बैसाख २१, २०८३ सोमबार May 4, 2026

समृद्धिको बाधक व्यवस्था कि नेतृत्व ?- डा. चन्द्र भण्डारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालको राजनीति, विकास र समृद्धिमाथि वस्तुनिष्ठ बहस गरी मूल्यांकन गर्ने समय आएको छ । नेपालमा लामो समयसम्म राजाले शासन गरे । त्यस्तो शासन एकतन्त्रीय भयो, राजाका कारण देशको विकास र समृद्धि सम्भव भएन भनेर ०४६ सालमा राजालाई संवैधानिक सीमाभित्र राखेर संसदीय व्यवस्था स्थापना गरियो । ०६२/६३ को आन्दोलनपछि राजा सधैँका लागि बिदा भए । सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पुग्यो । देशमा धर्मनिरपेक्ष संविधान बन्यो । राज्यले धान्नै नसक्ने र नेताहरू बेरोजगार बस्नु नपर्ने खालका राजनीतिक संरचना बने । तैपनि, किन देश अघि बढ्न सकेन ? यतिखेर त्यसको सुरुवातदेखि आजसम्मको ३० वर्षे अवधिको समीक्षा गर्नुपर्ने घडी आएको छ । राजनीतिक, सामाजिक, आर्थिक विकासका निम्ति, हामीले ल्याएको संसदीय प्रणाली कहाँ-कहाँ चुक्यो, त्यसको समीक्षा नगरी हामीले आगामी दिशा निर्धारण गर्न सक्दैनौँ । त्यसका निम्ति विगतदेखि वर्तमानसम्मको वस्तुनिष्ठ मूल्यांकन जरुरी छ ।

नेपालको लोकतन्त्रमाथि प्रश्न : पछिल्लो समयमा हामीले पटक–पटक लडेर ल्याएको लोकतन्त्रमाथि नै प्रश्न उठिरहेको छ । यसरी लोकतन्त्रमाथि किन, कसरी र कसका कारणले प्रश्न उठ्दै छ ? यो नै आजको सर्वाधिक महत्वपूर्ण प्रश्न हो । देशमा लोकतन्त्र ल्याउन जनताले लामो कालखण्डमा पटक–पटक संघर्ष गरे । हजारौँले बलिदान गरे, हजारौँ अंगभंग भए । कैयौँले आफन्त र घरबार गुमाए । यस क्रममा हामीले ०४६ को बलिदानी संघर्षबाट सक्रिय राजालाई पिँजराभित्र राखेर संवैधानिक राजतन्त्रसहितको बहुदलीय लोकतान्त्रिक व्यवस्था ल्यायौँ । देशमा लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन र देशको आगामी शासनसत्ता सञ्चालनका लागि सन्तनेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा एक वर्षभित्र संविधान निर्माण गरी आमनिर्वाचन सम्पन्न गरियो । निर्वाचनपछि स्पष्ट बहुमतसाथ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो । यस चरणमा देशमा ठुल्ठूला विकास आयोजना सुरु भए । जनतासम्म स्वास्थ्य सेवा पुर्‍याउन अस्पताल तथा जनताका छोराछोरीलाई शिक्षा दिन स्कुल, कलेज आदि स्थापना भए । सडक निर्माणको लहर आयो । खानेपानी आयोजनाहरू अघि बढे । उद्योगधन्दा र कलकारखाना स्थापित भए । सञ्चार क्षेत्रमा आमूल सुधार भयो । जिल्ला–जिल्लामा एफएम रेडियो सञ्चालनमा आए । पत्रकारिता क्षेत्र व्यापक फस्टायो ।

यसरी देशले विकास, निर्माण र समृद्धिको बाटो समातिरहेको समयमा तत्कालीन सत्तारुढ कांग्रेसभित्र आन्तरिक द्वन्द्व सुरु भयो । सन्तनेता किशुनजी, गणेशमानजी र गिरिजाबाबुबीच मनमुटाब बढ्दै गयो । पार्टीमा आन्तरिक द्वन्द्व बढ्दै गएको अवस्थामा ०५१ सालमा पंक्तिकारले राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा नेतात्रयलाई एउटै मञ्चमा राखेर भनेको थियो– तपाईंहरू यसरी किन आन्तरिक झगडा गर्दै हुनुहुन्छ ? गणेशमानजी, तपाईं प्रजातन्त्रका पिता हुनुहुन्छ । किशुनजी, तपाईं गृहस्थीविहीन नेता हुनुहुन्छ । सबै नेपाली नै तपाईंका सन्तान हुन् । गिरिजाबाबु, तपाईं किन आफ्ना दाजुका मित्रसित द्वन्द्व गरिरहनुभएको छ ? तपाईंका पिता कृष्णप्रसाद कोइरालाले नेपाली जनतालाई रैतीबाट नागरिक बनाउन बीजारोपण गरेको क्रान्ति किन भुल्दै हुनुहुन्छ ? यस्तो गौरवशाली विगत र वर्तमान भएका नेताहरू ससाना विषयमा किन झगडा गर्दै हुनुहुन्छ ? पंक्तिकारले त्यतिवेलै भनेको थियो– तपाईंहरूले जुन–जुन व्यक्तिहरूलाई समाइरहनुभएको छ, तिनले पार्टी पनि फुटाउँछन्, ती जेल पनि जान्छन् र तिनीहरूबाट प्रजातन्त्रको रक्षा पनि हुन सक्दैन । ती भनाइ विभिन्न सञ्चार–माध्यमका सम्पादकीय बने । लेखकका लेख बने तर पंक्तिकारको राजनीतिक यात्राका लागि भने ठूलो पर्खाल बन्यो । गणेशमानजी र किशुनजीजस्ता विश्वनेतासित तुलना गर्न सकिने नेताले पनि तत्कालीन समस्यालाई व्यवस्थापन गर्न सक्नुभएन ।

जसले आफ्नो इतिहास भुल्छ, धर्म र संस्कृतिको अपमान गर्छ, रसिदका आधारमा कार्यकर्तालाई बन्दी बनाउँछ र ठूलो पर्खाल अनि सुरक्षाकर्मीको घेरामा आफूलाई सुरक्षित ठान्छ, ऊ नै नेपालको विकासको बाधक हो ।

जसका कारण देश अस्थिरतातिर गयो । भ्रष्टाचार मौलाउँदै गयो । पार्टीभित्रको आन्तरिक खिचातानी चर्किंदै गयो । परिणामतः आफूसित स्पष्ट बहुमत हुँदाहुँदै पनि गिरिजाबाबुले देशलाई मध्यावधि निर्वाचनमा होमिदिनुभयो । मध्यावधिपछि कांग्रेस सानो पार्टीमा खुम्चियो । देशमा कम्युनिस्टको अल्पमतको सरकार बन्यो । हिजो पञ्चायत फाल्न एउटै मोर्चामा कुम जुधाएर संघर्ष गरेका कांग्रेस र कम्युनिस्ट पार्टीहरू कहिले सूर्यबहादुर थापाको त कहिले लोकेन्द्रबहादुर चन्दको पुच्छर बनेर आफू सत्तामा उक्लिने अर्कोलाई सत्ताबाट फाल्ने उपक्रममा लागे । लोकतान्त्रिक आन्दोलनका अगुवा राजनीतिक दल र तिनका अगुवा नेताको मतिभ्रम भयो । उनीहरूले एकआपसमा सामान्य संयमसमेत राख्न सकेनन् । त्यस समयका कम्युनिस्टको उद्दण्ड र उग्रचिन्तन तथा कांग्रेस नेताहरूको सत्तामोहका कारण देशमा माओवादी हिंसात्मक आन्दोलनको बीजारोपण भयो । माओवादी द्वन्द्वसँगै देशमा भौतिक, आर्थिक, शैक्षिकलगायत हरेक क्षेत्र तहसनहस भए ।

विकास निर्माणको गति ठप्प भयो । सामन्तको विरोधका नाममा कैयौँ सर्वसाधारण मारिए, कैयौँको उठिवास लगाइयो । तर, जसले विगतमा देशलाई लुटिरहेका थिए, तिनीहरू भने नेता नै रहिरहे । गरिब जनताले दुःख पाए । १७ हजारभन्दा बढी मानिस माओवादी हिंसाका नाममा मारिए । हजारौँ मानिस अंगभंग भए । हजारौँ विस्थापित भए । मध्यावधि निर्वाचन कांग्रेसका निम्ति दुर्भाग्य बन्यो । हिंसाका निम्ति मलजल बन्यो । नेतृत्वका निम्ति माफिया र नेताहरूलाई कमाउने धन्दा बन्यो । नेपालको भूमि विदेशीको क्रिडास्थल बन्यो । लोकतन्त्रमाथि प्रश्न खडा भयो ।

विकासको बाधक नेतृत्व : देश माओवादी हिंसात्मक द्वन्द्वको चपेटामा परिरहेको समयमा विकास, निर्माण र राजनीतिक स्थिरताको मुख्य शत्रु राजतन्त्र या राजसंस्था नै हो भन्ने सोचाइ बन्यो । केन्द्रीकृत राज्य प्रणाली नै यसको मुख्य समस्या हो भन्ने निष्कर्ष रह्यो । हिन्दू धर्मसापेक्षता नै सबै समस्याको मूल जड हो भन्ने बिउमा रासायनिक मल हालियो । त्यसैले हामीले ०६२/६३ मा अर्को आन्दोलन गरेर राजतन्त्रलाई देशबाट बिदा गर्‍यौँ । सिंहदरबारबाट सञ्चालन हुने शासन व्यवस्थालाई प्रदेश, गाउँ हुँदै वडासम्म पुर्‍यायौँ । हिन्दूधर्म सापेक्षता हटाएर देशलाई धर्मनिरपेक्ष बनायौँ । नेतृत्वको विकास समानुपातिक प्रणालीबाट हुन सक्छ भनेर हामीले त्यसलाई पनि अपनायौँ ।

हामीले देशको आर्थिक समृद्धि, सामाजिक न्याय, समतामूलक शासन व्यवस्था, विकास निर्माण आदिका लागि जे–जेलाई बाधक ठानेका थियौँ, ती सबैलाई फाल्यौँ, परिवर्तन गर्‍यौँ र प्रजातन्त्र शब्द पनि विकासको बाधक ठानी लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माण गर्‍यौँ । नयाँ संविधान निर्माणसँगै हामीले घोषणा गर्‍यौँ । अब यो देशको शासन जनताले गर्नेछन्, सिंहदरबार गाउँ–गाउँ पुगेर जनतालाई सेवा दिनेछ र समृद्धिको यात्रा गाउँ-गाउँबाट सुरु हुनेछ । २४० वर्ष पुरानो राजतन्त्रले अन्तिममा पत्रकार बोलाएर राजदण्ड र श्रीपेचको सुरक्षा होस् भन्दै जनतालाई बुझाएर राजा आफैँ गाडी हाँकेर दरबारबाट बाहिरिए । विश्वमा यस्तो इतिहास बिरलै पढ्न पाइन्छ । आज प्रश्न उठेको छ– नेपालको विकासको बाधक के हो त ? राजतन्त्र हो कि ? हिन्दूधर्म हो कि ? लोकतन्त्र हो कि ? कि ३० वर्षसम्म शासन गर्ने नेताहरू पो हुन् ? यी प्रश्नको निचोड ननिकाली अघि बढ्ने हो भने नेपालको विकास अब हुन सक्दैन । सीमित सत्ताधारी, उनैका आसेपासे, उनैको परिवारको विकास हुने, तर नेपाली युवाले जहिल्यै अरूको देशमा पसिना बगाउन बाध्य भइरहने हो भने यहाँ विकासको सधैँ अपव्याख्या भइरहनेछ । जसले आफ्नो इतिहास भुल्छ, धर्म र संस्कृतिको अपमान गर्छ, रसिदका आधारमा कार्यकर्तालाई बन्दी बनाउँछ र ठूलो पर्खाल र सुरक्षाकर्मीको घेरामा बसेपछि आफू सुरक्षित हुने ठान्छ, ऊ नै नेपालको विकासको बाधक हो ।

कम्युनिस्टको दुईतिहाइको सरकार : यिनै पृष्ठभूमिबीच देशमा नयाँ संविधान कार्यान्वयनसँगै नयाँ निर्वाचन भयो । कम्युनिस्ट पार्टीहरूले लगभग दुईतिहाइ मत पाए र देशमा सत्ता सम्हाले । देशमा आवश्यक सबैजसो संरचना बनिसकेका छन् । काम गरेर देखाउन कुनै बाधा, व्यवधान छैन । सधैँ टुटफुटको राजनीतिमा रमाइरहने कम्युनिस्ट पार्टीहरू एकजुट भइसकेका छन् । समाजवाद नै आफ्नो अन्तिम लक्ष्य मानेको कम्युनिस्ट पार्टीको हातमा देशको बागडोर पुगेको छ । देशको संविधान र संवैधानिक निकाय पनि उनीहरूकै हातमा छ । वडादेखि केन्द्रसम्म जताततै कम्युनिस्टकै बहुसंख्यक सरकार छ । यस्तो सुगम अवसर यो ३० वर्षमा कसैले पाएको थिएन । एकछत्र विनाचुनौती देश विकास, निर्माण र समृद्धिको यात्रामा अघि लम्किनुपर्ने समयमा सरकार बनेको दुई वर्षमै सत्तारुढ पार्टीभित्र आपसी झगडा चर्केको छ । देश कोरोना महाव्याधिसित एकजुट भएर लड्नुपर्ने समयमा सरकारले बेमौसी अध्यादेश ल्याएर रोमकालीन निरोको नयाँ ‘भर्सन’मा आफूलाई स्थापित गराएको छ । देश लकडाउनमा भएको समयमा सरकारले अर्काको पार्टी फुटाएर देखाइदिने मुडमा अध्यादेश ल्यायो । र, भ्रष्टाचारलाई संस्थागत विकास र संरक्षण गर्दै आफैँ विज्ञ, आफैँ डाक्टर बन्दा नयाँ समस्या सिर्जना भएको छ ।

सरकारका यस्ता अक्षम्य क्रियाकलापबाट आज फेरि केही प्रश्न खडा भएका छन्- के यो देशमा हिजो व्यवस्था बाधक थियो ? के धर्म बाधक थियो ? के राजतन्त्र बाधक थियो ? आखिर यी सबैलाई पन्छाएर जनताले एउटै दललाई दुईतिहाइ दिँदा पनि किन देशले विकासको गति समात्न सकेन ? किन जनताले समृद्धि अनुभूत गर्न सकेनन् ? आखिर जनताले लडेर ल्याएको लोकतन्त्र भ्रष्टतन्त्रमा परिणत हुनुमा को जिम्मेवार छ ? आज देशमा सशक्त सञ्चार माध्यम नभइदिएको भए लोकतन्त्रका आडमा मौलाइरहेका यस्ता विकृति र विसंगति उजागर हुने थिएनन् । जनताले आफ्ना नेता र आफूले ल्याएको शासन व्यवस्थाको अनुहार छर्लंग देख्न पाउने थिएनन् । विगतमा बुर्जुवा शिक्षा पढ्नु हुन्न भनी ‘नेस्नालिस्टिक आइसोलेसन’मा राख्ने कम्युनिस्टले शासन सञ्चालन गर्दा शिक्षाको कति महत्व हुन्छ भन्ने बुझ्न सकेनन् । अनुशासनका बन्धनमा बाँधिएका कार्यकर्ता प्रजातान्त्रिक पद्धतिमा नेताको मनपरीतन्त्रमा मुख बन्द गरेर बसिरहन्नन् भन्ने यथार्थ नेतृत्वले बुझ्न सकेन । प्रजातान्त्रिक परिपाटीअनुसार नेता पारदर्शी हुन नसक्नु र कम्युनिस्ट आचरणलाई भ्रष्टाचारीतन्त्रमा ‘डाइल्युट’ गरिदिँदा कम्युनिस्ट नेतृत्वप्रति नै प्रश्न खडा भएको छ ।

देशको दुर्गतिमा व्यवस्थाभन्दा नेतृत्व जिम्मेवार हुने भएकाले अब नयाँ व्यवस्था होइन, नयाँ नेतृत्व खोज्नुपर्छ  

अबको नेपाल कता जाला : यस प्रश्नमाथि समीक्षा गर्ने समय आएको छ । झन्डै दुईतिहाइ मत च्यापेर रमाइरहेको सरकारले देश र जनताका लागि के गर्दै छ ? यो सरकारले फेरि पनि विगतकै विकृतिको भारी बोकिरहने हो कि विगतलाई बिर्सेर या सच्याएर अघि बढ्ने हो ? यो प्रश्न सबैतिर उठिरहेको छ । अब हामीले कुन बाटो अँगाल्ने हो ? देशलाई कता लाने हो ? अब हामीले यही व्यवस्थालाई राम्ररी चलाउने हो कि पुनः बन्दुकलाई आह्वान गर्ने हो ? संसदीय निर्वाचनमा राष्ट्रवादी सन्तनेता कृष्णप्रसाद भट्टराईको पराजय, समयअनुसार निर्णय गर्न सक्ने नेता मदन भण्डारीको रहस्यमय मृत्यु र राजा वीरेन्द्रको वंशविनाशजस्ता घटना अभैm अनुत्तरित नै छन् । तमाम आरोह–अवरोहको सामना गरेको कांग्रेसले सानो कचौरीमा दानाको गिन्ती गरेर आगामी चुनौतीको सामना गर्न सक्दैन । यस्तो कठिन समयमा विगत र वर्तमानको समीक्षा गर्दै प्रतिपक्षी दलले नेपालीको जनआवाजको प्रतिनिधित्व गर्दै जनतालाई विश्वास दिलाउन सक्नुपर्छ ।

प्रश्नको समाधान : त्यसो भए यसको समाधान के हो त ? हामीकहाँ व्यवस्था त परिवर्तन भयो । व्यवस्था नयाँ आए पनि नेतृत्व भने उही पुरानै दोहोरिइरह्यो । देशमा नयाँ संविधान आयो । नयाँ शासन प्रणाली पनि आयो । तर, नयाँ सोच बोकेको नयाँ नेतृत्व आउन सकेन । उत्तरदायित्वबोध गर्ने नेता देखिएनन् । ब्रह्मनालमा नपुगुन्जेल सत्ता नछाड्ने सत्तालिप्सा बोकेका नेता हिजो पनि थिए र तिनैको उत्तराधिकार बोकेर आज पनि देशको सत्तामा हालीमुहाली गरिरहेका छन् । नेतृत्वको समीक्षा गर्दा जसले शासन सत्ता चलाए, एकाधबाहेक धरैजसोको अनुहार भ्रष्टाचारको छिटाले कुरूप देखिएको छ । यसबाट देशको दुर्गतिमा व्यवस्थाभन्दा नेतृत्व कति जिम्मेवार हुँदो रहेछ भन्ने प्रस्ट भएको छ । त्यसैले अब हामीले नयाँ व्यवस्था होइन, नयाँ नेतृत्वको खोजी गर्ने समय आएको छ । यो नै आजको सबैभन्दा टड्कारो आवश्यकता हो । उसैले सबै प्रश्नको जवाफ दिन सक्छ । नयाँपत्रिकाबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री डा. वाग्ले
२०८३ बैसाख २१, सोमबार
चट्याङ लागेर नैना बुढाको निधन
२०८३ बैसाख २१, सोमबार
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
२०८३ बैसाख २१, सोमबार
आइपिएलमा १६४ रनको लक्ष्य पछ्याउँदै गुजरात टाइटन्स विजयी
२०८३ बैसाख २१, सोमबार
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
२०८३ बैसाख २१, सोमबार
भारतमा मतगणना : मोदीका लागि निर्णायक घडी
२०८३ बैसाख २१, सोमबार
वाग्मती प्रदेश सरकारले बलेफीमा ‘र्याफ्टिङ स्कुल’ स्थापना गर्ने
२०८३ बैसाख २१, सोमबार