काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टोलीलाई बधाई दिएका छन्।
देउवाले बुधबार साँझ ट्वीट गर्दै नेपाली राष्ट्रिय फुटबल टीमलाई बधाई दिएका हुन्।
प्रधानमन्त्री देउवाले ट्वीटरमा लेखेका छन्, ‘हार्दिक बधाई तथा शुभकामना! साफ फुटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु।’
बुधबार माल्दिभ्समा भएको खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको हो।
खेलको ९ औँ मिनेटमा सुमन रेजाको गोलबाट बंगलादेशले सुरुवाती अग्रता लिएको थियो। तर नेपालले पेनाल्टीमार्फत खेलको ८८ औँ मिनेटमा बराबरी गोल फर्काउँदै उपाधि भिडन्त सुनिश्चित गरेको हो।
नेपालका लागि अन्जन विष्टले गोल गरे। साफ च्याम्पियनसिप फुटबलको इतिहासमा नेपालले पहिलो पटक फाइनलमा स्थान बनाएको हो।
आजै राति आयोजक माल्दिभ्स र भारतबीच खेल हुँदैछ। फाइनलमा स्थान बनाउन भारतलाई जित आवश्यक पर्नेछ भने माल्दिभ्सलाई बराबरी भए पुग्नेछ। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया