कार्तिक २९, २०८३ आइतबार November 15, 2026

मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ। निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ।

गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि केबलकारको निर्माण अन्तिम चरणमा रहेको कम्पनीका व्यवस्थापक गोकुल सावदले बताए। यसका लागि स्थानीय धार्मिक र सामुदायिक वनको सानाठूला गरी एक हजारभन्दा बढी रुख कटान गरिएको थियो। वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा सालकासहित एक हजार ३८ रूख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ।

आइएमइ समूहले गैँडाकोटमा केबलकार सञ्चालनमा ल्याउन लागेको हो। मौलाकाली केबलकार प्रालिले करिब एक अर्ब ५० करोड रुपैयाँको लागतमा आयोजना अगाडि बढाएको हो। यही पुस महिनाबाट सञ्चालनमा ल्याउने तयारीसहित केबलकार निर्माण अगाडि बढाइएको भए पनि कोभिडलगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको  कम्पनीले जनाएको छ।

केबलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहने आइएमइ समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। स्थानीयले कम्तीमा ५० हजारदेखि बढीमा पाँच लाख रुपैयाँसम्म लगानी गर्ने ढकालको भनाइ छ। केबलकारले स्थानीयसहित करिब चार सय व्यक्तिलाई रोजगारी दिने कम्पनीको भनाइ छ।

मौलाकाली मन्दिर नजिकै रहेको हेलिप्याडमा ५० कोठाको होटल, लज पनि निर्माणाधीन अवस्थामा रहेको व्यवस्थापक सावदले बताए। मन्दिर नजिकै रहेको हेलिप्याडमा केबलकारको टपस्टेशन निर्माण हुनेछ भने मौलाकालिका फेदीमा रहेको धारापानीमा बटम स्टेशन हुने उनले जानकारी दिए। ‘हेलिप्याड भएको ठाउँमा टपस्टेशन निर्माण गरे पनि हेलिप्याडसमेत निर्माण हुन्छ’, उनले भने, ‘टपस्टेशनको माथि होटल र त्यो भन्दामाथि हेलिप्याड राख्ने गरी निर्माणको काम भइरहेको छ।’

केबलकारले एकतर्फी लम्बाई एक हजार दुई सय मिटर लामो हुनेछ। यसका लागि छ  टावर निर्माण गरिनेछ। केबलकारमा १४  डब्बा राखेर यात्रु ओसारिने जनाइएको छ। केबलकारमा थप एउटा सामान बोक्ने र अर्को एउटा सर्भिसिङ डब्बा हुनेछन्। एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ। हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ।

केबलकार सञ्चालनमा आएपछि प्रतिदिन छ हजार यात्रु आवतजावत गराउन सकिने कम्पनीको विश्वास छ। केबलकार सञ्चालनमा आएपछि भक्तजन १० मिनेटको यात्रामा मौलाकाली मन्दिर पुग्ने व्यवस्थापक सावदले बताए। अहिले मन्दिर पुग्न एक हजार आठ सय ८२ खुड्किलो उक्लिँदा करिब ४५ मिनेट समय लाग्ने गरेको छ।

केबलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ। कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ। कम्पनीले पूर्वी नवलपरासीकै मिथुकरम (दुर्गम पहाडी) गाउँको जग्गा किनेर सरकारलाई दिएको हो। चन्द्रागिरि हिल्स र मनकामना केबलकार निर्माण गरेको अस्ट्रेलियन कम्पनीले  नै मौलाकाली केबलकार निर्माणको काम गरिरहेको जनाइएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार