श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

निसास्सिएर पूर्वमन्त्रीका पीए दम्पतिकै मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ललितपुरस्थित एक स्वास्थ्य क्लबको बाथरुममा नुहाउने क्रममा निसास्सिएर पति(पत्नीकै मृत्यु भएको छ। ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक क्लबको साउनामा नुहाउने क्रममा ४२ वर्षीय हस्त गर्बुजामगर र उनकी श्रीमती ३९ वर्षीया नेत्रकुमारीको मृत्यु भएको हो।

हस्त गर्बुजामगर पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाका स्वकीय सचिव (पीए) भएको बताइएको छ।

एसएसपी राईका अनुुसार उनीहरू बुधबार राति माथि उल्लिखित क्लबमा गएका थिए र राति क्लबको बाथरुमको साउना (तातो आउने विशेष व्यवस्था भएको) मा नुहाउन पसेका थिए।

धैरैबेर ननिस्केपछि बाथरुमको ढोका खोलेर हेर्दा उनीहरू बेहोस भेटिएका थिए।

तत्काल उद्धार गरी पाटन अस्पताल पुर्‍याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको एसएसपी राईले जानकारी दिएका छन।

साउनामा नुहाउँदा निश्चित समयमा निस्किनुपर्ने हुन्छ।

तर ती गर्बुजामगर दम्पति निश्चित समयमा ननिस्किएका कारण अक्सिजन नपुगेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको एसएसपी राईले बताएका छन।

यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया