काठमाण्डौंः राना थारू समुदायको खखडेहरा पर्वका अवसरमा आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिम प्रदेश सरकारले खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिएको हो।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीका अनुसार प्रदेश राजपत्रमा प्रकाशित २०७९ सालको बिदासम्बन्धी सूचनाअनुसार खखडेहरा पर्वको बिदा आगामी चैत १ गते कायम गरिएकामा प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले संशोधन गरी आज बिदा दिने निर्णय गरेको हो। प्रदेश मन्त्रिपरिषद्को फागुन २८ गतेको बैठकले बिदा दिने निर्णय गरेको हो।
होली पर्वको अन्तिम दिन खखडेहरा पर्व मनाइने गरिन्छ। राना थारू समुदायमा जिउँदो होली, मरेको होली र खकडेहराका रूपमा ३८ दिनसम्म होली पर्व मनाइने चलन छ। होली पर्वमा भगवान् श्रीकृष्ण, रामका कथाहरूलाई गीतमा ढालेर गाइने गरिन्छ। जिउँदो होली माघ पूर्णिमादेखि फागुपूर्णिमासम्म महिला–पुरुष मिलेर ढोलको तालमा नाच्दै रातिका बेला गीत गाउँदै मनाउने गरिन्छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया