मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

जाजरकोट अस्पतालमा औषधि अभाव

कर्णाली प्रदेश सरकारको मातहतमा रहेको जाजरकोट जिल्ला अस्पतालमा एक महिनादेखि अस्पतालमा औषधिको अभाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जिल्ला अस्पताल जाजरकोटमा औषधिको अभाव भएको छ । कर्णाली प्रदेश सरकारको मातहतमा रहेको जाजरकोट जिल्ला अस्पतालमा एक महिनादेखि अस्पतालमा औषधिको अभाव भएको हो ।

अस्पतालमा औषधि नहुँदा बिरामीहरू समस्यामा परेका छन् । दैनिक पुर्जी लिएर औषधि किन्न फार्मेसीमा बिरामी पुगे पनि औषधि नहुँदा बाहिरका पसलमा गएर औषधि खरिद गर्न बाध्य हुनुपरेको बिरामीले बताएका छन् ।

टेन्डर प्रक्रिया पुरा गरी वर्ष भरिलाई पुग्ने औषधि खरिद गर्नुपर्ने प्रक्रिया पुरा नगरेका कारण पनि पटक पटक अस्पतालमा औषधिको अभाव हुने गरेको फार्मेसी विभागले बताएको छ ।

नेपाल सरकारले तोकेबमोजिम ९८ प्रकारका औषधि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । हाल जिल्ला अस्पतालमा २०–३० प्रकारका औषधि मात्र छन् ।

बिमा गरेका बिरामीले सबैभन्दा बढी समस्या खेपेका छन् । “उपचारमा केही सहज होला भनेर बिमा गरियो तर अस्पतालमा औषधि पाइएन” मेडिकलमा गएर महँगो औषधि किन्नुपरेको भेरी नगरपालिका ४ की २९ वर्षीया सरस्वती विकले बताइन् ।

प्रशासनलाई महिना दिन अघि नै औषधि सकिएको जानकारी गराए पनि अहिलेसम्म सुनुवाइ नभएको फार्मेसी विभागले जनाएको छ । सामान्यदेखि जटिल रोगका लागि चाहिने ५० प्रकारका औषधि हाल जिल्ला अस्पतालमा छैनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया