चैत्र १५, २०८० बिहिबार March 28, 2024

गुटगत राजनीतिका कारण पार्टीभित्रका क्षमतावान नेताहरू पराजयको सिकार बने – सिता गुरुङ (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली कांग्रेसका प्रभावशाली महिला नेतृहरू चुनावमा पराजित हुनुपर्‍यो। कांग्रेसमा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ चुनाव जित्ने तपाईं एक्ली महिला नेतृको रूपमा देखिनुभएको छ। तपाईंमा त्यस्तो के योग्यता र क्षमता थियो र चुनाव जित्नुभयो ?  

चुनाव जित्न त्यस्तो कुनै अद्भुत योग्यता र क्षमता चाहिन्छ जस्तो लाग्दैन। जनताको काम र समाज विकासका लागि काम गरियो भने जनताले चुनाव जिताउने रहेछन् भन्ने लाग्छ। २०४७ सालदेखि म निरन्तर रूपमा सक्रिय राजनीतिमा छु। राजनीति गर्दा मैले आफ्नो व्यत्तिगत स्वार्थभन्दा माथि उठेर आमजनताको हितका निम्ति काम गरिरहेको छु। जिल्लाको समृद्धि र विकासका लागि मेरो ऊर्जाशील समय खर्चिएको छु।

यहाँका समस्या र सम्भावनाहरूलाई पनि मैले पहिल्याएको छु। यहाँका जनताको चाहना र भावनालाई मैले नजिकबाट बुझेको छु। यहाँको विकासमा ठूलो योगदान गरेको जनताले बुझेका छन्। विकास निर्माणमा मेरो सक्रियताका कारण जनताको मन जितेको छु। त्यसैले मैले चुनाज जितेको हुँ। यो जितलाई राजनीतिमा मेरो इमान्दारिता र निरन्तरताको उपजका रूपमा लिएको छु।

नेपाली कांग्रेसमा गुटगत राजनीतिका कारण धेरै नेताहरू चुनावमा पराजित हुनुपरेको चर्चा सुरु भएको छ। अन्तर्घातकै कारण कांग्रेसका नेताहरूले चुनाव हार्नुपरेको भन्ने विषयमा बहस चलिरहेको छ। तपाईंलाई जिल्लाका नेताहरूको सहयोग कस्तो रह्यो ?  

नेपाली कांग्रेसमा गुटगत राजनीति मौलाएको सत्य हो। जसका कारण पार्टीभित्रका क्षमतावान नेताहरू पराजयको सिकार हुनुपरेको छ। पार्टीभित्र यो विषयमा विगतदेखि नै बहस हुँदै आएको छ। तेह्रथुम जिल्लामा पनि मैले पार्टीभित्रका अग्रज नेताहरूबाट अपेक्षाकृत सहयोग पाउन सकिनँ। पार्टीभित्रको असहयोगका बावजुत मैले चुनाव जितेको हो। यहाँका नेताहरूप्रति गुनासो त गर्दिनँ तर, पूर्ण रूपमा सन्तुष्टि भने छैन। नेताहरूले निर्धक्कका साथ सहयोग गर्न चुक्नुभएको छ। जनता र कार्यकर्ता तहबाट ठूलो सहयोग पाएकाले मेरो जित भएको हो।

तपाईंको विचारमा कांग्रेसका प्रभावशाली महिला नेतृहरूले चुनावमा किन पराजय व्यहोनुपरेको छ ?   

हाम्रो समाजले महिलालाई नेताको रूपमा स्वीकार गर्न गाह्रो मानेको छ। नेपाली समाजको बनावट र हाम्रो चिन्तनशैलीकै कारण महिलालाई राजनीति गर्न निकै समस्या छ। फेरि पुरुषको तुलनामा महिला शारीरक रूपमा कमजोर हुन्छन्। शारीरिक रूपमा कमजोर हुँदैमा योजना निर्माण गर्न, विचार र दृष्टिकोण दिन र विकास निर्माणका कामलाई अघि बढाउन महिला सक्षम छन् भन्ने कुरालाई समाजले स्वीकार गर्न सकिरहेको छैन। महिलाको क्षमताप्रति विश्वास गर्न नसक्नुकै कारण हामीहरू पराजयको सिकार हुने गरेका छौं। राजनीतिमा लाग्नेहरूले जनतासँग जोडिने, उनीहरूका सुख–दुःखसँग जोडिने र विकास निर्माणका कुरामा प्रभावकारी भूमिका खेल्न सकियो भने सबै खालका अवरोधहरूलाई परास्त गरेर चुनाव जित्न सकिन्छ जस्तो लाग्छ।

तेह्रथुमका जनाताले तपाईंलाई पत्याए र चुनाव जित्नुभयो। अब कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ?  

पहिलो कुरा त यहाँ धेरै अधुरा योजनाहरू छन्। ती अधुरा योजनाहरूलाई पूरा गर्ने प्रयत्न गर्नेछु। विगतमा तेह्रथुमलाई पूर्वका धेरै जिल्लामध्ये शिक्षित जिल्लाका रूपमा चिनिन्थ्यो। तर, अहिले गुमनाम बन्दै गएको छ । यो जिल्लाको पहिचानलाई राष्ट्रिय राजनीतिसँग जोडेर तेह्रथुमलाई एउटा छुट्टै वैभव र पहिचान भएको जिल्लाका रूपमा विकास गर्ने योजना छ। त्यसका लागि सबैभन्दा पहिले पर्यटनको विकासका निम्ति कदम चाल्नेछु। लालिगुराँसको संरक्षण र प्रवद्र्धदेखि यहाँको संस्कृति, सभ्यतालाई समेटेर पर्यटनको विकासका लागि काम गर्नेछु।

तेह्रथुमसँग जोडिएको ७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कदम चाल्नेछु। लालिगुराँस नगरपालिकामा नमुना सहर आयोजनाको काम भइरहेको छ। नमुना सहर जस्तै तेह्रथुमलाई नमुना जिल्ला बनाउने योजना अघि सार्नेछु। तेह्रथुममा सबैभन्दा ठूलो समस्या कृषिमा छ। कृषिको व्यवसायीकरण र कृषि उपजको बजारीकरणका लागि काम गर्नेछु। जसका लागि सबैभन्दा पहिले जिल्लाका सबै स्थानीय तहमा कृषि सहकारीमार्फत कृषि उपजका लागि बजार सुनिश्चित गराउने योजना छ। यसो गरियो भने जिल्लाका अधिकांश युवाले गाउँमै रोजगारी पाउँछन् र जिल्लाको विकासमा टेवा पुग्नेछ।

विगतमा तेह्रथुमले मन्त्री र प्रधानमन्त्रीसहित प्रभावशाली नेताहरू जन्मायो। तर, अवसर पाएपछि तेह्रथुमलाई बिर्सिएको भनेर जनताले गुनासो गरेका छन्। अवसर पाएपछि जिल्लालाई बिर्सने पो हो की भनेर तपाईंप्रति पनि जनताले आशंका गर्न थालेका छन्। जनातालाई कसरी आश्वस्त पार्नुहुन्छ ? 

तेह्रथुम प्रधानमन्त्री जन्माउने जिल्ला हो। नेकपा एमालेका अध्यक्ष केपी ओलीको जन्मथलो तेह्रथुम नै हो। उहाँले देशको नेतृत्व गर्ने सुन्दर अवसर पाउनुभयो। तर, अवसर पाएपछि उहाँले तेह्रथुमलाई विर्सनुभयो। त्यसकारण यहाँका जनताहरूले हामीप्रति पनि यस्तो खालको शंखा गर्न स्वभाविक हो। तर, म यहाँका जनतालाई के आवश्वस्त पार्छु भने सीता गुरुङ अन्य नेताहरूजस्तो अवसर पाएपछि जिल्लालाई बिर्सिने नेता हैन।

मैले विगतमा पनि सानातिना अवसरहरू पाएकै हो। अवसर पाएको बेला मैले जिल्लालाई बिर्सेको छैन। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गलाई तेह्रथुम हुँदै विस्तार गर्नमा धेरै ठूलो भूमिका छ। जिल्लाको विकास लागि म अहोरात्र खटिरहेको छु। यहाँका जनताको माझमा नै रहेर काम गरिरहेको छु। अब पनि यहाँको जनताको चाहनाअनुसार काम गर्नेछु। जनताको भावनालाई ठेस पुग्ने गरी कहिल्यै काम गर्दिनँ।

यसअघि राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ। स्वभाविक रूपमा मन्त्री बन्ने अपेक्षा गर्नुभएको कुरा बाहिर आएको छ। कुन मन्त्रालय सम्हाल्ने इच्छा छ ?  

राजनीति सत्ता र शक्ति प्राप्तिको लागि नै गर्ने हो। सत्ता र शत्ति प्राप्त भएपछि त्यसलाई सही तरिकाले देशको विकासका लागि लगाउने हो। स्वाभाविक रूपमा मेरो मन्त्री बन्ने इच्छा छ। मेरो इच्छा मात्र हैन। देशभरका जनताले मलाई मन्त्री भएको हेर्न चाहेका छन्। त्यसकारणले यसपटक म आफू अनिवार्य रूपमा मन्त्री हुनुपर्छ भन्ने मान्यता राख्छु। आइलागेको मन्त्रालय सम्हाल्न सक्ने मेरो क्षमता छ।

नेपाली कांग्रेसभित्र सरकारको नेतृत्व गर्छु भनेर केही युवा नेताहरूले उद्घोष गर्नुभएको छ।  पार्टीमा पुस्तान्तरणको मुद्दा उठाएका युवा नेताहरूलाई साथ दिनुहुन्छ या पुरानै नेताहरूलाई सरकारको नेतृत्वमा पुर्‍याउने भूमिका खेल्नुहुन्छ ?  

उद्घोष गरेका सबै कुरा सत्य हुँदैनन्। युवा नेताहरूको उद्घोषप्रति म विश्वस्त छैन। कतिपय उद्घोषहरू चुनाव जित्ने फण्डा पनि हुन सक्छन्। मैले पुस्तान्तरणको मुद्दालाई उठाएकै छु। तर, मैले सरकारको नेतृत्व गर्नुपर्छ भनेर उद्घोष गरेको छैन। विकसित राजनीतिक घटनाक्रमलाई हेरेर अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो। युवा नेताहरूको उद्घोषप्रति म विश्वस्त छैन। कसलाई समर्थन गर्ने भन्ने विषयमा बोल्ने बेला भएको छैन। अन्नपूर्ण

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया