काठमाण्डौंः हरिबोधिनी एकादशी तथा तुलसी विवाहका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ ।
उक्त मन्दिरमा प्रत्येक वर्ष आज कार्तिक शुक्ल एकादशीको दिन मेला लाग्ने गरेकामा बिहानै नुहाइधुवाइ गरी चोखो भएर घरको मूलढोकामा कपुर पानीसमेत छर्केर चाँगुनारायण दर्शनका लागि जाने परम्परा छ । उक्त मन्दिरमा दर्शनपछि घर–घरमा लगाइएको तुलसी नारायणको विधिवत् रूपमा पूजा गरिन्छ । पूजामा तुलसी नारायणलाई सयपत्री फूलको माला लगाई सखरखण्ड, पिँडालु र खीरको भोजन चढाइन्छ ।
त्यसैगरी आजै भक्तपुर नगरपालिकास्थित तिलमाधव नारायण, वाखुपति नारायण, सूर्यविनायकको लिखा नारायण, चाँगुनारायण नगपालिकाको भुइँजसी नारायणलगायत मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । हरिबोधिनी एकादशीका अवसरमा आज चाँगुनारायण नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया