असार २२, २०८२ आइतबार July 6, 2025

चर्चित नेताहरू हार्ने क्रम जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रत्यक्षतर्फको करिब ४० प्रतिशतभन्दा बढी निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छ । परिणाम सार्वजनिक भइरहँदा राजनीतिक दलका चर्चित नेता हार्ने क्रम जारी छ ।

बिहीबार अबेर रातिसम्म सार्वजनिक भएको परिणामबमोजिम प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता बलबहादुर केसी, सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ, राप्रपा नेपालका अध्यक्ष कमल थापा पराजित हुनुभएको छ ।

कांग्रेसका पूर्वमहामन्त्री सिटौला झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनबाट पराजित हुनुभएको हो । लिङ्देनले ४० हजार ६४८ मत पाउँदा सिटौलाले ३७ हजार ३७२ मत पाउनुभयो ।  २०५१ को मध्यावधि चुनावमा झापा–१ बाट निर्वाचित भएर संसदीय राजनीतिको सुरुवात गर्नुभएका सिटौलाले २०५६ को निर्वाचनमा समेत सोही क्षेत्रबाट निर्वाचित हुनुभयो । २०६३/६४ मा पहिलो संविधान सभाको निर्वाचनअघि उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका सिटौलाले २०७० सालमा संविधान सभाको दोस्रो निर्वाचनमा झापा–३ बाट निर्वाचित हुनुभयो तर २०७४ र २०७९ मा लगातार दुई पटक पराजित हुनुभएको हो ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) मकवानपुर–१ मा राप्रपाका दीपकबहादुर सिंहबाट पराजित हुनुभएको छ । सोही क्षेत्रबाट राप्रपा नेपालका अध्यक्ष कमल थापासमेत उम्मेदवार हुनुहुन्थ्यो । सिंहले २७ हजार ८१६ मत पाएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी उपाध्यायले २५ हजार ४३४ मत ल्याउनुभयो । थापाले २५ हजार ४२० मत पाउनुभयो ।

लमजुङ–१ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देव गुरुङ पराजित हुनुभयो । उहाँलाई नेकपा (एमाले)का नेता पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९६९ मत ल्याएर पराजित गर्नुभयो । देव गुरुङले ३१ हजार ७८१ मत पाउनुभयो ।  आमनिर्वाचन २०७९ मा दाङ–२ बाट उम्मेदवार हुनुभएका नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हार बेहोर्नुभयो । उहाँलाई नेकपा (माओवादी केन्द्र)की नेत्री रेखा शर्माले पराजित गर्नुभयो । शर्माले २६ हजार ८७७ मत पाउँदा पोखरेलले २६ हजार ६८० मत ल्याउनुभयो ।  नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वप्रमुख सचेतक विशाल भट्टराईले खोटाङमा हारको सामना गर्नुभयो । उहाँलाई माओवादी केन्द्रका रामकुमार राईले पराजित गर्नुभएको हो । राईले ३१ हजार ३५१ मत पाउँदा भट्टराईले २८ हजार ६८२ मत पाउनुभयो । भट्टराई २०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

चितवन–१ बाट पटक–पटक निर्वाचित हुनुभएका नेकपा (एमाले)का नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे यस पटक पराजित हुनुभएको छ । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पराजित गर्नुभयो । सोही क्षेत्रमा नेपाली कांग्रेसबाट विश्व पौडेल उम्मेदवार हुनुहुन्थ्यो । पौडेलले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिएर सक्रिय राजनीतिमा होमिनुभएको थियो । चितवन–१ मा ढकालले ३४ हजार १८९, पाण्डेले २६ हजार ६०८ तथा पौडेलले २४ हजार ९९० मत पाउनुभयो ।

त्यसैगरी नेपाली कांग्रेसका नेता बलबहादुर केसी पराजित हुनुभएको छ । उहाँलाई नेकपा (एमाले)का मानवीर राईले पराजित गर्नुभएको हो । केसीले १६ हजार ५४५ मत पाउँदा मानवीरले १९ हजार ३२४ मत पाएर निर्वाचित हुनुभयो । २०४८, २०५१ र २०५६ को आमनिर्वाचनमा लगातार तीन पटक निर्वाचित हुनुभएका केसी २०७० मा संविधान सभाको दोस्रो निर्वाचनमा सोलुखुम्बु–१ बाट निर्वाचित हुनुभएको थियो ।गोरखा पत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार