जेठ ५, २०८१ शनिबार May 18, 2024

टेलिकम र एनसेलको आम्दानी घट्यो , नयाँ योजना नल्याए चल्न गाह्रो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विश्वभरि नै दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको आम्दानी क्रमशः घट्दो छ। त्यसको असर नेपाली दूरसञ्चारमा पनि देखिएको छ।
मुलुकका मुख्य दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलको आम्दानीमा गिरावट आएको हो। उच्च नाफा हुने भ्वाइस सेवाबाट हुने आम्दानी घट्न थालेपछि कम्पनीहरूको समग्र राजश्वमै असर गरेको छ।
मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको आम्दानी ८ देखि १० प्रतिशतसम्म घटेको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिएका छन।

टेलिकमको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ मा उसले १० अर्ब २० करोड १ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। अघिल्लो वर्ष २०७४/७५ मा नाफा १७ अर्ब ४ करोड ३८ लाख रुपैयाँ भएको थियो।
नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन २०७४/७५ अनुसार नेपाल टेलिकमको भ्वाइस सेवाबाट मात्रै २२ अर्ब १७ करोड ३० लाख रुपैयाँ आम्दानी भएको छ। अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा यस्तो नाफा ३२ अर्ब ६ करोड ४९ लाख भएको थियो।

त्यस्तै, निजी क्षेत्रको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलको नाफा पनि घटेको छ।

उसको मुख्य लगानीकर्ता आजिआटाको रिपोर्टअनुसार गत वर्ष एनसेलको खुद नाफा १५ अर्ब ३० करोड रुपैयाँ थियो। अघिल्लो आर्थिक वर्षमा भने यस्तो नाफा झन्डै १९ अर्ब थियो।

प्राधिकरणलाई उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा एनसेलको भ्वाइस सेवाबाट भएको आम्दानी २९ अर्ब २३ करोड ३ लाख थियो।

यो आम्दानी गत वर्ष २०७४/७५ मा २६ अर्ब ९२ करोड ८२ लाखमा झरेको छ। अर्थात्, एनसेलले १ वर्षको अवधिमा भ्वाइस सेवाबाट हुने आम्दानीमा २ अर्ब ३० करोड रुपैया गुमाएको छ ।

त्यस्तै, पछिल्लोपटक फोरजी सञ्चालन गरेको स्मार्टको समग्र आम्दानी घटेको छ।

प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा ८६ करोड ७३ लाख आम्दानी गरेको स्मार्टको भ्वाइस सेवाको आम्दानी २०७४/७५ मा ३९ करोड ५४ लाखमा झरेको छ। अर्थात्, स्मार्टले १ वर्षमा ४७ करोड १९ लाख रुपैयाँ गुमाएको छ।

किन घट्यो नाफा ?
आम्दानी र नाफा दुवै घट्नुमा सीमित बजार र भ्वाइस कलमा आएको गिरावट मुख्य कारण भएको नेपाल टेलिकम र एनसेल दुवैले जनाएका छन्।

‘ओटीटी (ओभर द टप) कल बढेका कारण आम्दानी घटेको छ,’ नेपाल टेलिकमका प्रवक्ता जोशीले भने, ‘यो नेपाल टेलिकमलाई मात्र होइन, अन्य सबै टेलिकमलाई पनि यस्तै भइरहेको छ।’

मोबाइल वा कम्प्युटरमा प्रयोग गर्न सकिने एप्सहरू जस्तो कि फेसबुक म्यासेन्जर, भाइबर, स्काइप, ह्वाट्सप, विच्याटजस्ता हजारौं एप्लिकेसनलाई ओभर द टप अर्थात् ओटीटी भनिन्छ।

इन्टरनेट प्रयोग गर्दै ओटीटीको माध्यमबाट उपभोक्ताले अडियोरभिडियो कल गर्न, म्यासेज पठाउन सक्छन्। यिनै सेवा प्रयोग गरेर देश–विदेशमा अडियो÷भिडियो कल गर्न सहज भइरहेको छ।

पुराना फोन कल (भ्वाइस कल) लाई नयाँ आएका ओटीटीले प्रतिस्थापन गरिरहेको जोशीको भनाइ छ। ओटीटीले उपभोक्तालाई धेरै फाइदा दिइरहेको छ।

जस्तो भिडियोसहित कल गर्न मिल्ने, इन्टरनेट भएपछि अन्य शुल्क नलाग्ने, पहिला अनलाइन छ कि छैन भनेर हेरेर कल गर्न सकिनेजस्ता सुविधाले उपभोक्ता ओटीटीमा रूपान्तरण भइरहेका छन्।

ओटिटी कल बढ्नुमा मुख्य २ कारण रहेको जोशीको भनाइ छ।

पहिलो मुलुकभर इन्टरनेट विस्तार तीव्र रूपमा भइहेको छ। तार र बिनातारको इन्टरनेटले उपभोक्तालाई सजिलो बनाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार मुलुकमा कात्तिकसम्म ७१ प्रतिशतमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच छ। त्यसमध्ये ५५ प्रतिशत त मोबाइल ब्रोडब्यान्ड इन्टरनेटको छ।

यही पहुँचका कारण उपभोक्त भ्वाइस कल गर्नुभन्दा विभिन्न सामाजिक सञ्जालको प्रयोग गर्न सहज भएको छ।

त्यस्तै, ओटीटीको प्रयोग बढ्नुको अर्को कारण कामका सिलसिलामा विदेशिएका नेपाली रहेका देशमा ओटीटी सेवा विस्तार हुनु हो।

नेपाली रोजगारीका लागि धेरै गएका अरेबियन देशहरूमा पहिले ओटिटी प्रयोग गर्न अनुमित थिएन। भए पनि सीमित देशले केही एप्स मात्र प्रयोग गरेका थिए।
अहिले भने सबैजसो देशले यो सुविधा उपलब्ध गराएका छन्। जसले गर्दा पहिला कतार, दुबई जाने नेपालीले फोन नै गर्नुपथ्र्यो भने अहिले ओटीटी सेवा प्रयोग गर्न पाउँछन्।
एनसेलले पनि भ्वाइसका ग्राहक ओटीटीमा रूपान्तरण हुँदै जानुलाई आम्दानी घट्नुको मुख्य कारण मानेको छ।
ओटीटी प्रयोग बढ्दै जाँदा अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी स्वात्तै घटेको छ। अहिले त विदेशमा मात्र होइन, स्वदेशमा पनि ओटीटी प्रयोग बढ्दै गएको छ।
टेलिकम क्षेत्रको आम्दानी घट्नुको अन्य कारणमा सीमित बजार, मोबाइल पेनिट्रेसन उच्चतम बिन्दुमा पुग्नु, भ्वाइस र डाटा सेवा सस्तो हुनु पनि हुन्।

अब के गर्ने त ?
अब दूरसञ्चार सेवा प्रदायकहरूले पुरानो भ्वाइस र डाटाबाट मात्र आफ्नो आम्दानी बढाउन नसक्ने स्पष्ट भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले अहिलेकै मोडलमा दूरसञ्चार कम्पनीहरू सञ्चालन हुन गाह्रो हुने बताउँछन्। अहिले पनि आफ्ना ग्राहकलाई राम्रो सेवा नदिए आफूसँगै राख्न नसक्ने चुनौतीमा दूरसञ्चार कम्पनीहरू छन्।

‘पुरानो मोडलमा अब दूरसञ्चार कम्पनी बाँच्न सक्दैनन,’ खनालले भने, ‘नयाँ बिजनेस मोडलमा नजाने हो भने धरासायी हुन बेर छैन।’

कुनै पनि नयाँ आउने कम्पनीले पनि भ्वाइस र डाटा बेचेर मात्र सस्तो सुविधा दिन नसक्ने उनको भनाइ छ।

यही कुरालाई मध्यनजर गर्दै नेपाल टेलिकम र एनसेल दुवैले डाटा प्रयोगलाई विविधीकरण गर्ने र नयाँ व्यवसाय मोडल सुरु गर्ने तयारी गरिरहेका छन्।

डाटाको प्रयोगलाइ विविधिरण गरेर आम्दानीका स्रोत बढाउनु नै अबको विकल्प हो। एनसेलले व्यवसाय प्रतिष्ठानहरूमा लक्षित गरेर विभिन्न सेवा दिने तयारी गरिरहेको छ।
साथै, केही समयअघि माइक्रोसफ्टसँग सहकार्य गरेर एनसेल क्लाउड सेवा दिने घोषणा गरिसकेको छ। उसले उच्च क्षमताको डाटा सेन्टर सञ्चालन गर्ने तयारी गरिरहेको छ। डाटा सेन्टर निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ।
त्यस्तै, नेपाल टेलिकमले पनि व्यापार विविधिकरण गर्न के के गर्न सकिन्छ भनेर तयारी गरिरहको छ।
‘ओटीटीका कारण भइरहेको घाटा पूर्ति गर्न नयाँ-नयाँ व्यवसायमा जानुपर्छ,’ जोशीले भने, ‘नेपाल टेलिकमले पनि नयाँ-नयाँ बिजनेस गरिरहेको छ।’

विदेश जाने नेपालीको लागि रोमिङ सेवा र विदेशी नागरिक पनि नेपालको मोबाइल प्रयोग गरेर यहाँ बस्न पाउने सुविधा केही उदाहरण भएको जोशीले बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया