वैशाख १६, २०८१ आइतबार April 28, 2024

बझाङमा चैतोली मेला सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिमकै प्रसिद्ध मेलामा पर्ने चतोली बझाङको छबिसपाथिभेरा गाउँपालिका-३ मा सुरु भएको छ ।

तीन वटा लुङ्गो (काँकर) को प्रदर्शनी र भकुण्डो चैतोलीका मुख्य आकर्षक मानिन्छन् । त्यसका अलावा देउडा गीत र अन्य कार्यक्रम पनि चैतोलीका अवसरमा सञ्चालन हुने गर्दछन् ।

१३ दिन अघि पर्ने चैते कृष्ण औँसी तिथिका दिन लेकबाट ल्याइने तीन वटा लुङ्गो (काँकर) लाई चैत शुक्ल त्रयोदशी तिथिमा प्रदर्शनी गर्ने गरिन्छ ।

१३ दिन अघि अर्थात् कृष्ण औँसी तिथिका दिन बझाङको बविस पाथिभेरा गाउँपालिका-२ र तीनका तीन गाउँ (बोहरा गाउँ, धामी गाउँ र मुम्ला गाउँ)का मानिस (पुरुष मात्रै) छुट्टाछुट्टै समूह बनाएर लेक तर्फ जाने गर्दछन् । तीन वटै गाउँलेको समूहले लेकमा तीन वटा धुपी सल्लाको लामो र बांङ्गो नभएको रुख (लुङ्गो) काट्ने गर्दछन् । सो रुखको फेदमा बोकाको बली समेत दिइने गरिनछ ।

सो लुङ्गोलाई तीन वटै गाउँलेले रातभरि बोकेर दोस्रो दिन आ-आफ्नो गाउँमा पुर्‍याउने गरिनछ । तर लुङ्गो गाउँ पुग्दा सम्म भाँचिएको हुन हुँदैन । गाउँ पुर्‍याउँदा सम्म लुङ्गोको टुप्पा सम्म कुनै असर भएको हुन हुँदैन । टुप्पाको केही अंस भाँचिएमा पनि अर्को रुख काट्ने प्रचलन छ । कहिले काहीँ बाटोमा लुङ्गो भाँचिने र फेरी अर्को रुख काट्नुपर्ने अवस्था आएमा लेकमा गएका गाउँले तीन चार दिन सम्म पनि उतै बस्नु पर्ने अवस्था आउँछ । लुङ्गो ल्याउन गएका मानिसले सम्बन्धन स्थानमा लुङ्गो नपुर्‍याई घर फर्कन नपाइने परम्परा रहेको छ ।

औँसिका दिन ल्याइएको लुङ्गोलाई तीन वटा गाउँलेले १३ दिन सम्म सजाउने गर्दछन् । सजाइएको लुङ्गोलाई चैत शुक्ल त्रयोदशी तिथिमा प्रदर्शनी गर्ने गरिन्छ । चैतोली मेलामा बझाङ जिल्ला सहित सुदूरपश्चिमका सबै जिल्ला तथा भारतको उत्तर प्रदेशबाट समेत गरी १० हजार बढी मानिस आउने गर्दछन् । जहाँ महिला, पुरुष, बालबालिका, वृद्धवृद्धा सबैको उपस्थिति हुने गर्दछ ।

लुङ्गो प्रदर्शनी हुम्लाका गाउँलेले बाट सुरु हुने गर्दछ । मुम्ला छबिसपाथिभेर गाउँपालिका-२ मा पर्दछ । जुम्लाबाट पर्दशनी थालिएको लुङ्गो करिब दुई घण्टापछि छबिसपाथिभेरा गाउँपालिका-३ पाटागाउँको (झोडाखेल्ना) भन्ने स्थानमा पुर्‍याइन्छ । काँकरसँगै तीन वटै गाउँलेका पञ्चे बाजा बजाइन्छ । बाजाले जात्रामा छुट्टै आनन्द दिएको हुन्छ ।

मुम्लाको काँकर (लुङ्गो) पाटागाउँ पुर्‍याइए पछि केही समय रोकिन्छ । सो काँकर रोकिएपछि पाटागाउँकै नजि पर्ने धामी गाउँलेले बाजा सहित आफ्नो काँकरको प्रदर्शनी गर्दछन् । धामी गाउँको काँकर करिब दुई घण्टा प्रदर्शनी गरेर काँकर विस्ना भन्ने स्थानमा ठाडो (डोरीको सहायताले ठाडो पार्ने) पारिन्छ । धामीको काँकर ठाडो पारिएपछि फेरी मुम्लाको काँकरलाई फेरी प्रदर्शनी गरिन्छ । (झोडाखेल्ना भन्ने ठाउँमा रोकिएको काँकर धामीको काँकर नठडिए सम्म प्रदर्शनी गर्न पाइँदैन ।)

धामीको काँकर ठडिएपछि मुम्लाको काँकरलाई पाटागाउँको उपत्यकामा ठाडो परेर डोरी (स्थानीय भाषामा लडा भनिन्छ) को माध्यमले हिँडाइन्छ । सो दृश्य निकै रमाइलो हुन्छ । काँकरलाई करिब दुई सय मिटर जति डोरीको मध्यामबाट हिँडाइएपछि मुम्लाको काकरलाई धामीको काँकर भएकै स्थानमा (काँकरबिस्ना) पुर्‍याइन्छ । त्यहाँ दुई काँकरको सँगै प्रदर्शनी हुने गर्दछ । सो क्रममा मुम्लाको काँकरलाई धामीकै काँकरसँगै ठाडो पारिन्छ । (त्सरी दुई वटा काँकर ठाडो पार्दा जुन गाउँको काँकर जित्छ उही गाउँलेको जीत भएको मानिन्छ ।) सो प्रक्रिया करिब १ घण्टाको हुन्छ ।

त्यसपछि दुई वटै काँकरलाई पुनः तेर्सो पारेर भक्तालु तथा यात्रुले केही समयसम्म सँगै बोक्ने गर्दछन् । छबिसकै बान्निचौरमा पुगेपछि मुम्लागाउँको काँकरलाई सोझै मस्टा मन्दिरमा लगिन्छ । तर धामीको काँकरलाई भने बान्नि चौरको माथि पट्टी नजिकै रहेको बोहराको काँकर भएको स्थानमा लगिन्छ ।

बोहराको काँकर बान्निचौरको केही माथि (तल्कोट भन्ने स्थानमा) राखिएको हुन्छ । धामीको काँकर पनि तल्कोट पुर्‍याइएपछि दुई वटै काँकरलाई सँगै प्रदर्शनी गर्ने गरिनछ । त्यसरी प्रदर्शनी गर्दा दुई काँकरलाई सँगै ठाडो पार्ने (डोरीको माध्यमबाट ठाडो पारिने) गरिन्छ । काँकर ठाडो पारिदा दुई गाउँलेको जीत हारका रूपमा पनि लग्ने गरिन्छ । ठाडो पारिएका दुई काँकर मध्य जसको काँकर ठुलो हुन्छ त्यही गाउँलेको जीत भएको मानिन्छ ।

तलकोटमा दुई वटै काँकरको प्रदर्शनी गरेपछि दुई वटै काँकरलाई सँगै मस्टा मन्दिर लगिने गरिन्छ । जहाँ त्यसअघिनै मुम्ला गाउँको काँकर पुगिसकेको हुन्छ । तीन वटै काँकर मन्दिर पुर्‍याइएपछि ती काँकरलाई मन्दिरमा विधिवत् रूपमा चढाइन्छ । मन्दिर पुर्‍याउनु अघि कुनै पनि गाउँलेको काँकर भाँचिएको खण्डमा तीन वटै गाउँले मिलेर जसको काँकर भाँचिएको हो उसका लागि लेकबाट फेरी काँकर ल्याउनु पर्ने हुन्छ ।

काँकर चढाएपछि तीन वटै गाउँले बान्निचौरमा भेला हुने गर्दछन् । बान्नीचौरमा पुगेका तीन गाउँले दुई समूहमा विभाजित हुने गर्दछन् । (तल्लो छबिस र मल्लो छबिस) दुई समूहबीच भकुण्डो पर्ने गर्द छ । (गोरुको छालाबाट बनाइएको छालाको ठुलो आकारको बल, जुन बल धानको भूषा हालेर बनाइएको हुन्छ ।) भकुण्डो प्राय रातीको समयमा पर्ने गर्द छ ।

भकुण्डो खेल्दा एक समूहले चौरको उत्तर तर्फ बललाई धकेल्छन् भने अर्को समूहले दक्षिण तर्फ धकेल्छन् । सो प्रक्रियालाई शक्ति प्रदर्शनीका रूपमा पनि लग्ने गरिन्छ । यदि भकुण्डो उत्तरतर्फ लैजान सकेमा मल्लो छबिस वासीको जीत भएको मानिछ, भने दक्षिणतर्फ फाल्न सकेमा तल्लो छबिसको जीत भएको मानिन्छ । तर भकुण्डोलाई कुनै पनि समूहले आफ्नो क्षेत्रमा लग्न नसकेको खण्डमा भने त्यसलाई राजाको जीत भएको मानिन्छ । भकुण्डो हाल्ने काम करिब दुई देखि तीन घण्टा सम्म चल्ने गर्दछ ।

भकुण्डो पछि राती बान्नी चौरमा देउडा खेल हुने गर्द छ । राती देखि सुरु हुने देउडा गीत अर्को दिन दिउँसो १/२ बजे सम्म चल्दछ । त्यसपछि अन्य खेल प्रतियोगिता सञ्चालन हुन्छन् । दोस्रो दिन राती मानिस आ–आफ्नो घरतर्फ लाग्ने गर्द छन् ।

चैतोली मेलाको इतिहास

किम्बदन्ती भनाई अनुसार महिषासुर नामक दानवले देवतालाई निकै दुःख दिने गर्दथ्यो । महिषासुरलाई देवताले मार्न नसक्ने भएपछि दुर्गा माताको सहायता मागियो । दुर्गा भवानीले महिषासुरलाई मार्नका लागि योजना बनाइन् । उनको योजना अनुसार जंगलबार ठुला र बलिया लठ्ठी मगाइए । ती लठ्ठी धुपी सल्ला प्रजातिका रुखका थिए । त्यसैगरी लठ्ठीलाई बाँध्न बलिया डोरी बनाउन लगाइन् ।

जसलाई स्थानीय भाषामा (लडा) भनियो । सबै सामाग्री तयार भएपछि दुर्गाले महिषासुरलाई मायाजालमा पार्दै छबिसपाथिभेरा–३ को तोलेनी भन्ने ठाउँमा ल्याइन् र त्यहाँ सुताइन् । महिषासुर सुतेको वेला उनको छातीमा लठ्ठी गाडेर डोरीको सहायताले ती लठ्ठीलाई तान्दै महिषासुरको छाती चिरेर मारिएको किंवदन्ती छ । दुर्गा माताले महिषासुरलाई मार्न बनाएको एक महिना लामो योजनालाईनै चैतली मेलाका रूपमा मनाइन थालिएको किंवदन्ती छ । तर त्यसको ठोस इतिहास भने कतै भेटाइँदैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया