कार्तिक २९, २०८३ आइतबार November 15, 2026

आजदेखी ‘मौलाकाली केबलकार’ सञ्चालनमा, पाँच मिनटमै मन्दिर पुग्न सकिने

८० वर्षमाथिका वृद्धवृद्धा र तीन फिटभन्दा कमका बालबालिकालाइ पैशा नलाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नयाँ वर्ष २०८० को सुरुआतसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा ‘मौलाकाली केबलकार’ सञ्चालनमा आएको छ ।

गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर जाने यात्रुलाई लक्षित गरी निर्माण गरिएको केबलकार आजदेखि सञ्चालनमा आएको हो ।

नयाँवर्षको अवसर पारेर आजदेखि सेवा सुरु गरिएको मौलाकाली केबलकार व्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिनुभयो ।

केबलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका वडा नं ६ निवासी सय वर्षीया वृद्धा सरस्वती कँडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गर्नुभएको थियो ।

केबलकारमार्फत मौलाकाली मन्दिरसम्म पाँच मिनेटमै पुग्न सकिनेछ । करिब दुई किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन् । हाल केबलकारले दुइतर्फी मूल्य रु पाँच सय ५० कायम गरिएको शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार केबलकारले तीनदेखि चार फिटसम्मका बालबालिकाका लागि रु तीन सय ३०, विद्यार्थीका लागि रु चार सय १५, ज्येष्ठ नागरिकका लागि रु चार सय १५ र फरक क्षमता भएकाका लागि रु दुई सय ७५ को टिकट दर राखिएको छ । केबलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र तीन फिटभन्दा कमका बालबालिकाका लागि निःशुल्क सेवा दिने जनाएको छ ।

आइएमई समूहको प्रवद्र्धनमा करिब दुई वर्षअघिदेखि निर्माण सुरु गरिएको केबलकारले आजदेखि नियमित सेवा सुरु गरेको शाहले बताउनुभयो । केबलकारको एउटा डब्बा (गोन्डुला)मा एक पटकमा आठ जना यात्रु चढ्न सक्ने व्यवस्था रहेको भन्दै शाहले केबलकारबाट पाँच मिनेटमा मन्दिर पुगिने बताउनुभयो । “नेपालमा भित्रिएको सबैभन्दा अत्याधुनिक प्रविधियुक्त केबलकार भएकाले यात्रुहरु पूर्णरुपमा सुरक्षित रहनुहुनेछ”, उहाँले भन्नुभयो, “अहिले हामीले बिहान ६ बजेबाट केबलकार चलाउँछौँ, आवश्यकताअनुसार चौबीसै घण्टा सञ्चालन गर्न सकिन्छ ।”

केबलकारको बटम स्टेशनबाट अपर स्टेशनसम्म एक हजार दुई सय मिटर दूरीमा छवटा टावर निर्माण गरिएको शाहले बताउनुभयो । यात्रु बोक्ने १२ वटा डब्बा ९गोन्डुला, एउटा सामान बोक्ने तथा अर्को सर्भिसिङ डब्बा राखिएको उहाँको भनाइ छ । एउटा गोन्डुलामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ ।

आईएमई समूहको ५१ प्रतिशत र स्थानीयको ४९ प्रतिशत लगानी रहने गरी स्थापना गरिएको केबलकार गैँडाकोट–१ धारापानीबाट चढ्ने र मन्दिर नजिक ओर्लने स्टेशन राखिएको छ । माथिल्लो स्टेशनसँगै ६० कोठा रहने गरी चार तारे होटल निर्माणको काम तीव्ररुपमा अगाडि बढेको पनि शाहले जानकारी दिनुभयो । केबलकारको निर्माण अष्ट्रियन कम्पनीले गरेको हो ।

सञ्चालनको पहिलो दिननै पाँच हजारभन्दा बढी यात्रुले केबलकारको सेवा लिएका शाहको भनाइ छ । नयाँ वर्षको अवसर पारेर आजदेखि सञ्चालन गरिएको केबलकारको उद्घाटन भने केही दिनपछि गरिने शाहको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार