हेटौंडा । प्रदेशसभामा प्रदेश ३ को नामका लागि एउटा मात्र प्रस्ताव दर्ता भएको छ । राजधानीमा भने हेटौंडाका साथै काभ्रेको धुलिखेलको पनि प्रस्ताव दर्ता भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रमुख विपक्षी नेपाली कांग्रेस राप्रपा र राप्रपा संयुक्तले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा राख्न संयुक्त प्रस्ताव दर्ता गरेका छन् । यस्तै तीन सांसद भएको विवेकशील साझा पार्टीले भने प्रदेशको स्थायी राजधानी काभे्रलाई बनाउन प्रस्ताव दर्ता गरेको छ ।
स्वतन्त्र सांसद प्रेमबहादुर तामाङ पनि प्रदेशको नाममा छुट्टै प्रस्ताव दर्ता गर्न चाहन्थे । उनलाई प्रदेशको नाम नेवाः तामसालिङ प्रस्ताव गर्दै फारम पनि भरेका थिए ।
तर समर्थक नै भेटेनन् । प्रदेशसभाका कुनै पनि सदस्यले प्रदशेको नाम र राजधानीबारे प्रस्ताव दर्ता गर्दा दुईजना प्रदेशसभा सदस्य समर्थक चाहिने व्यवस्था छ ।
हिजोसम्म प्रदेश ३ को नाम नेवाः तामसालिङ राख्नुपर्छ भन्ने सांंसदहरु पार्टी हृवीपका कारण समर्थक समेत बस्न नमानेको प्रदेशसभा सदस्य तामाङले बताएका छन ।
प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले खल्तीबाट प्रस्ताव फारम झिकेर देखाएका थिए। जातीय पहिचानका लागि रगत बगाएकाहरु समेत पहिचानको एजेन्डा छाडेको भन्दै व्यङ्ग्य गरे, रातामान्छेहरुलाई रातै सलाम ।’
प्रदेशसभामा दर्ता हुन नपाएको प्रस्तावलाई मुटुभित्रै सजाएर राख्ने उनले सुनाएका थिए ।
प्रदेशको नाम र राजधानीबारे प्रदेशसभाको छलफल भने शनिबार नै सकिएको छ ।
छलफलमा नेपाल मजदुर किसान पार्टीका प्रदेशसभा सदस्य समेत प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमतीमा समर्थन जनाएका छन् । नेमकिपाका साँसद सुरेन्द्रराज गोसाँइले संघीयताको मर्म र विकेन्द्रिकृत राज्य सञ्चालनको व्यवस्था अनुसार प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा र सभ्यता र मौलिकताको आधारमा प्रदेशको नाम बागमती उपयुक्त हुने बताएका छन ।
विवेकशील साझाले भने प्रदेशको केन्द्र जनताको लागि हेटौंडा अपायक पर्ने तर्क गरेको छ । उसका तीन प्रदेशसभा सदस्यले स्थायी राजधानी काभ्रेको धुलिखेल प्रस्ताव गरेका छन् । छलफलमा भाग लिदै विवेकशीलका बिराजभक्त श्रेष्ठले जनताको घर आँगनमा सरकारलाई पुर्याउन र प्रदेश सरकारको प्रत्याभूति दिन काभ्रेको पक्षमा मतदान गर्न आग्रह गरेका छन । प्रदेशसभा सदस्य शोभा शाक्यले रसुवा, दोलखाका जनताले हेटौंडालाई बत्ति बालेर खोज्दा पनि नभेट्ने भन्दै रोस्टममा मोबाइलको लाइट बालेर बिरोध जनाइन् ।
प्रदेशसभाका ११० सदस्यमध्ये नेकपा, नेपाली कांग्रेस, नेमकिपा, राप्रपा र राप्रपा संयुक्त गर्दा १०५ जना प्रदेशसभा सदस्य स्थायी राजधानी हेटौंडाको पक्षमा छन् भने काभ्रेको पक्षमा विवेकशील साझाको तीनजना सांसद मात्रै रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया