असार २३, २०८२ सोमबार July 7, 2025

सभापतिलाई सम्मानजनक ढंगले बिदा गरेर युवा पुस्तालाई स्वीकार गर्नुपर्ने अवस्था बनाउँछौं। – बद्री पाण्डे (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निर्वाचनमा झगडा गर्ने कुरामा बाजुरा किन अगाडि देखियो ?

केही मतदान केन्द्रहरू २०४८ सालदेखि नै धाँधलीको सिकार भएका छन्। स्वतन्त्र ढंगले मत खस्ने हो भने हाम्रो प्रतिस्पर्धा हुने प्रष्ट छ। तर यस पटकको सदर मत हेर्दा मेरो ५७ छ र एमालेको १३२७ रहेको छ। त्यस्तै प्रदेशको पनि एमालेको उम्मेदवार भएको ठाउँमा ९७ प्रतिशत मत खसेको छ। यस्ता विषयले केही विवाद सिर्जना अवश्य भएका छन्।

बुथ कब्जा र सत्ताको दुरुपयोग तपाईंहरूले गरेको भन्ने आरोप छ नि ?

त्यो मिथ्या हो। पहिला पनि धेरै चुनावमा म पराजित भएको छु। हारेर पनि मान्छे जित्छ भन्ने सोचाइ भएको मान्छे हुँ म। जितेको राम्रो हो। तर, नजितेको पनि झन् राम्रो हो। हारे पनि त्यो ठाउँमा मैले धेरै राम्रो गर्नुपर्दछ भनेर चाहन्छु म।
मलाई एमालेको कुनै नेताले स्वास्थ्य विचारले चुनाव गर्यो। बद्रीले धाँधली गर्यो भनेर अन्तर आत्मादेखि भन्छ भने म राजनीति छोडिदिन्छु।

चुनावकै क्रममा तपाईंको जिल्लामा दुई व्यक्तिको हत्या भयो। यो सन्दर्भमा तपाईंको टिप्पणी के छ ?

करिब पाँच बजेको आसपासमा मतदान सकिने बेला दुई पक्षका बीचमा सामान्य विवादका कारण गोली चल्यो। घटनामा विवाद भए पनि कतैबाट गोली चलाउन आदेश थिएन। यो घटनाको छानबिन भइराखेको छ। दुई जना होनहार युवाको ज्यान गएको छ। छानबिन समिति बनाएर दोषीलाई पहिचान गरेर कडा कारबाही गर्नुपर्छ। मृतकको परिवारलाई न्याय दिनुपर्छ भन्ने मेरो धारणा छ।

अहिले अध्यादेश आएको छ र यसको चौतर्फी विरोध भइरहेको छ। यसको बारेमा तपाईंको के टिप्पणी छ ?

यसरी ल्याउनु नै थियो भने यो चुनाव भन्दा अगाडि नै ल्याएको भए हुन्थ्यो। अहिले अध्यादेशका लागि हतारो नै गर्नु पर्ने अवस्था होइन। सुरुमा ती पार्टीका सांसदसँगै मिलेर सरकार बन्थ्यो। त्यो सरकारले संसदमा बहुमत प्राप्त गर्नेथियो। त्यसपछि विधेयक ल्याएको भए त्यो बाटो सुल्टो हुन्थ्यो। यो बाटो उल्टो भएको जस्तो लाग्छ मलाई। हिजो केपी ओलीको सरकारमा भएको गल्तीहरूलाई सुधारेर जाने भन्ने हाम्रो कुरा हो। तर आज त्यो भएन। आम जनताले तिमीहरू पनि त्यस्तै त हौ नि भन्न थालिसकेका छन्। यो निर्णय ठिक छैन।

पार्टीको पदाधिकारीलाई पनि नसोधी देउवाले आफू फेरि प्रधानमन्त्रीमा दोहोरिने मनोभावना लिएर अगाडि बढ्नु भएको हो ?

पार्टी सभापति र निर्वाचन सम्पन्न गरेको प्रधानमन्त्रीको हिसाबले यो गठबन्धनलाई अगाडि बढाउनु उहाँको कर्तव्य हो। तर व्यक्तिगत रुपमा निर्णय गरेर मतदाताको अधिकारको दुरुपयोग कसैले गर्नु हुँदैन। जनताले मत दिएको सत्ताको लागि मात्र हो भनेर हेर्नु हुँदैन।

नेताहरूले पुरानो नै सोच र मान्यताले काम गरे। त्यसैले जनताले नयाँलाई जिताए, त्यसमा तपाईंलाई के लाग्छ ?

म धेरै सार्वजनिक रुममा प्रकट हुन चाहन्न। मैले सिनियर नेताहरूलाई तपाईंहरु २०४८ सालदेखि चुनाव लड्दै आउनु भएको छ। तर अहिले २०४८ सालमा जन्मेको मान्छे नै चुनाव लडेर आइसक्यो। त्यसकारण एक प्रकारको ठूलो कोलाहल भएको छ। यसलाई हामीले घटाउने हो। प्रतिस्पर्धालाई स्वस्थ बनाउने हो। मान्छेलाई धैर्य गराउन सक्नु पर्दछ भनेको थिएँ। सम्मानजनक बाटोमा राजनीतिलाई नलैजाने हो भने यहाँ विकृति मात्र आउँछ। राजनीति भनेको सधैँ र सबैले गर्ने होइन। एउटा मान्छेले निर्वाचित भएर केही दिन काम गर्छ। जति गर्नुपर्ने हो पाँच वर्षमा गर्छ । अझै गर्ने सम्भावना छ भने जनताले फेरि पाँच वर्ष जिम्मेवारी दिएर १० वर्ष काम गर्न सक्छ। तर राजनीतिक भनेको धेरै पटक पटक आएर पेन्सन पकाउने ठाउँ होइन। पुराना दल, नेता र प्रवृत्तिको कारणले रियाक्सनमा नयाँ शक्तिहरू आएका छन्। जनताले यहाँ निराश भएर त्यहाँ मत दिए। यो विषयलाई नेतृत्वले बुझ्नुपर्छ।

पार्टी सुधारको निम्ति विद्रोही चेत त हुनु पर्यो नि ?

१४ औ महाअधिवेशन सम्पन्न हुँदै गर्दा हाम्रो पार्टीमा चारदेखि पाँच जना सभापति चुनावी मैदानमा हुनुहुन्थ्यो। नयाँ विकल्प दिन्छौँ, नयाँ नेतृत्व ल्याउँछौँ भनिए पनि विकल्प कसैले दिन सकेन। त्यो परिस्थितिबाट पाठ सिक्दै हामीले संसदीय दलमा पनि एउटा आन्तरिक अभ्यास गर्नुपर्छ। अब शेरबहादुर राम्रो हैन भन्ने तर उहाँलाई नै निर्वाचित गराउने प्रवृत्ति छ। यो त सही भएन।

तपाईँहरूले पनि बोलेको जस्तो विकास गर्नु भएन भन्छन् ?

यो सत्य हो। मूल रुपले मूल केन्द्र हाम्रो पार्टीको विधानले प्रधानमन्त्री नै हो। तर हामीले आफ्नो गल्ती स्वीकार गर्नुपर्छ। फेरिफेरि हामीले उहाँलाई जिम्मेवारी दिएर विद्रोह गर्न नसक्नु हाम्रो गल्ती हो।

अब, कांग्रेस सुध्रिने हो ?

कांग्रेसको विचार र दर्शनको हिसाबले सभ्य हुन्छौँ। सभ्य समाज निर्माण गर्दछौँ। हाम्रो पद्धति मान्यता ठिक छ। तर व्यवहारले नराम्रो भयो। अहिले भएको कुरा जनताको धारणामा परिवर्तन गर्न यो नेपाली कांग्रेसलाई सुधार्नु पर्दछ।

अब हामी आउनु पर्दछ भन्नु हुन्छ। तर, फेरि देउवालाई नै अगाडि बढाउने पद्धति किन ?

संसदीय दलमा ८९ जनाले भोट हालेर कति जनालाई परिवर्तन गर्न सकिन्छ भनेर विश्वास गर्न सक्ने अवस्था छैन। अहिले सकिएन भने पनि पार्टीका १५ औं महाधिवेशन आउदै छ। त्यो बेलासम्ममा गछौँ। अब बन्ने सरकार पनि हाम्रो नै नेतृत्वमा बन्ने हो। त्यसैले पार्टीलाई कमजोर हुन नदिने गरी हामीले जनताको मन जित्नु पर्दछ।

अब पनि देउवाको नेतृत्वमा सरकार बनाएर जाने कि युवा नेता गगन थापाको नेतृत्वमा ?

हामी नेतृत्व परिवर्तनका लागि १४ औं अधिवेशनदेखि नै लागेका थियौँ। हामीले सभापतिलाई सम्मानजनक ढंगले बिदा गरेर युवा पुस्तालाई स्वीकार गर्नुपर्ने अवस्था बनाउँछौँ। खबरहवबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया