काठमाडौं । नुवाकोटमा मध्यराति नवविवाहित युवतीले त्रिशूलीमा ‘हामफाले’पछि पतिलाई प्रहरीले पक्राउ गरेको छ।
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १, ढुंगेबजारस्थित चारतले घरको बरन्डाबाट नवविवाहित २१ वर्षिया सञ्जु खातीले बुधबार मध्यराति त्रिशूली नदीमा हामफालेकी हुन्।
नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख अविनारायण काफ्लेका अनुसार त्रिशूलीको बगरमा भेटिएकी सञ्जुलाई तत्कालै जिल्ला अस्पताल ९त्रिशूली० लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। नदीसँगै टाँसिएको घर हुनाले सञ्जु पानी बगेको स्थानभन्दा वरै नदी किनारको बगरमा बजारिएकी हुन्।
उनका पति २२ वर्षीय मौसम खाती भने घटनास्थलमा बेहोस भेटिएका थिए।
‘जिल्ला अस्पतालमै उपचारपछि अहिले उनी स्वस्थ छन्,’ शुक्रबार बिहान एसपी काफ्लेले भने, ‘घटना अनुसन्धानका लागि अहिले उनलाई जिल्ला प्रहरी कार्यालय (नुवाकोट)को हिरासतमा राखेका छौं।’
नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाका अनुसार सञ्जुको शव पोस्टमार्टमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
‘घटनाको अत्यन्त सूक्ष्म विश्लेषणका लागि हामीले शव पोस्टमार्टम गर्न टिचिङ (त्रिवि शिक्षण) अस्पताल पठाएका हौं,’ डीएसपी थापाले भने, ‘त्यसको रिपोर्टको प्रतीक्षामा छौं।’
रिपोर्ट आएपछि घटनाको वास्तविकताबारे केही तथ्य पत्ता लाग्ने उनको विश्वास छ।
यस्तो थियो घटना
धादिङ माइती भएकी सञ्जु र नुवाकोटका मौसम खातीको ६ महिनाअघि मात्रै विवाह भएको थियो।
स्थानीयका अनुसार उनीहरूबीच जहिले खटपट परिरहन्थ्यो। शंका उपशंका भइरहन्थ्यो।
यसक्रममा बुधबार राति पनि उनीहरूबीच झगडा भएको र श्रीमती सञ्जुले त्रिशूली नदीसँग टाँसिएर रहेको चारतले घरको बरन्डाबाट हामफालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
‘राति पौने १० बजेतिर स्थानीयले फोन गरेर घटनाको जानकारी गराएका थिए,’ नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले भने, ‘प्रहरी टोली पुग्दा महिला घरमुनिको त्रिशूली बगरमा मृत भेटिइन् भने पुरुष त्यहीं बेहोस अवस्थामा भेटिए।’
दुवैलाई जिल्ला अस्पताल त्रिशूली पुर्याउँदा चिकित्सकले सञ्जुलाई तत्कालै मृत घोषणा गरे भने मौसमलाई सामान्य उपचार गरेका छन।
उनका अनुसार सञ्जुको टाउकामा गम्भीर चोट लागेको छ भने मौसमलाई केही भएको छैन।
‘उनी श्रीमती मरेको देखेर बेहोस भएको जस्तो लाग्यो,’ डीएसी थापाले भने,‘ प्रारम्भिक अनुसन्धानअनुसार दुई जनाबीचको झगडापछि महिलाले हामफालेर आत्महत्या गरेको जस्तो देखिन्छ तर घटनाको गम्भीर ढंगले अनुसन्धान जारी छ।’
विस्तृत अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता भन्न सकिने उनले बताएका छन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया