श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एमालेमा केन्द्रीयता हाबीः ‘हाई कमान्ड’कै निर्देशनबमोजिम प्रतिनिधि छनोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एमालेले दसौं महाधिवेशनको नेतृत्व चयनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा स्थानीय तहदेखि सबै कमिटीमा केन्द्रीयता हाबी भएको छ। पार्टी ‘हाई कमान्ड’ (मूल नेतृत्व) ले सकेसम्म सबैतिर सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न निर्देशन दिएको र मातहतका कमिटीले पनि त्यसैलाई कार्यान्वयन गर्दा केन्द्रीयता हाबी भएको हो। पार्टी संकटमा रहेको र एमालेभित्र एकता कायमै रहेको देखाउनुपर्ने बाध्यतालाई ध्यान दिँदै हाई कमान्डले प्रतिनिधि छनोटका लागि सर्वसम्मत तरिका अपनाउन निर्देशन दिएको हो।

सबैभन्दा लोकतान्त्रिक विधि नै सर्वसम्मत विधि भएकाले पनि प्रतिनिधि छनोटमा यसलाई अपनाइएको एमाले नेताहरूले बताएका छन्। राति अबेरसम्म सबै जिल्ला र कमिटीहरूलाई सर्वसम्मत प्रतिनीधि छनोट गर्ने बाध्य पारिएको जिल्ला नेताहरूले बताएका छन्। शनिबार सर्वसम्मत नभएका स्थानमा भने आइतबारसम्ममा सर्वसम्मत रूपमै छनोट गरी केन्द्रमा प्रतिनिधिको नाम पठाउन पनि निर्देशन दिइएको छ। ‘सबै स्थानमा सर्वसम्मत गराउने निर्देशन छ, त्यहीअनुसार सबै कमिटीमा प्रतिनिधि छनोटको प्रक्रिया सर्वसम्मत हुन्छ,’ निर्वाचन प्रक्रियामा रहेका एक नेताले भने।

एमालेले करिब ८ लाख संगठित सदस्यबाट १ हजार ९ सय ९९ जना महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश छनोट गर्ने कार्यलाई सर्वसम्मत बनाइसकेको छ। एमालेले देशका सबै भौगोलिक, गैरभौगोलिक कमिटी, जनसंगठन र प्रवासमा शनिबार एकै दिन प्रतिनिधि छनोट सुरु गरेको थियो। केही जिल्लाले बिहीबार र शुक्रबार नै सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिसकेका पनि छन्। आगामी १० देखि १२ मंसिरमा चितवनमा हुने दसौं महाधिवेशनमा यसरी छनोट भएका १ हजार ९ सय ९९ प्रतिनिधिले पार्टीको मूल नेतृत्वसहित केन्द्रीय कमिटी सदस्यहरू निर्वाचित गर्नेछन्।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बिहीबार साँझबाट सुरु भएको प्रतिनिधि छनोट प्रक्रिया शनिबारसम्म आइपुग्दा अधिकांश स्थानमा सर्वसम्मत ढंगले चयन भइसकेको बताए।

निर्वाचनका लागि बिहीबारबाटै बहुसंख्यक जिल्लामा मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, फिर्तालगायतको प्रक्रिया सुरु भएको भए पनि सर्वसम्मत ढंगले प्रतिनिधि छनोटको प्रक्रिया अघि बढाउन केन्द्रको निर्देशन थियो। प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीहरूमा महाधिवेशन प्रतिनिधिका आकांक्षी धेरै भए पनि केन्द्रले दबाब दिएपछि निर्वाचन प्रक्रिया नबढाई सर्वसम्मतिको प्रक्रिया अवलम्बन गरिएको नेताहरूको भनाइ छ। तर, झापा, तेह्रथुम, उदयपुर, सोलुखुम्बु, प्रदेश १ सम्पर्क कमिटीलगायत स्थानमा राति अबेरसम्म सर्वसम्मत प्रतिनिधि छनोट हुन सकेको छैन। प्रदेश २ को महोत्तरी र सप्तरीमा शनिबार सहमति जुटेको छैन, जहाँ आइतबार मात्रै प्रतिनिधि छनोट हुनेछन्। धनुषा र सिरहामा सोमबार मात्रै प्रतिनिधि छनोट हुनेछन्। सुदूरपश्चिमका अधिकांश जिल्लामा प्रतिनिधि छनोटमा सहमति जुटिसकेको छैन।

शनिबार प्रतिनिधि छनोटका लागि तीन दिनअघिदेखि नै सर्वसम्मतिको प्रयास गरिएको थियो। आकांक्षीहरूको संख्या एकपछि अर्को गर्दै बढेपछि धेरैजसो जिल्लामा सर्वसम्मतिका लागि सकस भएको छ। तैपनि, पार्टी केन्द्रको निर्देशन कार्यान्वयनका लागि सम्बन्धित कमिटीका नेताहरू सर्वसम्मतिको प्रयासमा निरन्तर जुटिरहेको नेताहरूले बताएका छन्। केन्द्रीय सदस्य बन्न चाहने र सम्भावना भएका नेताहरूलाई सकेसम्म सर्वसम्मत गर्ने प्रयास गरिएको छ। तर, केही आकांक्षीले आफूहरूको अवसरमा नेताहरू सधैं बाधक रहेको गुनासो गरेर चुनावी प्रक्रियामा जान दबाब दिइरहेका छन्।

एमालेले यसअघि वडा र पालिका स्तरका सबै अधिवेशन सर्वसम्मत गराउन निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार सर्वसम्मत नेतृत्व चयन भएको थियो। त्यहीअनुसार अहिले प्रतिनिधि छनोटलाई पनि सर्वसम्मत गर्न निर्देशन दिएबमोजिम सबै तह यसको कार्यान्वयनमा जुटेका हुन्। ‘अहिले पार्टीलाई संकट परेको छ भनेर सबै तहमा सर्वसम्मत नेतृत्व छनोट गर्न पार्टीले निर्देशन दियो। हामीले त्यही पालना गरेका छौं,’ कानुनी पृष्ठभूमिका एक नेताले भने, ‘तर, महाधिवेशन प्रतिनिधि पनि सकेसम्म सर्वसम्मत भन्दै निर्देशन दिने काम भएको छ। यसले गर्दा भोलि केन्द्रमा पनि सर्वसम्मत गर्ने सोच होला।’ एमालेले अंगीकार गरेको ‘जनवादी केन्द्रीयता’मा जनवाद हराएर केन्द्रीयता मात्रै कायम हुन पुगेको ती नेताले बताए।नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार