वैशाख १५, २०८१ शनिबार April 27, 2024

‘राजनीतिलाई सफा गर्नेगरी मेरो संसद्मा उपस्थिति हुन्छ।’ – प्रदिप पौडेल (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निर्वाचनमा जनताले कसैलाई पनि बहुमत दिएनन् नि ? 

एउटै पार्टीको बहुमत आउने स्थिति बनेन। संसद्मा थुपै्र दल र शक्तिहरू उपस्थित हुने अवस्था देखा परेको छ। मुलुकमा बेथिति बढेका छन्। यसलाई अन्त्य गर्ने हाम्रो उद्देश्य हो। त्यसैले राम्रो काम गर्ने प्रतिस्पर्धा भयो भने अहिलेकै अवस्थामा पनि राजनीतिक स्थिरता दिन सकिन्छ। जनतामा आशा, भरोसा र विश्वास बढाउन सकिन्छ।

यस्तो स्थितिमा त संसदीय विकृतिहरू बढ्ने हुन् कि ? 

संसद्मा प्रगतिशील मुद्दाहरूको उठान गर्ने प्रतिस्पर्धा भयो भने मुलुकलाई फाइदा नै हुन्छ। निर्वाचन लड्दा उठाएका मुद्दाहरू, राजनीतिबाट जनताले अपेक्षा गरेका विषयहरू संसद्मा लगेर प्रतिस्पर्धा गर्न सक्छौं। सरकारले प्रश्न नउठ्ने गरी काम गर्ने, त्रुटि, कमी कमजोरीहरू भएछन् भने पनि त्यसलाई सच्याउने र राजनीतिक दलहरूले पनि जनताको पक्षमा भएका कुराहरूलाई समर्थन गर्ने परिस्थिति निर्माण बन्यो भने संसद्ले अझ बढी सकारात्मक सन्देश दिन सक्छ। यसै त जनतामा निराशा छ, त्यसमाथि संसद्मा अंकगणितकै खेल गरेर सरकार बनाउने-गिराउने मात्रै हुन थाल्यो भने जनतामा झन् बढी निराशा हुनेछ। हाम्रो प्रयास सकारात्मक बाटोतिर लैजाने हुन्छ। प्रतिस्पर्धात्मक राजनीतिलाई स्वच्छ ढंगबाट अघि बढाउने र प्रश्नहरू उठे त्यसको उत्तर खोज्ने, करेक्सनको बाटोतिर लैजाने प्रयत्न मेरो तर्फबाट हुनेछ।

पाँचदलीय गठबन्धनलाई पनि पूर्ण बहुमत नआउनुको कारण के होला ? 

सत्ता गठबन्धनलाई सरकार बनाउन ठ्याक्कै बहुमत पुग्ने स्थिति हुन्छ, जस्तो लागेको छ। चुनावमा शतप्रतिशत भोट अर्को दलमा ट्रान्सफर हुँदैन। जनता दलका बक्यौता होइनन्। जनताले विवेकको प्रयोग गर्छन्। सबै जनताले दलको सदस्यता लिएका पनि हुँदैनन्। सदस्यतै लिएका मतदाताहरूले पनि आफ्नो ढंगले सोच्ने र विवेक प्रयोग गर्ने स्थिति बन्छ। त्यसैले गठबन्धनभन्दा पनि बहु—छनोटको प्रक्रियालाई जनताले बढी रुचाएको जस्तो देखिन्छ। गठबन्धनको सन्दर्भमा शतप्रतिशत मत ट्रान्सफर भएन होला। तर, कतैबाट बेइमानी भएको हैन। नेतृत्व तहमा धेरै इमान्दारिता थियो। जस्तो समानुपातिकतर्पm राष्ट्रिय पार्टी हुन नसक्ने पार्टीले पनि प्रत्यक्षतर्पm १० सिट जितेको स्थिति छ। भोटमा बेइमानी भएको भए यो स्थिति हुँदैनथ्यो। त्यसैले इमान गुमेको छ भन्ने हैन। तर मतदातामा गठबन्धनप्रति धेरै विश्वास देखिएन। त्यसमा मलाई के लाग्छ भने हामीले गठबन्धन गर्दा गणितका आधारमा मात्र गर्‍र्यौं। जनताका स्वार्थलाई गठबन्धनसँग जोड्न सकेनौं। किन हामीले गठबन्धन गरेको ? गठबन्धन गरेपछि जनताले प्राप्त गर्ने कुरा के हो ? भोलि गठबन्धनको सरकार बनेपछि पनि हामीले के गर्छौं ? भन्ने स्पष्ट पार्न सकेनौं। चुनावका बेला विरोधाभास काम पनि भए। जस्तो कि, घोषणापत्र फरकफरक प्रस्तुत गर्‍यौं। तर गठबन्धन पनि गर्‍यौं। कि हामीले गठबन्धनको एउटै घोषणापत्र बनाउन सक्नुपथ्र्यो। कि त घोषणापत्र फरकफरक भए पनि त्यसका केही अंशहरूमा साझा मुद्दा निर्माण गर्न सक्नुपथ्र्यो। त्यसकारण हामीले गठबन्धनलाई सैद्धान्तिकीकरण गर्न सकेनौं। एउटा कमजोरी त्यो देखियो । यो त खालि गणितका लागि मात्र हो। सत्ताका नजिक पुग्नलाई मात्र हो भनेर प्रचार गर्नेहरूलाई बल पुग्यो। अर्को कुरा टिकट वितरणमा कतिपय ठाउँमा स्वाभाविकता अपनाइएन। तेस्रो कुरा गठबन्धनप्रति आम जनताको जुन खालको समर्थन हुन्थ्यो भन्ने हामीलाई लागेको थियो, त्यो पनि भएको देखिएन।

सरकार बनाउन यही गठबन्धन कायम हुन्छ ?

निर्वाचनमा गरेको गठबन्धन अब सरकार बनाउँदा हामी तोड्दैनौं। गठबन्धनको दायरा फराकिलो हुन सक्छ। सरकार गठन गर्न संख्या अपुग भयो भने अरूलाई पनि जोडेर अगाडि जानु नै उपयुक्त हो जस्तो मलाई लाग्छ।

कांग्रेसलाई पूर्ण बहुमत छैन। तर संसदीय दलको नेता बन्न तँछाडमछाड देखिन्छ नि ? 

पार्टीभित्र यस्तो हुनु भनेको सुन्दर पक्ष हो। कांग्रेसबाहेक अरू पार्टीमा प्रधानमन्त्रीका दुई जना उम्मेदवार देखा पर्नु भएको छैन। अरू पार्टीमा त अध्यक्षले निर्देशन गरेपछि सकियो। तर कांग्रेसमा त्यस्तो छैन। कांग्रेसमा शेरबहादुर देउवादेखि गगन थापालगायत थुप्रै नेताहरू संसदीय दलको नेता बन्न आकांक्षी हुनुहुन्छ। मैले आकांक्षी नेताहरूलाई प्रश्न गर्ने हो। तपाईं प्रधानमन्त्री हुनु भयो भने के देशमा के हुन्छ ? सत्तामा हुँदाका कमी, कमजोरीहरू कसरी सच्चिन्छन् ? संसदीय दलको नेता भएपछि देशले कसरी स्थिरता पाउँछ ? समृद्घिको आधार कसरी तयार हुन्छ ? प्राथमिकताहरू के–के हुन् ? नीतिगत भ्रष्टाचार अन्त्य गरेर सुशासन कसरी कायम गर्नुहुन्छ ? निराशालाई अन्त्य गरेर जनतामा आशाको सञ्चार कसरी गर्न सक्नुहुन्छ ? यी मेरा प्रश्न हुनेछन्। त्यसैले उम्मेदवारी दिएर मात्र हैन, यी प्रश्नको जवाफ पनि लिएर आउन म संसदीय दलको नेताका आकांक्षी नेतालाई आग्रह गर्न चाहन्छु।

संसदीय दलको चुनाव लड्न पनि नेताहरूले एजेन्डा लिएर आउनु होला र ?

संसदीय दलको उम्मेदवारहरू हुने इच्छा देखाउनु भएका नेताहरूले उम्मेदवारी किन र केका लागि भनेर त भन्नुपर्छ। आम नागरिकलाई कांग्रेसप्रति कसरी आकर्षित गर्ने ? अर्को चुनावमा गठबन्धन नगरी पार्टीले जित्ने अवस्था कसरी पुर्‍याउने ? पार्टीलाई लोकप्रिय कसरी बनाउने ? संसद्मा धेरै शक्तिको उपस्थितिलाई जोड्ने काम कसरी गर्ने ? भन्ने विषयमा दलको नेता बन्ने आकांक्षीले जवाफ  दिनैपर्छ। सरकारका काममा टीकाटिप्पणी नहुने स्थिति कसरी बनाउनुहुन्छ ? संविधानको आशयबमोजिम काम कसरी गर्नुहुन्छ ?
संवैधानिक अंगमाथिको हस्तक्षेप कसरी कम गर्नुहुन्छ ? यी तमाम विषयहरूका जवाफसहित उम्मेदवारी आउनुपर्छ भन्ने पक्षमा म छु।

कांग्रेसमा गुट, उपगुटका कारण नेताहरू यी प्रश्नको जवाफ दिन तयार होलान् त ?  

राजनीतिक दलमा गुट हुन्छन्। तर गुटलाई कसरी व्यवस्थापन गर्ने ? गुट निर्माणको विचारमा आधारित कसरी बनाउने ? प्रतिस्पर्धालाई स्वच्छ, विचारमुखी कसरी बनाउने ?  भन्ने मुख्य विषय हो। त्यसैले संसदीय दलकै उदाहरण दिउँ न, त्यो त राष्ट्रको नेतृत्व गर्ने कुरा हो नि। संसदीय दलको नेता हुनका लागि कांग्रेस पार्टीको सांसद हुनुपर्छ, तर त्यो कांग्रेसको सांसद उम्मेदवार भएको संसदीय दलको नेता यो देशको प्रधानमन्त्री हुने हो नि। देशको नेतृत्व गर्ने हो। त्यसैले उसले कांग्रेस पार्टीको आन्तरिक लोकतन्त्रको विषय मात्रै उठाएर पुुग्दैन। त्योभन्दा पनि महत्वपूर्ण विषय राष्ट्रको हो। हामी कांग्रेस भएर राष्ट्रलाई जे योगदान पुर्‍याउन खोजिरहेका छौं, त्यो योगदान गर्ने माध्यम भनेको हाम्रो संसदीय दलको नेतृत्व हो। त्यो नेतृत्वले देशलाई भोलि कता लान्छ ? कसरी लान्छ ? लक्ष्य कसरी निर्धारण गर्छ ? भनिरहेका कुराहरूलाई कसरी पूरा गर्छ ? तमाम निराशालाई कसरी अन्त्य गर्छ ? त्यो व्यक्तिको क्षमतासँग पनि निर्भर गर्छ। त्यो क्षमता प्रस्तुत गर्ने नेतृत्व संसदीय दलमा पुग्नुपर्छ। त्यसैले यो गुटको प्रश्न हैन, यो विषयको प्रश्न हो।

ठीक छ गुटै तयार होस् केही भएन। सही विषय बोकेको गुट हुनुपर्‍यो। प्रष्ट विचार आएको हुनुपर्‍यो। आम नागरिकलाई कांग्रेसप्रति आकर्षित गर्ने ढंगको विषयवस्तु आउनुपर्‍यो।

चुनावबाट कांग्रेसमा केही आशलाग्दा युवाहरू जितेर आउनु भएको छ। संसदीय दलको चुनावमा युवा नेताहरू एक ठाउँमा उभिने स्थिति बन्छ कि बन्दैन ? 

हामी एकाएक राजनीतिमा आएका होइनौं। कांग्रेसको अभियानमा १४–१५ वर्षदेखि लागेका मान्छे हौं। तपाईंले ज–जसलाई इंगित गर्नुभएको छ, उहाँहरू सबै त्यही हो। हामीले लामो यात्रा गरिसक्यौं। तर भूमिका पायौं-पाएनौं भन्ने अर्को कुरा हो। भूमिका पाउने सन्दर्भ उठाउँदा त, म अहिलेसम्म संसद्मै नपुगेको मान्छे हो। अरू पनि त्यस्ता हुनुहुन्छ। त्यसैले हामीसँग अपेक्षाहरू गरिएको छ। पार्टीभित्र आन्तरिक लोकतन्त्र विकसित गर्ने सन्दर्भमा थुप्रै कुराहरू उठायौं। देशका बेथिति, विकृति अन्त्य गर्ने सबालमा सडकमा बसेर पनि चोटिलो प्रहार गर्‍यौं। पार्टीकै नेतृत्वको सरकारले गरेको गलत काममा पनि औंला ठड्यायौं। एकदमै जोखिम अवस्थामा पनि बेथिति अन्त्य गर्नका निम्ति सक्रिय बन्यौं। त्यसैकारण जनताका आशा र अपेक्षाहरू छन्। हामीलाई समाजले उठाउने प्रश्नसँग असाध्यै डर लाग्छ। त्यसकारण सचेत छौं। हामीप्रति विश्वास पनि छ। परिवर्तनको महसुस हुने गरी  आफूलाई प्रस्तुत गराउन सक्नुपर्छ।

संसदीय दलको नेतामा युवा नेतृत्व आउने सम्भावना छ कि छैन ? 

यो हाम्रो आन्तरिक छलफलको विषय हो। मैले अघि पनि भने कि, यसमा व्यक्तिको उपस्थिति हुने भन्ने कुरा महत्वपूर्ण छ। त्यसभन्दा बढी महत्त्वपूर्ण कुरा उपस्थित हुन खोजेको व्यक्तिले के लिएर आएको छ ? किन हुन खोजेको ? आफूले गर्न खोजेको काम कसरी गर्ने हो ? त्यो कुरा चित्तबुझ्दो ढंगबाट आउनुपर्छ। त्यसैले यो प्रतिस्पर्धालाई विचारसँग, योजनासँग, विगतसँग जोडौं भन्ने आग्रह हो।

गगन थापाले संसदीय दलको नेता बन्ने घोषणा गरिसक्नु भएको छ नि ?

सांसदहरूले छनोट गर्ने विषयलाई म ‘फोर्सफुल्ली’ भन्न चाहन्नँ। तर यसका आधारहरू बनाइनुपर्छ। आजको कांग्रेस पार्टीको आवश्यकता के हो ? कांग्रेस पार्टीले आफूलाई परिवर्तन भएको सन्देश कसरी दिन सक्छ ? कांग्रेस पार्टीले गरेका त्रुटि, कमी, कमजोरीलाई सच्याएर कसरी अगाडि जान्छ ? कांग्रेस विगतमा भन्दा फरक ढंगबाट आएको छ। यो खण्डित राजनीतिलाई एकीकृत गर्नेगरी हिजो पनि कांग्रेस पार्टीले एकदमै अब्बल समन्वयकारी भूमिका खेलेको छ। विभिन्न आन्दोलन, शान्ति प्रक्रिया, संविधान निर्माणका चरणमा पनि कांग्रेसले समन्वयकारी भूमिका खेलेको छ। अब ती सबै चरण करिब–करिब टुंगिएको स्थिति छ। तर अब समृद्घिको आधार निर्माण गर्ने चरणमा पनि राजनीतिलाई जोडेर लिएर जान जरुरी छ। त्यसैले कांग्रेसको आजको आवश्यकता के हो ? कस्तो नेतृत्व आवश्यक हो भन्ने सबाल कांग्रेसका संसदीय दलका सदस्यहरूले गम्भीर ढंगबाट मनन् गर्नु जरुरी छ। अब हामी निर्वाचनको सबै परिणाम आइसकेपछि सौहाद्र्रपूर्ण ढंगबाट छलफल गर्नेछौ। मित्रवत् प्रतिस्पर्धा हुने स्थिति निर्माण गरेर अगाडि बढ्छौं।

चुनाव जित्ने अवस्था नदेखेपछि तपाईंलाई काठमाडौं-५ मा पार्टीले टिकट दिएको भन्ने चर्चा चलेका थियो नि ?

मैले तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गरेको थिएँ। त्यहाँ नेतृत्वले मलाईभन्दा अरूलाई टिकट दिन चाह्यो। मलाई पनि टिकटबाट विमुख गराउन मिल्दैनथ्यो। राजधानीमा ‘सेल’ हुने मान्छे लाँदा चुनाव जित्न सकिन्छ भन्ने नेतृत्वको बुझाइका कारण मलाई काठमाडौं-५ मा टिकट दिएको हुन सक्छ। अथवा कांग्रेसको उपस्थिति जनाउनुपर्नेछ, कमजोर ठाउँमै लगेर भए पनि व्यवस्थापन गरेजस्तो गरौं भन्ने हिसाबले पनि ल्याइएको हुन सक्छ। जे–जे कारणले ल्याइए पनि निर्वाचन लड्ने मौका पाएँ। त्यसलाई अवसरको रूपमा ठानेर अगाडि बढेँ। खासगरी काठमाडौं-५ का मतदाताले विवेक प्रयोग गर्नु हुँदोरहेछ भन्ने ठम्याइँ मेरो छ। मलाई टिकट दिँदा कसैबाट पनि परिणाममुखी हुन्छ भन्ने ढंगको ढाडस प्राप्त भएको थिएन। तैपनि म कुनै पनि कुराबाट विचलित नभई आफ्ना कुरा पस्किन पछि परिनँ। मैले निरन्तर आफ्ना विषय राखेँ। नेपाली राजनीतिको यथार्थ विषयलाई आँफैले चित्रण गरेँ। कमी, कमजोरीहरू मतदाताका बीचमा प्रष्ट ढंगले नढाटीकन राखेँ। मैले भनेको छु, ‘राजनीतिलाई सफा गर्नेगरी मेरो संसद्मा उपस्थिति हुन्छ। सुशासन कायम गर्ने सबाल मेरो मुख्य आधार हो।’ त्यसको निमित्त मैले निरन्तर पैरवी गर्नेछु।

जस्तोसुकै जोखिम मोल्न परेपनि म त्यो अभियानलाई अगाडि बढाउनेछु । राजधानी सफा गर्नका लागि स्थानीय सरकारको लगानीले मात्र पुग्दैन। प्रदेश सरकारको पनि थपिनुपर्छ र मुख्य कुरा राजधानीका तमाम पूर्वाधार विकासको विषय केन्द्रीय सरकारको लगानीमा अघि बढ्नुपर्छ भनेर मैले भनेको छु। हामीले बनाएका पूर्वाधारहरू आजको जुन जनसांख्यिक अवस्था छ। त्यसलाई धान्ने खालको छैन। नयाँ पूर्वाधार विकास गर्नका निम्ति त्यो दिगो र व्यवस्थित ढंगबाट अघि बढाउनुपर्छ। त्यसका लागि धेरै ठूलो लगानी चाहिन्छ। नेपालमा पर्यटनको क्षेत्रमा विकास गर्ने हो भने लाखौं पर्यटक नेपाल भित्यारउने हो भने त्यसको लागि पहिला राजधानीको पहिचान बदल्न जरुरी छ। केन्द्रीय सरकारले स्पष्ट गुरुयोजना बनाएर व्यापक लगानी गर्नुपर्छ।

काठमाडौं संसारकै प्रदूषित सहरमा पर्छ। यसको वातावरणीय अनुकूलता, जलवायु परिवर्तनले पार्ने प्रभावलगायत कुरासँग जोडेर हाम्रा पूर्वाधारहरू तयार गरिनुपर्छ भनेर जनतासमक्ष राखेको छु। मुद्दाप्रतिको विश्वास, मेरो विगतप्रतिको विश्वास र अहिलेको मेरो प्रस्तुतिसँग विश्वास भएर मतदाताहरूले प्रतिनिधि भएर सेवा गर्ने मौका दिनुभएको छ। म सफल भएको हैन, मैले मौका प्राप्त गरेको हो। अबको पाँच वर्षभरि मैले आम जनतालाई जे प्रतिबद्घता व्यक्त गरे त्यो प्रतिबद्घता पूरा गर्नेगरी अगाडि बढ्नेछु।

तपाईंका यी मुद्दाहरू कार्यान्वयन गर्न त मन्त्री नै बन्नुपर्‍यो नि ? 

आँफै भूमिकामा रहेर काम गर्ने परिस्थिति बन्दा धेरै राम्रो हुन्छ। त्यसका लागि पनि प्रयास हुन्छ। त्यस्तो मौका प्राप्त भएन भने पनि खबरदारी गर्ने, विषयहरू निरन्तर उठाउने, दबाब सिर्जना गर्ने भूमिकामा म खरो ढंगले उत्रने छु। संसद्मा तमाम बेथितिका विरुद्घ लड्नेछु। यहाँका विकास निर्माणका कामलाई सम्बन्धित ठाउँमा गएर दबाब सिर्जना गरेर पूरा गर्नेछु।

यो चुनावबाट केही पुरातनवादी शक्ति र केही नयाँ शक्ति पनि उदाएका छन्। कांग्रेस, एमालेजस्ता मूलधारका पार्टीप्रति जनविश्वास खस्किएको जस्तो लाग्दैन ? 

चुनावबाट कांग्रेस पहिलो पार्टी हुँदैछ। प्रत्यक्षतर्फ पनि कांग्रेसले धेरै सिट जितेको छ। कांग्रेसप्रति आमजनता सन्तुष्ट छन् भन्न मिल्ने स्थिति छैन। कुनै न कुनै उपायले विकल्प खोजी राखिएको त हैन भनेर आशंका गर्नुपर्ने ठाउँहरू प्रशस्त देखिएका छन्। धेरै कमजोर भएर सच्चिनुपर्ने स्थिति आयो भने पिकअप लिन गाह्रो हुन्छ। बलियो हुँदा नै सच्चिनुपर्छ भन्ने कुरा बुझ्न सकियो भने सजिलो गरी सच्चिन सक्छ। त्यसैले हामीले भनेका विषय सबै नागरिकलाई चित्त बुझेको छैन। अथवा बुझाउन सकिएको छैन। हामीले उठाएका मुद्दाले पूर्णता प्राप्त गरेको देखिँदैन। हाम्रो चल्ने शैली, गर्ने व्यवहारमा पनि आम परिवर्तन खोजिएको हो कि जस्तो देखिन्छ। अनि हाम्रो विगतलाई पनि राम्रै मूल्यांकन गरेको देखिन्छ। त्यसैले यी सबै कुरामा हामी सच्चिएको देखिनुपर्छ। विगतका कमी–कमजोरीलाई स्वीकारेर सच्याएर अघि बढ्नुपर्छ।

ठुला पार्टीहरूप्रति जनताको आकर्षण किन नभएको होला त ? 

ठुला पार्टीहरूले कमजोरी नदोहोर्‍याउने नयाँ बाटो के हो ? आम जनताको स्वार्थसँग जोडेर हामीले प्रतिबद्धता प्रस्तुत गर्न जरुरी छ। घोषणापत्रमा पूर्णता नभएर नै कतिपय स्थान गुमाउनु परेको छ। अथवा घोषणापत्र देखावटीमात्र हो भनेर त्यसलाई मात्र प्रस्तुत गरेर प्रतिबद्घतालाई विश्वास नगरिएको स्थिति पनि छ। त्यसैले हामीले नयाँ शिराबाट जानका लागि सरकारमा जानुअघि नयाँ वैचारिक दस्तावेज तयार पार्नुपर्छ। त्यसअनुसारको नेतृत्व तयार गर्नुपर्छ। त्यसमा कुनै पनि कुरा लुकेको हुनु हुँदैन। सबै कुरा प्रष्ट ढंगले आएको हुनुपर्छ। सुशासनप्रतिको इमान्दार प्रतिबद्घता देखिनुपर्छ। त्यसो भयो भने हामीले कांग्रेसलाई लोकप्रिय बनाउन सक्छौं। वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएकाहरूसँग सहकार्य गरेर अगाडि बढ्न सक्छौं। नत्र भने विकल्प अझै बलियो हुने स्थिति पनि बन्न सक्छ। त्यो कुरालाई मध्यनजर गरेर हामीले आफ्नो समीक्षा आपैmँले गर्ने र कमी कमजोरीलाई सच्याउने गरी अगाडि जानुपर्छ।

परिवर्तनलाई फिटिक्कै नरुचाउने र एकदमै नयाँ एजेन्डा लिएका पार्टीको उपस्थितिले ठुला दललाई ‘थ्रेट’ महसुस हुन्छ होला नि ?

यो परिवर्तनले, यो संविधानले डेलिभर गर्न सकेन भन्न खोजिँदैछ, तर स्थिति त्यस्तो होइन। संवैधानिक व्यवस्थाले डेलिभर गर्न रोकेको हैन। नेतृत्वको व्यवहारले समस्या भएको हो। त्यसैले सच्याउनुपर्ने भनेको डेलिभर गर्ने प्र्रक्रियामा हो। हाम्रो डेलिभर गर्ने प्रक्रिया विश्वसनीय भएन। त्यसले प्राथमिकता निर्धारण गर्न सकेन। केन्द्रमा जनतालाई राख्न सकेन। गणतन्त्र, संविधान र संघीयताले त्यसो गर्न सकेन भनेर प्रश्न उठाउन थालिएको छ। कारण त्यो होइन,  कार्यान्वयन पक्षको कमजोरी हो। कार्यान्वयन प्रक्रिया सच्चिएन भने सैद्धान्तिक पक्षमै प्रहार हुन्छ। अहिलेको बहुरूपी जुन संसद् छ, त्यो संसद्भित्र आज प्राप्त भएका कुरालाई उपलब्ध भएको मान्ने शक्तिले डेलिभर गर्ने मौका पाउँछ। डेलिभर गर्दा विगतको जस्तो कमजोर र फितलो पर्फमेन्स हुनु भएन। प्रभावकारी हुनुपर्‍यो। अन्नपूर्ण

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार