काठमाण्डौः नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफैंले गरेको तीन बुँदे सहमति कार्यान्वयनबाट सरकार पछि हट्न थालेको आरोप लगाएका छन् । तीन बुँदे सहमति भएको एक वर्षसम्म पनि कार्यान्वयन नभएको बताउँदै उनले सहमति कार्यान्वयन गर्न आनाकानी गरे फेरि विद्रोह हुने चेतावनी दिएका छन् ।
‘सहमति भएको एक वर्षसम्म पनि सरकार आफ्ना वाचा पूरा गर्न आनाकानी गरिरहेको छ,’ शनिबारदेखि धनगढीमा सुरु भएको दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै महासचिव विप्लवले भने, ‘सहमति कार्यान्वयन नगर्नु सरकारको कमजोरी हो । हामीलाई घेराबन्दी पार्न खोजे फेरि विद्रोह हुन सक्दछ ।’
उनले आफ्नो पार्टीसँग हतियार नभएको बताए । अहिले चौतर्फी रूपमा विप्लवसँग हतियार छ भन्ने आवाज उठ्न थालेको बताउँदै उनले आफ्नो पार्टीसँग कुनै हतियार नभएको बताए ।
‘सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउँदा कुनै चौकीमाथि हामीले आक्रमण गरेनौं,’ उनले भने, ‘न विदेशीसँग सहयोग माग्यौं । अनि कसरी हतियार हुन्छ । बिना प्रमाण किन आरोप लगाइँदै छ ?’
सरकारसँग वार्ता गरे पनि यो संविधान भने आफ्नो पार्टीले नमान्ने उनले बताए । वार्तामा संविधान मान्नुपर्छ भन्ने सहमति नभएको बताउँदै उनले आफूहरूको एजेण्डा जनमत संग्रह भएको बताए ।राजधानी दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया