चैत्र १५, २०८० बिहिबार March 28, 2024

यसरी मनाइयो हरितालिका (तीज), सात लाख दर्शनार्थीले गरे पशुपतिनाथ दर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब सात लाख दर्शनार्थीले दर्शन एवं पूजा आराधना गरेका छन् ।

बेलुकी सात बजेसम्म करिब सात लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरी शङ्कर पराजुलीले जानकारी दिनुभयो । भाद्र शुक्ल तृतीयाका दिनमा आज देवादिदेव महादेवको पूजा आराधना गरी महिलाहरूले हरितालिका (तीज) पर्व मनाएका हुन् ।

पर्वका अवसरमा आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । पशुपतिनाथ मन्दिरमा यस वर्ष विगतभन्दा सहज रुपमा दर्शन गर्न पाइएको भक्तजनले बताएका छन् । पन्ध्र वर्षपछि पशुपतिनाथको पूर्वी ढोका खोलेपछि भक्तजनलाई दर्शनमा सहज भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

राजधानीको उत्तरपूर्वी भेगका गोकर्णेश्वर र नागेश्वर मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको सन्तानेश्वर लगायत काठमाडौँ उपत्यका र देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । हरितालिका पर्व समापनका अवसरमा केही मानिसले आज पूजा लगाउँछन् । आज पूजा नलगाउनेले भने भाद्र शुक्ल चौथीका दिन बिहान गोदान एवं पूर्णपात्र दान गरेर व्रत समापन गर्छन् ।

सोमबार राति दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । नेपाली नारीले यो पर्व विशेष रुपमा मनाउँछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य : सञ्चारमन्त्री शर्मा
२०८० चैत्र १५, बिहिबार
दाङमा अटो दुर्घटना हुँदा ३ जना घाइते
२०८० चैत्र १५, बिहिबार
कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा
२०८० चैत्र १५, बिहिबार
बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने
२०८० चैत्र १५, बिहिबार
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त
२०८० चैत्र १५, बिहिबार
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित
२०८० चैत्र १५, बिहिबार
गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र अस्मिता सेमिफाइनलमा
२०८० चैत्र १५, बिहिबार