असार २४, २०८२ मंगलबार July 8, 2025

अष्ट्रेलियाका नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अष्ट्रेलियाका नवनियुक्त मन्त्रीहरूलाई बुधवार शपथ खुवाइएको छ । लेबर पार्टीका नेता एन्थोनी अल्बानी नेतृत्वको मन्त्रिपरिषद्‌मा रहेका ३० जनालाई “गभर्नर जनरल” डेभिड हुर्लीले शपथ खुवाउनु भएको हो ।

क्यानबेरामा रहेको “गभरमेन्ट हाउस”मा प्रधानमन्त्री अम्बानीको रोहबरमा उहाँले मन्त्रीहरूलाई शपथ खुवाउनु भएको जनाइएको छ । अष्ट्रेलियामा नवगठित ३० सदस्यीय मन्त्रिपरिषद्लाई मुख्यगरी तीन प्रकारले ऐतिहासिक मन्त्रिपरिषद् मानिएको छ ।

मन्त्रिपरिषद्‌मा अहिलेसम्मकै सबैभन्दा धेरै १३ जना महिला मन्त्री हुनु, आदिवासी महिला पहिलो पटक मन्त्री बन्नु र मन्त्रिपरिषद्‌मा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व हुनुले यस मन्त्रिपरिषद्लाई ऐतिहासिक मानिएको हो ।

आदिवासी समुदायका महिला मध्ये लिन्दा बर्नी पहिलो मन्त्री बन्नु भएको छ । अष्ट्रेलियामा यसअघि आदिवासी समुदायबाट कुनै महिला मन्त्री बनेका थिएनन् । तर आदिवासी पुरुष भने एक जना मन्त्री यसअघि केन वाईट मन्त्री बन्नु भएको थियो ।

त्यसैगरी अष्ट्रेलियाको इतिहासमा अहिलेको मन्त्रिपरिषद्‌मा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व भएको छ । अहिले एकै पटकमा मुस्लिम समुदायका दुई जना मन्त्री बन्नु भएको छ ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार एद हसिक र अन्ना अलीले मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै मन्त्रिपरिषद्‌मा सहभागी हुने ऐतिहासिक अवसर पाउनु भएको हो । लेबर पार्टीका नेता अल्बानी प्रधानमन्त्री भएको १० दिनपछि मात्रै मन्त्रिपरिषद् गठन गरिएको हो । लेबर पार्टी यसअघि नौ वर्ष प्रतिपक्षमा रहेको थियो ।

अहिले लेबर पार्टीले एक्लै बहुमत ल्याएपछि उहाँले एकल मन्त्रिपरिषद् गठन गर्नु भएको हो । कुल १५१ सिट रहेको अष्ट्रेलियाको तल्लो सदनमा बहुमत पुर्‍याउन कम्तीमा ७६ सिट जित्नु पर्नेमा लेबरले त्योभन्दा बढी जितिसकेको छ । कतिपय ठाउँमा अहिले पनि मतगणना भइरहेकाले अन्तिम नतिजा आउन बाँकी नै रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया