काठमाडौं । श्री जन जौ कुमारी शाही प्राथमिक विद्यालय मनपाङ, तनहुँकी शिक्षिका अनिता पोखरेल वाग्लेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ।
वाग्लेले प्रावि शिक्षक पदमा नियुक्त हुन माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय वाराणसी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको झुट्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको खुलेको हो।
उनले प्राथमिक शिक्षकको रुपमा अस्थायी नियुक्ति लिँदा नक्कली प्रमाणपत्र पेश गरेको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको हो ।
नक्कली प्रमाणपत्र पेश गरी शिक्षण पेशामा संलग्न रहेको भन्ने उजुरीको आधारमा वाग्लेलाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानको क्रममा वाग्लेले नक्कली प्रमाणपत्र पेश गरी २०५६ साल मंसिर १० गते प्राथमिक शिक्षकको रुपमा अस्थायी नियुक्ति लिई २०७५ साल चैत्र ८ गतेसम्म विद्यालयमा कार्यरत रही सार्वजनिक पदको लाभ तथा सुविधा प्राप्त गरेको देखिएकोले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग दाबीसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया