कार्तिक २८, २०८३ शनिबार November 14, 2026

७ अर्ब २६ करोड बराबरको आईपीओ आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्राथमिक निष्कासन (आईपीओ) मा लगानी गर्ने सोचमा हुनुहुन्छ भने पैसाको जोहो गर्न थालिहाल्नुस् । तपाईंका लागि प्रतिकित्ता एक सय रुपैयाँका दरले आईपीओमा लगानी गर्न पाइने यो राम्रो अवसर हुन सक्छ । सेयर निष्कासन अनुमतिका लागि करिब २६ कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिइसकेका छन् ।

बोर्डबाट अनुमति पाएपछि ती सेयर बजारमा आउनेछन् । बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

बोर्डमा मंगलबारसम्म आवेदन दिएका विभिन्न क्षेत्रका २६ कम्पनीले ७ अर्ब २६ करोड ६९ लाख २८ हजार ९ सय रुपैयाँ बराबरको (६ करोड ५९ लाख ४९ हजार २ सय ८९ कित्ता) आईपीओ निष्कासन गर्न लागेका हुन् । यसअनुसार २० वटा जलविद्युत् कम्पनी, ३ वटा लघुवित्त, दुई वटा बिमा र एउटा ‘अन्य’ क्षेत्रका कम्पनी छन् । हाल सेयर निष्कासन अनुमति प्रक्रियामा रहेका जलविद्युत् कम्पनीमध्ये धेरैजसोले स्थानीय र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेका हुन् ।

बोर्डका पूर्वअध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेपछि करिब ६ महिनासम्म नयाँ कम्पनीले आईपीओ अनुमति पाएका थिएनन् । कम्पनीहरूको दबाबका कारण तीन साताअघि बोर्ड सञ्चालक समितिको निर्णयअनुसार ५ वटा समूहलाई आईपीओ अनुमति दिएको थियो । उक्त अनुमति विवादमा परेपछि त्यसयता बोर्डले थप अनुमति दिएको छैन । त्यति बेला बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चर लिमिटेड, जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले बुधबार आईपीओ निष्कासन अनुमति पाएका थिए ।

बोर्डले भने प्रक्रिया पुगेका कम्पनीहरूको आईपीओ नरोकिने दाबी गरेको छ । प्रक्रियामा रहेका कम्पनीलाई धमाधम निष्कासन स्वीकृति दिने धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए । ‘कतिपय कम्पनीले प्रक्रिया नै पुर्‍याउन नसक्दा स्वीकृति दिन नसकिएको हो,’ उनले भने, ‘आवश्यक डकुमेन्ट पूरा गर्नेलाई हामी अब तुरुन्त स्वीकृति दिन्छौं । फाइलहरू हेर्ने कामले अब गति लिन्छ ।’

सेयर बजारमा ४७ वटा जलविद्युत् कम्पनी सूचीकृत छन् । चालु आर्थिक वर्षमा यस्तो संख्या बढेर ६५ भन्दा बढी पुग्ने देखिन्छ । सेयर निष्कासन गरिसके पनि सूचीकृत नभएका, निष्कासन तयारीमा रहेका र निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनी संख्या हेर्दा चालु आर्थिक वर्षभित्रै सेयर बजारमा सूचीकृत कम्पनी संख्या उल्लेख्य रूपमा बढ्ने देखिन्छ ।

नेपालमा निर्माणको चरणमा धेरै जलविद्युत् कम्पनी रहेकाले पनि पछिल्ला दिनमा सेयर जारी गर्नेमध्ये धेरै जलविद्युत् कम्पनी देखिएका छन् । नेपाली पुँजी बजारमा बैंक तथा वित्तीय संस्थाको प्रभुत्व बिस्तारै घट्दो क्रममा छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र बिमाको हिस्सा घट्दै जानु र जलविद्युत्लगायत अन्य उपसमूहको हिस्सा बढ्दै जानुले यो पुष्टि हुन्छ । विगतका वर्षमा पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूको हिस्सा ८० देखि ९० प्रतिशतसम्म थियो ।

यद्यपि पछिल्ला वर्षमा यस्तो हिस्सा घट्दो क्रममा छ, जसअनुसार गत पुससम्म सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्रमा बजार पुँजीकरण हिस्सा ६७.१ प्रतिशत छ । २०७७ पुससम्म यस्तो हिस्सा करिब ७२ प्रतिशत थियो । गत पुससम्म जलविद्युत् कम्पनीहरू आबद्ध रहेको जलविद्युत् उपसमूहको हिस्सा १०.६ प्रतिशत छ । अघिल्लो वर्षको पुससम्म यस्तो हिस्सा ६.४ प्रतिशत थियो ।

जलविद्युत् कम्पनीले कम्तीमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयलाई दिनुपर्छ । स्थानीयलाई सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्नुपर्छ । नयाँ व्यवस्थाअनुसार जलविद्युत्लगायत उत्पादनमूलक क्षेत्रका कम्पनीले आयोजना प्रभावितबाहेक थप कम्तीमा १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्छ । सेयर बजारमा अपेक्षित रूपमा उत्पादनमूलक (वास्तविक) क्षेत्रका कम्पनी भित्र्याउन नसकेको आरोप सरकार र नियामक निकायलाई लाग्ने गरेको छ । जलविद्युत् कम्पनीको संख्या बढेसँगै सेयर बजारमा वित्तीय क्षेत्रका कम्पनीको प्रभुत्व घट्ने जानकारहरूको भनाइ छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार