चैत्र १५, २०८० बिहिबार March 28, 2024

अरुकै नाममा रहेको सिम चलाउनुहुन्छ ? आफ्नो नाममा दर्ता गर्ने तरिका यस्तो छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिका लागि अहिले आफ्नै नामको सिमकार्ड (मोबाइल नम्बर) प्रयोग गर्नपर्ने आवश्यकता छ । मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैकिङ लगायत सुविधा सुरक्षितसाथ प्रयोग गर्न सकिने अवस्था सिर्जना भएको छ ।

अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिबाट रकम गुमाउनुपर्ने सम्मको अवस्था तथा सामाजिक सञ्जालको दुरुपयोग भई अनेक कानूनी झमेलामा पर्ने सम्भावना रहन्छ ।

यसैबीच सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ग्राहकलाई आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको/बिग्रिएको खण्डमा सिमकार्ड आफू स्वयं उपस्थित भई प्राप्त गर्न अनुरोध गरेको छ ।

‘ग्राहकको सुरक्षामा विशेष ध्यान दिँदै सहजै सेवा उपलब्ध गराउन नयाँ सिमकार्ड लिँदा वा सिमकार्ड परिवर्तन गर्दा मापदण्डहरु कार्यान्वयनमा ल्याइएको टेलिकमले जनाएकाे छ ।

”नयाँ सिमकार्ड लिन ग्राहकले आवेदन फारममा आवश्यक विवरण स्पष्ट रुपमा भरेको तथा ग्राहकको नाम, ठेगाना, परिचय पत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचय पत्र नम्बर र सम्पर्क नम्बर स्पष्ट रुपमा लेख्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ, ”स्वयं उपस्थित हुने ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराइने छ र परिचय पत्रको प्रतिलिपिलाई सक्कल परिचय पत्रको नाम, बुवाको नाम, परिचय पत्र नम्बर र जारी भएको मिति र जिल्लाका आधारमा रुजु गरिन्छ ।”

त्यस्तै सिमकार्ड बिग्रेर, हराएर वा अन्य कारणले सिमकार्ड परिवर्तन गर्नुपर्ने अवस्थामा ग्राहक स्वयं उपस्थित भएमा सिमकार्ड परिवर्तनको फारम पूर्ण रुपमा भरेको/नभरेको जाँचपछि ग्राहकको परिचय पत्रको सक्कल र नक्कल लगायतका विभिन्न कागजात रुजु गरी सिमकार्ड उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

अरूकै नाममा रहेको सिम आफ्नो नाममा परिवर्तन गर्ने तरिका

यदि तपाईं नेपाल टेलिकमको सिम प्रयोगकर्ता हो र तपाईं अरु कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने अब सिमकार्ड आफ्नो नाममा नामसारी गर्नुपर्ने अवस्था आएको छ । त्यसका लागि सुरूमा सिमकार्ड कसकाे नाममा छ पत्ता लगाउन आवश्यक छ ।

टेलिकमका प्रयोगकर्ताले आफ्नो मोबाइलमा *९२२# डायल गरेर सिम कसको नाममा छ भनेर थाहा पाउन सक्छन् । यदि तपाईँको नाममा सिमकार्ड दर्ता छैन, तर आफ्नो नाममा परिवर्तन गर्न चाहनुहुन्छ भने टेलिकमले निश्चित प्रक्रिया तोकेको छ ।

प्रिपेड सिमकार्ड नामसारीका लागि तपाईं सिमकाे वास्तविक ग्राहकसहित टेलिकमको कार्यालय पुग्नुपर्नेछ । सिममा दर्ता भएकाे व्यक्ति सँगै नभएमा कार्यालय उपस्थित हुन नसक्ने कारणसहित ग्राहकको मञ्जुरीनामा र सक्कल परिचय पत्रका आधारमा सिम लिन आउने व्यक्तिको सक्कल परिचयपत्र देखाई सोको प्रतिलिपि रितपूर्वक भरिएको फारमसाथ संलग्न गर्नुपर्छ ।

त्यस्तै विगत ६ महिनाभित्र उक्त सिमकार्ड बाट कल गर्नुभएको ५–७ ओटा नम्बर भेरिफाइ गर्नुपर्ने हुन्छ । कागजात रुजु कार्य सम्पन्न भएपछि सिमकार्ड परिवर्तन हुन्छ ।

सिम लिने ग्राहकभन्दा फरक ग्राहकको विवरण दर्ता रहेको अवस्थामा प्रयोगकर्ता र दर्ता रहेको ग्राहकको मोबाइल नम्बर अद्यावधिक गरी लिने र दिने व्यक्ति आ-आफ्नो नागरिकताको सक्कल वा अन्य आधिकारिक परिचय पत्रको सक्कल र तिनका प्रतिलिपिसहित स्वयं उपस्थित भई निवेदन दिन सकिने व्यवस्था रहेको छ ।

कुनै ग्राहक अशक्त भएमा निजको मञ्जुरीनामा पत्र र परिचय पत्रको सक्कल तथा प्रतिलिपि, लिन आउने व्यक्तिको सक्कल परिचय पत्रसहित उपस्थित भएमा तथा कुनै ग्राहकको मृत्यु भएमा नाता प्रमाणित गर्ने कागजात र मृत्यु प्रमाण पत्रसहित हकवाला नातेदार सक्कल कागजात तथा परिचय पत्रसहित उपस्थित भएमा सिमकार्ड उपलब्ध हुने टेलिकमले जनाएकाे छ ।

कम्पनीका अनुसार वास्तविक प्रयोगकर्ता भन्दा फरक ग्राहकको विवरण भएको अवस्थामा सिम लिने ग्राहकको कबुलियतनामा पत्र र परिचय पत्रका साथमा ग्राहक आवेदन फाराम भरेपछि थप पुस्ट्याई गरी सिमकार्ड परिवर्तन गर्न सकिन्छ ।

पोस्टपेड सिममा कसरी गर्ने नामसारी ?

पोस्टपेडको हकमा पनि सिमकार्ड लिने र सिमकार्डमा नाम भएका दुवै व्यक्ति कार्यालयमा उपस्थिति हुनुपर्नेछ । यदि सिमकार्डमा नाम भएको व्यक्ति उपस्थित हुन नसकेको खण्डमा उक्त व्यक्तिको वारिसनामा सहित कार्यालय पुग्नुपर्नेछ ।

त्यतिमात्रै नभएर साथमा लिने व्यक्तिको सक्कली नागरिकतासहित फोटोकपी र सिमकार्डमा नाम भएको व्यक्तिको नागरिकताको फोटोकपी अनिवार्य चाहिन्छ । भने, लिने व्यक्तिको एक प्रति फोटाे पनि आवश्यक पर्नेछ ।

यदि संस्थाको हकमा भएको खण्डमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्नेछ । यी कागजपत्र लिएर कार्यालय पुगी त्यहाँ तपाईंले एउटा फर्म भर्नुपर्ने हुन्छ । उक्त फर्म भरेर तपाईंले सिमकार्ड आफ्नो नाममा सार्न सक्नुहुनेछ ।टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया