काठमाण्डौः मिर्चैया नगरपालिकास्थित मिर्चैया अस्पतालमा सुत्केरी हुन आउनेको चाप बढ्न थालेको छ । सामान्यदेखि शल्यक्रिया गरेरै सुत्केरी गराउनेलाई सम्पूर्ण औषधि र उपचार खर्च निःशुल्क भएपछि सेवाग्राहीको चाप बढेको हो ।
प्रसूति सेवा, बालरोग विशेषज्ञ सेवा, समान्य मेडिसिन सेवा, एक्सरे, ल्याबसेवासहित अस्पतालका लागि आवश्यक सबै पूर्वाधार भएकाले सुरक्षित सुत्केरी गराउन अस्पताल सक्षम भएको अस्पताल प्रशासनले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्रको जनशक्ति र नगरपालिकाले थप गरेका जनशक्तिबाट अहिले १५ शय्याको अस्पताल सञ्चालन भइरहेको स्वास्थ्य शाखा प्रमुख विजयकुमार सिंहले जानकारी दिए ।
उनले अस्पताल विकास समितिको अध्यक्षमा मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले धैरै सहयोग गरेको बताए । नगरप्रमुख यादवले अस्पताललाई पूर्णरूपमा सबै सेवा पाउने गरी विकास गर्न लागिरहेकाले स्वास्थ्य सेवामा चालु आर्थिक वर्षका लागि रु ५० लाख रकम छुट्याइएको जानकारी दिए ।
सुत्केरी, बालरोगलगायतका अन्य समस्या लिएर निजी अस्पतालमा जान बाध्यता भएका यस क्षेत्रका सेवाग्राहीले गुणस्तरीय सेवा सुविधा पाएपछि सुत्केरीसहितका अन्य बिरामीले उपचार गराउन जानेको सङ्ख्या बढ्न थालेको छ । नगरप्रमुख यादवले सामान्य जनताले सहज ढङ्गले उपचार पाउन सकुन् भन्ने उद्देश्यले अस्पतालको सेवा विस्तार गर्न लागेको बताए । उनले भने, “ संविधानले नै निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउनु नैसर्गिक अधिकारका रूपमा व्याख्या गरेको छ । यसलाई कार्यान्वयन गराउने जिम्मा स्थानीय सरकारको पनि हो । यो संविधानको कार्यान्वयन गर्ने अभ्यास पनि हो ।”
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया