काठमाण्डौंः हरेक राजनीतिक आन्दोलनका नारा घन्किने वीरगन्जको घन्टाघरमा आइतबार फरक नारा चर्कियो । दलित भएकै कारण महायज्ञमा प्रवेश निषेध गरेको विरोधमा वीरगन्ज महानगरपालिका–१७ अलौका दलित समुदायले छुवाछूत र विभेदविरुद्ध नाराबाजी गरे।
‘हिन्दुद्वारा हिन्दुमाथि विभेद, हिन्दुको शोषक हिन्दु, हिन्दु एकता जिन्दावाद’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर दलित समुदायले नाराबाजी गरेका हुन्। साढे २ दशकपछि ८ चैतदेखि हुन लागेको शतचण्डी महायज्ञमा प्रवेश गर्न नदिएको भन्दै अलौका दलित समुदाय आन्दोलनमा उत्रिएका हुन्।
‘२५ वर्षअघि महायज्ञ हुँदा हामी सानै थियौँ, त्यो बेला केही थाहा थिएन, हाम्रा अग्रजले पनि सामान्य जस्तै सोचेर चुप लागे। तर अब हामी सचेत छौँ, चुप लागेर बस्दैनौँ’ अलौका स्थानीय कृष्ण रामले भने । त्यहाँका गैरदलित समुदायले दलितलाई सधैँ हेप्ने र दबाउने गरेको हुँदा अब सहेर नबसी कानुनी प्रक्रियामा जाने कृष्णको भनाइ छ।
महायज्ञमा दलित समुदायलाई पनि प्रवेश गर्न दिनुपर्छ भनेर १ महिनादेखि निरन्तर आवाज उठाए पनि शतचण्डी महायज्ञ मूल आयोजक समितिले बेवास्ता गरेपछि आन्दोलन गर्न बाध्य भएको अलौका ५६ वर्षीय खुबलाल महराले बताए।
महायज्ञस्थल निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दलित समुदायलाई नै चौका (महायज्ञमा पूजा गर्ने ठाउँ) मा प्रवेश गर्न नदिनुले अन्याय भएको महराको भनाइ छ । अरू सबै काम गर्नु तर चौकामा नबस्नु भन्ने गैरदलितको प्रतिक्रियामाथि आपत्ति जनाउँदै उनले भने, ‘सबै काम हामीले नै गर्ने अनि चौकामा बस्न नदिने ? हिन्दु धर्मकै यज्ञमा हामी हिन्दुलाई नै वञ्चित गर्नु कहाँको धर्म हो ?’
‘हिन्दुमाथि हिन्दुले नै विभेद गरेपछि अब हामी न त मन्दिर जान सक्छौँ, न त मस्जिद नै’, स्थानीय दलित विकास पथका अध्यक्ष शिवनारायण रामले भने। संविधानमै छुवाछूत र विभेदलाई जघन्य अपराधका रूपमा उल्लेख गरे पनि समाजमा अझै पनि रुढीवादी परम्परा हाबी रहँदा यस्ता घटना हुने गरेको उनको बुझाइ छ। धर्मको आडमा दलित समुदायमाथि विभेद गर्नेहरूलाई कानुनी दायरामा नल्याउँदासम्म सुधार नहुने उनको अडान छ।
शतचण्डी महायज्ञ मूल पूजा समितिमा पनि दलितलाई समावेश नगराइएको भन्दै अलौका ६४ वर्षीय जोधा रामको पनि आपत्ति छ । महायज्ञ बनाउनका लागि दलित समुदायबाट चन्दासमेत नलिएको उनको आरोप छ ।
‘रामायणमा पनि छुवाछूत छैन, धर्ममा छुवाछूत र विभेद भन्ने कतै पनि छैन । तर धर्मकै आडमा विभेद गर्न खोज्नु भनेको धर्मलाई भाँड्न खोज्नु हो’ हिन्दु परिषद् नेपालका केन्द्रीय सदस्यसमेत रहेका अधिवक्ता विनोदप्रसाद कुर्मी बताउँछन् । ब्राह्मणवादकै उपज र रुढीवादी परम्पराकै कारण हिन्दु धर्म छोड्दै जाने र धर्म परिवर्तन गर्नेको संख्या बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे।
‘जुन जातको भए पनि मुस्लिम समुदायमा एकता भएजस्तै हिन्दुहरू पनि एक हुनुपर्छ । जातपातका आधारमा विभेद दण्डनीय हो, त्यसैले त्यस्ता व्यक्तिलाई कारबाही गर्नुपर्छ’, कुर्मीले भने ।
मन्दिरमा र पूजामा बस्न पाउने सबैको अधिकार भएकाले यसबाट कसैलाई वञ्चित नगर्नका लागि हिन्दु परिषद् नेपाले पनि दलितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएको कुर्मीले बताए । वीरगन्ज महानगरपालिका–१७ का वडाअध्यक्ष सञ्जीव बहादुर क्षेत्रीले अपरिपक्व प्रतिक्रिया दिए।
सामाजिक विषयका बारेमा समाजमै छलफल गर्नुपर्ने बताउँदै उनले लिखित रूपमा निवेदन आएमा मात्रै आफूले प्रक्रिया अघि बढाउने बताए । उनले भने, ‘पूजा मूल समिति छ, त्यहाँ पदाधिकारी छन्, छलफल जारी छ, सहमति हुन्छ होला ।’ क्षेत्री आफै पनि महायज्ञ मूल पूजा समितिका सदस्य हुन् । उनको प्रतिक्रियाले उल्टै समितिलाई बचाउन गर्न खोजेको स्थानीयको भनाइ छ।
संसारीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रह्लाद चौधरीले पूजा स्थलमा दलित समुदायलाई प्रवेश गर्न नदिएको स्वीकार गर्दै बरु जेल जान तयार रहेको बताए। पहिलैदेखि चल्दै आएको संस्कारबमोजिम मन्दिरमा दलित समुदायलाई प्रवेश गर्न नदिने मूल पूजा समितिका सदस्यसमेत रहेका चौधरीको अडान छ। उनले भने, ‘पहिलैदेखि हामीले सँगै गाउँमा घुमे पनि पूजामा भने सँगै बसाएका छैनौ, सँगै बसेर पूजा कहिलै पनि गरेका छैनौं र गर्दैनौं पनि।’
अन्य ६ वटा टोलबाट चन्दा लिएको बताउँदै उनले दलित समुदायले चन्दा दिन खोज्दा नलिएको र यो यज्ञ समापन भएसँगै छलफल गरेर आगामी पूजादेखि गर्ने बारे छलफल गर्न सकिने चौधरीको तर्क छ । छुवाछूतलाई संविधानमा अपराधका रूपमा राखिएको हुँदा यस्तो गर्न नहुने बताउँदा उनले भने, ‘यदि यो अपराध हो भने बरु जेलमै भए पनि जाउँला, जहाँ भए पनि भात खाने हो, बरु जेलमै बसेर भात खाउँला ।’
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले यस विषयलाई त्यति गम्भीरताका साथ नलिएको पाइयो । शतचण्डी महायज्ञ मूल पूजा समितिको विरुद्धमा उजुरी दिन गएका अलौका दलित समुदायलाई उनले पूजामा सहभागी नभएपछि खबर गर्नु भनेर प्रतिक्रिया दिए।
प्रतिक्रियाबाट असन्तुष्टी जनाई त्यहीँ उपस्थित सञ्चारकर्मीले दबाब दिएपछि सहायक प्रजिअ ढकालले पनि छिटै दुवै पक्षलाई बोलाएर छलफल गरी पूजामा सहभागी हुन नदिनेलाई कारबाही गर्ने आश्वासन दिएका छन् ।
जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ ले जातीय विभेद तथा छुवाछूतजन्य कार्य आफै गर्ने तथा अरूमार्फत गराउने कुरालाई मात्रै निषेध गरेको छैन, भेदभाव तथा छुवाछूतजन्य निषेधित कार्यलाई समर्थन गर्ने, दुरुत्साहन गर्ने वा उकास्ने कार्यलाई समेत वर्जित गरी दण्डनीय बनाएको छ। सार्वजनिक तथा निजी दुवै स्थलमा जातीय भेदभाव वा छुवाछूतजन्य कार्य गरेको अवस्थामा ऐनअन्तर्गत फौजदारी दण्डको भागीदार बन्नुपर्ने व्यवस्था छ ।
ऐनको दफा ४ को उपदफा २ (ख) मा व्यक्तिगत वा सामूहिक रूपमा सार्वजनिक स्थान वा समारोहमा कुनै प्रकारको भेदभाव गर्न नहुने उल्लेख छ। भेदभाव गरेमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। द नेपाल टपबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया