रूपमा आफ्नो व्यक्तिगत अयोग्यताका लाजलाई ढाक्न जसरी एउटा वा अर्को अतिवादतिर रुझान देखाइरहेका छन्, त्यसले गर्दा आफूले नेतृत्व गर्ने पार्टीको ‘डीएनए’ नै फेरिने प्रक्रिया पनि सायद सुरु भइसकेको छ । सायद उनीहरूलाई यो यात्राको वैचारिक गन्तव्य के हो या यसको गन्तव्य नै छ कि छैन भन्ने पनि थाहा छैन । र, आफ्नो असरल्ल पोखिइरहेको अयोग्यताको लाजले उनीहरू विभिन्न विशेषताका अतिवादलाई आफ्ना पार्टीमा समाहित बनाउन प्रवृत्त भएका छन् ।
जति समावेशी हुन खोजे पनि सबै पात्रको विवेचना गर्नका लागि ठाउँ त पुग्दैन नै, त्यसैले सबैभन्दा ठूलो पार्टीका अध्यक्ष केपी ओलीबाट सुरु गरौं । ओलीको सबैभन्दा ठूलो राजनीतिक ‘उपलब्धि’ भनेको एमालेको अध्यक्ष र प्रधानमन्त्री हुनु अनि त्यसपछि माओवादीसँग पार्टी एकता गरेर नेकपा गठन गरी ‘७० वर्षको नेपाली कम्युनिस्ट सपना’ लाई साकार पार्नु थियो । त्यसबीच भारतीय नाकाबन्दीका बेला अडान र संविधान जारी गर्ने बेलाको भूमिका उनको लेगेसीसँग जोडिन सक्ने कुरा थिए । र, उनको संघर्षको इतिहास के हो त भन्दा, उनी चौध वर्ष जेल बसेका मान्छे हुन् । अब यी सबै कुरालाई एकैछिन् गहिरिएर सोचौं ।
विगतका वर्षमा उनले पटकपटक सार्वजनिक रूपमा भनेका छन्- उनी लोकतन्त्रका लागि त्यत्रो समय जेल बसेका थिए । जबकि उनी २०४४ सालमा जेलबाट निस्कँदासम्म तत्कालीन नेकपा मालेमा लोकतान्त्रिक भँगालोमा मिसिने कि नमिसिने भन्ने बहससम्म सुरु भएको थिएन । उनी जेल बसेको ‘साम्यवाद’ का लागि थियो, लोकतन्त्रका लागि थिएन । तर मूल विषय त्यो होइन । एउटा सिद्धान्तका लागि जेल बसेको राम्रो, अर्कोका लागि बसेको कस्तो भन्ने विषय पनि छुट्टै बहसको कुरा हो । अहिलेको सन्दर्भ के हो भने, ओलीलाई भित्रभित्र कति पीडा हुँदो हो कि उनी जुन कारणका लागि त्यति लामो समय जेलमा बसे, उनी आफैंले त्यो कारण स्वयंलाई अहिले बंग्याएर भन्नुपरेको छ । हैन, यदि उनलाई त्यो साँच्चै लोकतन्त्रकै लागि थियो भन्ने लाग्छ- किनकि वामपन्थीले पनि त जनवाद भनेकै हुन्छन्- भने फेरि माओवादी ‘जनयुद्ध’ देखि अहिलेका अरू फुटकर कम्युनिस्टसम्मले गरेका सबै ‘संघर्ष’ पनि त्यही लोकतन्त्रका लागि हुन् त जुन अहिलेको संविधानले आत्मसात् गरेको छ ? होइनन् ।
हुन त त्यो सुरुदेखि नै कृत्रिम थियो । तर एमाले र माओवादीको ऐतिहासिक भनेर बिगुल फुकिएको एकता जोगाउने क्षमता ओलीमा एकरती देखिएन । त्यति मात्र भए पनि हुन्थ्यो । ‘एकता’ अघिको त्यस्तो सग्लो एमाले, जसको जिम्मा कार्यकर्ताले उनलाई दिएका थिए, छिन्नभिन्न भएको छ । उनको आफ्नै अर्को लेगेसी थियो, पार्टीभित्र माओवादी उग्रताको डटेर विरोध गर्ने । अब त्यही उग्रताभित्रका पनि उग्र रामबहादुर थापा ‘बादल’ लाई आफ्नो उपाध्यक्ष अनि टोपबहादुर रायमाझी र लेखराज भट्टलाई नेतृत्वमा ल्याएपछिको एमाले अध्यक्षले माओवादीका तत्कालीन क्रियाकलापप्रतिका आफ्ना पूर्वकठोरतालाई सधैं संशोधन गर्नुपर्नेछ । किनकि तिनै माओवादी अब एमाले हाँक्ने सहजिम्मेवारीमा आएका छन् । आफ्नो अयोग्यताका कारण जोगाउन नसकेको नेकपाको र एमाले स्वयंको एकतालाई बादल र भट्टहरूले ल्याउने दुई–चार सय कार्यकर्ताले कति टाल्लान्, देखिइहाल्ने नै छ । तर यहाँनेर पनि महत्त्वपूर्ण प्रश्न एमाले आगामी चुनावमा कत्रो पार्टी होला भन्ने होइन । मूल कुरा, एमाले सीके राउतदेखि नेत्रविक्रम चन्द ‘विप्लव’ सम्म र राप्रपाबाट उछिट्टिएकादेखि हरेक कित्ताका, ओलीकै पहिलेका शब्दमा, उग्रवादी र अतिवादीजतिसँग समीकरण गर्ने तत्परताको सम्भावना देखाएर आफ्नो डीएनए नै फेर्ने बाटोमा जान लागेको हो ? एउटा मार्क्सवादी पार्टीको नेता र कमरेडबाट घटुवा भएर ‘बा’ बन्न चाहन्छÙ मौका पर्नासाथ इतिहासलाई हेर्ने दृष्टिकोणमा मार्क्सवाद कम, पूर्वीय दर्शनको विशालता आफ्नो आदर्श भएको हाकाहाकी भन्छ र बजारमा उपलब्ध सबै खाले कन्जरभेटिभलाई आफ्नो पार्टीमा स्वागत गर्न तत्पर रहन्छ भने त्यो पार्टीको आत्मा त्यही नै रहन्छ जुन पहिले थियो ?
ओली आफैंले नेतृत्वदायी भूमिका खेलेर बनाएको संविधानलाई आफैंले असंवैधानिक रूपमा संसद् विघटनको प्रयास गरेर खण्डित गरे । नाकाबन्दीका बेलाको राष्ट्रवादी अडान प्रधानमन्त्री छँदै गोप्य रूपमै खुफिया प्रमुखमार्फत फिर्ता गरे । सग्लो पार्टीलाई विभाजनमा जाने बनाए । यो सबै असफलता र अयोग्यताको लाजले अहिले उनी कसका मित्र हुन् र कसका होइनन्, थाहै छैन । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारे यसरी थाहै हुन छाडेको भने ओलीको भन्दा पनि धेरै लामो समय भयो । प्रचण्डले नेतृत्व गरेको ‘जनयुद्ध’ सुरु गर्दाको मूल भाष्य थियो- संसदीय प्रजातन्त्रमा यति धेरै विकृति देखिए कि यसबाट हुँदै हुँदैन । इतिहासको व्यंग्य नै भनौं, २०६३ पछि नेपालको लोकतन्त्रलाई पहिलेको भन्दा पनि विकृत बनाउने अभियानको नेतृत्व पनि प्रचण्ड स्वयंले गरिराखेका छन् । नेपाललाई गणतन्त्रमा लगेको जस पनि उनले दाबी गर्न मिल्दैन । किनकि उनले त सकेसम्म राजासँग मिलेर संसद्वादी पार्टीलाई पाखा लगाई आफू सत्तामा आउन खोजेका रहेछन् भन्ने कुरा अब सार्वजनिक रूपमै स्विकारिएका तथ्य भएर स्थापित छन् ।
माओवादी आन्दोलनले अल्पसंख्यक र पछाडि पारिएका समुदायका मुद्दालाई बहसको अग्रस्थानमा ल्याएको त हो तर सत्ता राजनीतिमा आएपछिको माओवादी नेतृत्वको आफ्नै सांस्कृतिक पतनको गहिराइ र विचलनका अनगिन्ती शृंखलाले गर्दा उसले ती मुद्दामा आफ्नो स्वामित्व दाबी गर्ने वैधता गुमाइसकेको छ । भन्न त परिवर्तनको नेतृत्वकर्ता दुई जनामध्ये एक भनेर आफूलाई गिरिजाप्रसाद कोइरालासँग मौका पाउनासाथ जोडिहाल्छन् प्रचण्डले, तर शान्ति प्रक्रिया सुरु भएपछिको उनको अयोग्यताले गर्दा उनलाई अस्थिर राजनीतिकर्मीको पदवी दशकअगाडि नै मिलेको थियो । अहिले उनको हैसियत केवल राजनीतिक ओत खोज्ने एक अलपत्र पात्रका रूपमा खुम्चिएको छ । माओवादी आन्दोलनको व्यावहारिक अवस्था भनेको यसको विसर्जन भई नै सक्यो । यस्तो स्थितिमा आफ्नो अयोग्यताको लाजले प्रचण्ड थप जता पनि ढल्किन सक्छन्, जे पनि बोल्न सक्छन् र जसका पनि हुन सक्छन्Ù आफूले जसका लागि लडें भनेका थिए, ती जनताको बाहेक । राजनीतिमा टिक्ने अहिलेका उपाय पनि सकिए भने भविष्यमा उनले माओवादीले बिसाइसकेका इतिहासका अतिवादतर्फ फर्कने कोसिस फेरि गर्न सक्नेछन् ।
सानोतिनो जस्तो भए पनि आफ्नो राजनीतिक स्पेस बनाउनका लागि शरण खोजेका सीके राउतदेखि विप्लवसम्मको मात्र कुरा कहाँ भयो र ? तिनीहरूको सुरुवात नै असफल हुन योग्य थियो र भई नै सक्यो । उनीहरूले अब गर्ने भनेकै आफूतिर ध्यान खिच्न सक्ने दुई–चारवटा केही ‘स्टन्ट’ र ओली वा त्यस्तै कुनै बहुरूपी राजनीतिक मानस पिताको काख लागेर केही ‘हासिल’ गर्ने हो । तर आफूलाई मधेश आन्दोलनको एक मात्र वैधानिक प्रतिनिधि दाबा गर्ने उपेन्ı यादवदेखि महन्थ ठाकुरसम्म एकातिर र आफ्नो इतिहास अर्कातिर भएका छन् । ठाकुर र राजेन्ı महतो मधेस आन्दोलनप्रति सबैभन्दा बढी अनुदार शक्तिसँग सत्तामा मात्र नभएर मानसिक रूपमै जुन दिनदेखि जसरी ऐक्यबद्ध भए र जुन बाह्य शक्तिप्रति उनीहरू अहिले पनि नतमस्तक नै छन् भन्ने देखाए, त्यसपछि उनीहरू आफ्नो अयोग्यताका लागि अरूलाई दोष दिनेबाहेक अन्य विकल्प नभएको स्थितिमा पुगेका छन् ।
हुन त सुरुमै चर्चा गरेको भए पनि हुने थियो तर अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पृष्ठको जुन ठाउँमा लगेर राखे पनि हुन्छ । पछि इतिहासको किताबमा उनलाई खोज्दा उनी भएको पन्ना हुने पनि अध्यायको कतै पुच्छरतिरै हो । किनकि प्रधानमन्त्री त सायद पाँचौंपटक भएका छन् क्यारे, अहिले र भविष्यमा पनि होलान्, तर इतिहासले उनलाई सम्झिने प्रत्येक पटक प्रधानमन्त्री हुँदा उनले कुनचाहिँ पटक केके बिगारेका थिए भनेर हो । उनको स्वर्णिम काल त्यही हुने पक्का छ जुनमा उनले खासै केही पनि (काम) गरेनन् । किनकि उनी २०५२ सालमा पहिलो पटक यो पदमा गएदेखि अहिलेसम्म त्यहाँ गएको केवल त्यहाँ जानका लागि मात्र हो । के गर्न नेतृत्वमा जाने भन्ने उनले कहिल्यै बताउनुसमेत परेको छैन । कांग्रेस पंक्तिको सामूहिक असफलता र अयोग्यताको सिँढी नै उनका लागि सफलताको एकल बाटो भएको छ, पटकपटक । त्यसैले उनी सत्ता सुरक्षाका लागि मिल्नुपर्ने सबैसँग त्यसरी नै मिल्छन् जसरी अहिलेसम्म मिल्दै आएका छन् ।
सत्तामा जानका लागि बाटो बनाउन र त्यहाँ गएपछि गरेका सम्भावित अपराधको जवाफदेहीको मूल्य भविष्यमा चुकाउनुपर्ने भयले गर्दा राजनीतिकर्मीमा अयोग्यताले ल्याउने असुरक्षाभाव आम मानिसको भन्दा गहिरो हुन्छ । त्यसैले उनीहरू आफू केका लागि राजनीतिमा आएको थिएँ भन्ने त सजिलै बिर्सिन्छन् । अनि उनीहरूको एक मात्र ध्याउन्न कुन हिसाबमा सानोतिनो शक्ति आर्जन गरिरहने भन्ने मात्र हुन्छ, जसका कारण प्रकट हुने उनीहरूको विक्षिप्ति र निजी कुण्ठाको परिणाम देशले चुकाउनुपरिरहेको मूल्यमा परिणत भइहाल्छ । लेखमा उदाहरणस्वरूप चर्चा गरिएका केही पात्रबाहेक अरूलाई पनि सम्झौं त, कति छन् नेपालमा आफ्नो अयोग्यताको लाजले ‘पपुलिजम’ र अतिवादतर्फ लागेका/ लाग्न खोजेकाहरू ? कान्तिपुर
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया