काठमण्डौंः मधेस प्रदेश सरकारले जनकपुरधाममा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मतदानमा सहभागी हुन आएका प्रतिनिधिको सवारीसाधनमा ताेडफाेड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि काराबाहीकाे निर्देशन दिएकाे छ ।
मधेस प्रदेश सरकरका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले विज्ञप्ति जारी गर्दै ताेडफाेड र सांघातिक आक्रमण घटनाको वास्तविक छानविन गरी सम्बन्धितलाई क्षतिपूर्ति उपलब्ध गराउन एवम् दोषी उपर कार्वाही गर्न प्रदेश सरकार तालुक निकायलाई निर्देशित दिएका हुन् ।
पूर्वघोषित विरोधका कार्यक्रम नरहेको अवस्थामा पनि प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिका मेयर, उपमेयर, जलेश्वर अस्पतालका मेसु डा सतिश साह लगायतका व्यक्तिमाथि मंगलबार आक्रमण भएकाे प्रदेश सरकारले जनाएकाे छ ।
‘घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राखि अहिंसात्मक तवरबाट आफ्नो विचार एवम् अभिमत प्रकट गर्न जनमत पार्टी लगायत सम्वद्ध सबैमा प्रदेश सरकार आग्रह गर्दछ,’ अर्थमन्त्री साहद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।
यस्तो छ मधेश प्रदेश सरकारको विज्ञप्तीको पूर्णपाठः
प्रेस वक्तव्य
मितिः २०७८।१०।१२
आज मिति २०७८ माघ १२ गते जनकपुरधाममा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदानमा सहभागी हुन विभिन्न स्थानहरुबाट आउनु भएका जनप्रतिनिधिहरुको सवारी साधनमा जनमत पार्टीका कार्यकर्ताहरुद्वारा गरिएको तोडफोड एवम् हिंसाजन्य गतिविधि प्रति मधेश प्रदेश सरकारको गम्भिर ध्यानाकर्षण भएको छ । पूर्व घोषित विरोधका कार्यक्रमहरु नरहेको अवस्थामा पनि प्रदेश सभा सदस्य माननीय अशोक यादव, हरिवन नगरपालिका मेयर, उपमेयर, जलेश्वर अस्पतालका मे.सु डा. सतिश साह लगायतका व्यक्तिहरुमाथि गरिएको संघातिक आक्रमण एवम् सवारी साधनमा गरिएको तोडफोड घटनाको वास्तविक छानविन गरी सम्बन्धित जनप्रतिनिधि एवम् चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउन एवम् दोषी उपर कार्वाही गर्न प्रदेश सरकार तालुक निकायलाई निर्देशित गर्दछ । लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राखि अहिंसात्मक तवरबाट आफ्नो विचार एवम् अभिमत प्रकट गर्न जनमत पार्टी लगायत सम्वद्ध सबैमा प्रदेश सरकार आग्रह गर्दछ ।
शैलेन्द्र प्रसाद साह
प्रवक्ता एवम् अर्थमन्त्री
मधेश प्रदेश, जनकपुरधाम
सम्पर्कः ९८४२८२१७९१
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया