जेठ ६, २०८१ आइतबार May 19, 2024

जन्तेढुंगा गाउँपालिकामा पुमा भाषाको पाठसंकलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खोटाङको जन्तेढुंगा गाउँपालिकामा पुमा भाषाको पाठसंकलन गोष्ठी गरिएको छ । पुमा भाषाको संरक्षण र संवद्र्धनका लागि अभिलेखीकरण गर्न किरात पुमा राई तुप्खाबाङ्खाला केन्द्रीय कार्यसमितिको संयोजनमा भाषा आयोग शंखमुल, काठमाडौंले पुमा भाषा अभिलेखीकरण सम्बन्धी गोष्ठी आयोजना गरेको हो । लोपोन्मुख बनेको पुमा राई भाषालाई अभिलेखीकरण गर्दै जीवन्त बनाएर राख्नका लागि पाठसंकलन कार्यक्रम गरिएको भाषा आयोगका प्रवक्ता उपसचिव गेहेन्द्रनाथ गौतमले बताए ।

जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङको निगालावासस्थित पैयाँटार प्राविमा शुक्रबार पुमा भाषा वक्तालाई भेला गरेर भाषा संकलन गरिएको हो । भाषाविद् डा. तारामणि राई, अनुसन्धानकर्ता माया राई, किरात पुमा राई तुप्खाबाङ्खाला केन्द्रीय कार्यसमिति सदस्य ध्रुवकुमार राई लगायतको सहजीकरणमा पुमा भाषाको पाठसंकलन गरिएको हो । भाषा संरक्षण कार्यक्रम अन्तरगत पुमा भाषाको पाठसंकलन सम्बन्धी प्रतिवेदन तयार पारेर बुझाइने आयोगका प्रवक्ता गौतमले बताए ।

खोटाङको १० स्थानीय तहमध्ये जन्तेढुंगा र बराहपोखरी गाउँपालिकामा पुमा राईको बसोबास रहेको छ । पुमा राईको सघन बसोबासको आधारमा जन्तेढुंगामा पुमा भाषाको पाठ्यक्रम लागू भइरहेको किरात पुमा राई तुप्खाबाङ्खाला जिल्ला कार्यसमिति खोटाङका सदस्य डिल्लीसेर राईले बताए ।

जन्तेढुंगा गाउँपालिकाले शैक्षिक–सत्र २०७७/०७८ देखि स्थानीय भाषाको पाठ्यक्रम अन्तरगत १८ विद्यालयमा पुमा र १८ विद्यालयमा वान्तवा भाषामा पठन–पाठन सुरु गरिसकेको छ । विद्यालयमा ६० प्रतिशत पुमा र वान्तवा भाषा बोल्ने विद्यार्थी अध्ययनरत रहेको तथ्यांकका आधारमा पुमा र वान्तवा भाषाको पाठ्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया