काठमाडौं । सेञ्चुरी ग्रुप (दुगड स्पाइसेस) का अध्यक्ष तथा पूर्वमन्त्री मोतिलाल दुगड र उहाँको परिवारले विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।
दुगड परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ नगद सहयोग गरेको छ भने ५० लाख रुपैयाँ बराबरको राहत सामग्री तथा खाद्यान्न उपलब्ध गराएको छ। नगद तथा जिन्सी सहयोग गरी दुगड परिवारको कुल योगदान १ करोड १ लाख रुपैयाँ पुगेको हो।
बिहीबार दुगडले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो। चेक हस्तान्तरणपछि बोल्दै दुगडले प्राकृतिक विपद्का समयमा मानवता र सामूहिक एकता नै सबैभन्दा ठूलो आवश्यकता भएको बताउनुभयो।
भोटेकोशी क्षेत्रमा आएको बाढीले धेरै नेपाली परिवारलाई अपूरणीय क्षति पुर्याएको उल्लेख गर्दै दुगडले विपद्को समयमा सरकारसँगै निजी क्षेत्र, व्यवसायी समुदाय तथा आम नागरिकले पनि आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले संकटका बेला आर्थिक सहयोग मात्र नभई राहत सामग्री, खाद्यान्न, स्वयंसेवी सेवा तथा प्रभावित समुदायको मनोबल बढाउने प्रयाससमेत उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो।
दुगडका अनुसार सेञ्चुरी ग्रुपले बाढीपछि तत्कालै राहत सहायता परिचालन गरिसकेको छ र आगामी दिनमा आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिनेछ। उहाँले केही दिनभित्रै आफू स्वयं बाढी प्रभावित क्षेत्रमा पुगेर क्षतिको अवस्था अवलोकन गर्ने तथा स्थानीय समुदायको आवश्यकताका आधारमा थप मानवीय सहायता कार्यक्रम सञ्चालन गर्ने जानकारीसमेत दिनुभयो।
पूर्वसांसद तथा पूर्वमन्त्रीसमेत रहनुभएका दुगड लामो समयदेखि सामाजिक तथा मानवीय सेवाका गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ। कोरोना महामारी तथा देशव्यापी लकडाउनका समयमा उहाँले हजारौँ विपन्न परिवारलाई खाद्यान्न तथा राहत सामग्री वितरण गर्नुभएको थियो।
प्राकृतिक विपद् तथा संकटका बेला मानवीय सेवामा सक्रिय रहँदै आएका दुगडले यसपटक पनि भोटेकोशी बाढीपीडितको राहत अभियानमा उल्लेख्य आर्थिक तथा भौतिक सहयोगमार्फत ऐक्यबद्धता जनाउनुभएको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया