वैशाख ४, २०८१ मंगलबार April 16, 2024

काठमाण्डौं-७ ‘ख’ मा सविन तामाङको जित सुनिश्चित रहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरुले घरदैलो लगभग सकाएका छन् ।

मतदाताहरुसँगको भेटघाट र स्थानीय निर्वाचनमा क्षेत्रमा पार्टीले पाएको मतको आधारमा उम्मेदवाहरुले आफ्नो दाबीलाई प्रस्तुत गरिसकेका छन् । उम्मेदवारले मात्र होइन आम मतदाताहरुले समेत आगामी निर्वाचनमा जित कसको हातमा पर्छ भन्ने आंकलन गर्न थालेका छन् ।

ती मध्ये मतको आधारमा जित हात पार्न सक्ने पात्रका रुपमा अघि आएका व्यक्ति हुन् सविन तामाङ । आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नं ७ प्रदेशसभा ‘ख’ बाट नेपाली कांग्रेसको तर्फबाट गठबन्धनका उम्मेदवार हुन् तामाङ । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका तामाङले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँग भेटघाट र घरदैलो सकाएका छन् ।

मतदाताहरुबाट पाएको विश्वास र मायाको कारण आफ्नो जित सुनिश्चित रहेको दाबी तामाङको रहेको छ । तामाङको दाबी मात्रै आम मतदाताहरुले समेत उनको सक्रियता र प्रतिबद्धताको आधारमा जित पक्कापक्की जस्तै रहेको बताउँछन् ।

May be an image of 3 people, people sitting, people standing and outdoors

पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका तामाङले प्रदेशको औचित्य स्थापित गर्नेदेखि निर्वाचन क्षेत्रका हरेक वर्गका मतदाता समेटिने किसिमको एजेण्डासहित मैदानमा होमिएका छन् ।

सो क्षेत्रको संघदेखि प्रदेशसम्म युवाहरुको उम्मेदवारी परे पनि आफूहरुको योग्यता युवा मात्रै नभएको उनको भनाइ रहेको छ ।

उनी भन्छन्, ‘हामी गठबन्धनबाट संघदेखि प्रदेशमा युवाहरुले उम्मेदवारी दिएका छौँ । हामी चुनाव जित्ने आधार र योग्यता केवल युवा मात्रै होइन । काठमाडौं क्षेत्र नं ७ मात्रै नभइ मुलुक नै निर्माण गर्ने यथेष्ट खाका हामीसँग छ ।’

विद्यार्थी राजनीतिबाट आएका कारण आम विद्यार्थी र आम युवाहरुको सवाल आफूले बोक्ने उनी बताउँछन् । देशमै प्रशस्त सम्भावना हुँदा हुँदै पनि युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्था रहेको देखेका उनले स्वदेशमै रोजगारी सिर्जना गरेर युवाहरुलाई यहीँ रोक्ने स्पष्ट खाका रहेको र त्यसलाई कार्यान्वयन गर्नेमा जोड दिँदै आइरहेका छन् ।

May be an image of 11 people, people standing and outdoors

आफू पनि युवा भएर आम युवा र सबै वर्गका नागरिकहरुको आवाज बोकेका कारण आफ्नो जित निश्चित रहेको दाबी गर्दै आएका छन् ।

उनको यो व्यक्तिगत दाबी मात्रै भने होइन । गत स्थानीय निर्वाचनको मत परिणामको आधारमा पनि उनको दाबी सही सावित हुने देखिन्छ । नागार्जुन नगरपालिकाको वडा नं १, २, ३ र तारकेश्वर नगरपालिकाको ३,४ र ५ वडा प्रदेश सभा ‘ख’ मा पर्दछ । सो क्षेत्रमा नेपाली कांग्रेसबाट वडाध्यक्षहरुले पाएको मतको आधारमा कांग्रेस अघि रहेको छ ।

सो प्रदेशमा कांग्रेसले पाएको कुल मत ५ हजार ७ सय ५६ रहेको छ । यता मुख्य प्रतिपष्र्धी नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत ५ हजार ५ सय २६ रहेको छ । यता तामाङलाई माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चा लगायत दलहरुको समेत साथ रहेको छ । सो क्षेत्रमा एकीकृत समाजवादी र माओवादी केन्द्रले पाएको कुल मत २ हजार २५ रहेको छ । यसरी हेर्दा गठबन्धनले पाएको कुल मत ७ हजार ७ सय ८१ मत रहेको छ ।

मुख्य प्रतिष्पर्धी दल नेकपा एमालेले पाएको मतको आधारमा गठबन्धन २ हजार २ सय २६ मतले अघि रहेको छ । यसरी मतको आधारमा समेत तामाङको जित पक्कापक्की देखिन्छ । मंसिर ४ को निर्वाचनमा तामाङको मुख्य प्रतिष्पर्धा नेकपा एमालेसँग हुने देखिन्छ । नेकपा एमालेका तर्फबाट प्रकाश श्रेष्ठ चुनावी मैदानमा रहेका छन् ।

यता गठबन्धनका तर्फबाट प्रतिनिधीसभामा काठमाडौं क्षेत्र नं ७ मा माओवादी केन्द्रबाट मानुषी यमी भट्टराई चुनावी मैदानमा रहेकी छिन् । यता सो क्षेत्रको प्रदेश सभा ‘क’ मा एकीकृत समाजवादीका वसन्त मानन्धर उम्मेदवार रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया