जेठ ६, २०८१ आइतबार May 19, 2024

दक्ष जनशक्ति उत्पादन गर्न सार्वजनिक र निजी क्षेत्रले सङ्कल्प गर्नुपर्छ : शिक्षामन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ ।

निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) को नेपालगञ्जमा जारी सातौँ महाधिवेशनमा बोल्दै सार्वजनिक तथा निजी शिक्षण संस्थाले दक्ष जनशक्ति उत्पादन गर्नेमा सङ्कल्प गर्नुपर्ने बताउनुभयो ।

राज्यको ३० प्रतिशत व्ययभार बोकेको निजी शिक्षण संस्थाले विद्यार्थीलाई संस्कार र संस्कृति सिकाउनुपर्ने बताउँदै वर्तमान अवस्थामा संस्कार र संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

“विज्ञहरूले नैतिक शिक्षा विषयका रुपमा राख्नुपर्छ भन्नुभयो भएको छ,” उहाँले भन्नुभयो, “आजभोलि समाजमा अराजकता, अश्लीलता बढेर गएको छ, जिम्मेवारीबोध कम हुने, अधिकारको खोजी मात्रै हुने, आफ्नो भूमिकालाई विर्सर्ने संस्कार र संस्कृति बढेर गएको छ, यसलाई नियमन गर्ने भनेको शिक्षा हो ।”

शिक्षालाई व्यवस्थित गरी उत्पादन जनशक्तिलाई अनुशासन बनाउन सके बिग्रिँदै गएको संस्कार र संस्कृतिलाई लयमा फर्काउन सकिने बताउनुभयो । मन्त्रालयले कुनै पनि शिक्षालाई विभेद नगर्ने बताउँदै बन्दै गरेका ऐनमा शिक्षामैत्री बन्ने बताउनुभयो ।

१० वर्षे शिक्षाका योजनाहरू सार्वजनिक गरेको बताउँदै मन्त्री पौडेलले निजी क्षेत्रको सम्पत्ति सुरक्षा गर्ने राज्यको दायित्व भएको बताउनुभयो ।

राज्यको तर्फबाट प्रचलित कानुन अनुसार सबैलाई समेटेर जाने बताउँदै उहाँले प्रदेश र स्थानीय तहलाई अधिकार दिने विषयमा कञ्जुसाई नगर्ने बताउनुभयो ।

“शिक्षक महासङ्घ गरेको सहमतिले स्थानीय तहको अधिकार खोसियो भनिएको छ”, उहाँले भन्नुभयो, “नियमअनुसार प्रदेश र स्थानीय तहसँग समन्वय गरी अघि बढ्छौँ, अधिकार खोस्दैनौँ ।”

५५ बुँदे कार्ययोजना सार्वजनिक गरी नीतिगत सुधारमा लागेको बताउँदै मन्त्री पौडेलले ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहु प्राविधिक शिक्षा पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो ।

सार्वजनिक शिक्षण संस्थाहरूको भवनसँगै शैक्षिक गुणस्तरका लागि मन्त्रालयले योजना बनाएर लागेको बताउँदै आगामी तीन वर्षभित्र सार्वजनिक विद्यालयका भवनसँगै आइसिटी बन्ने उद्घोष गर्नुभयो ।

सङ्कल्प, लगनशीलता र अनुशासनले मात्रै शिक्षा प्रणाली सुधार्न सकिने बताउँदै एक अर्काले सम्मान गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

आजदेखि शुरु भएको सातौँ महाधिवेशनले  भोलि नयाँ नेतृत्व छान्ने छ । २०५४ सालमा स्थापना भएको संस्था हाल ४७ जिल्लामा फैलिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया