ।

जवाफमा कैलपालले १९ दशमलब ४ ओभरमा अलआउट हुँदै १३३ रन मात्रै बनाउन सक्यो । कैलपालका लागि प्रदीप चन्दले सर्वाधिक ४८ रन हिर्काएका थिए । पन्ज्युनयाँका गोपाल कार्कीले ३ विकेट झारे ।

उपाधिसँगै कैलापालले  ६५ हजार ५५५ पुरस्कार हात पा¥्यो  भने पन्ज्युनयाँले २५ हजार ५५५ मा चित्त बुझायो ।  प्रतियोगितामा तेस्रो भएको टिम बित्थडले ११ हजार ५५५ पुरस्कार पायो । म्यान अफ द फाइनल कैलपालका महेश चन्द भए ।
यस्तै म्यान अफ द सिरिजको उपाधि पन्ज्युनयाँका अशोक कार्कीले हात पारे । बेस्ट बलर पनि पन्ज्युनयाँका किरन कार्की भए भने ‘बेस्ट ब्याट्सम्यान’ निराजन ट्रेडर्स गोकुलेश्वरका खेलाडी दिनेश विष्ट चुनिएका छन् ।

प्रतियोगिताका ‘इमर्जिङ प्लेअर’पन्ज्युनयाँका १४ वर्षीय खेलाडी सुदिप कार्की भए । विजेता र उपविजेता खेलाडीलाई इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख, प्रहरी निरीक्षक अरुण बम, कुमारी बैंक, शाखा डिलाशैनीका प्रबन्धक नीरज खरेल र नागार्जुन क्रिकेट क्लबका अध्यक्ष करन विष्ट लगायतले पुरस्कार वितरण गर्नुभयो ।

 नागार्जुन क्रिकेट क्लबको आयोजनामा यही असोज १६ गतेदेखि सुरु भएको प्रतियोगितामा बैतडी, दार्चुला र डडेल्धुराका गरी १६ टोली सहभागिता रहेको थियो ।  यसअघि पहिलो संस्करणको उपाधि पिपलकोट क्रिकेट क्लब दोगडाकेदारलाई ४८ रनले पाखा लगाउँदै निंग्लाशैनी क्रिकेट क्लब(एनसिसि) देहिमाडौँले हात पारेको  थियो ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया