बुधबार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वती लगायतको ८ सदस्यीय टोली रुस प्रस्थान गरेको हो ।
प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच सम्झौता हुने जानकारी दिए । उनले दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदान प्रदान गर्ने, संसदलाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरु उल्लेख हुने जनाए । उनले भ्रमणमा ९ जना उच्चस्तरीय व्यक्तित्वहरुसँग भेट गर्ने कार्यसूची रहेको जानकारी दिए ।
‘दुई देशका संसदहरुको बीचमा एमओयु पनि हामी गर्नेछौँ । दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदान प्रदान गर्ने, संसदलाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरु उल्लेख हुनेछ,’ उनले भने, ‘दुवै सदनका प्रमुख र त्यहाँका सरकारी उच्च अधिकारीसँग र व्यवसायिक व्यक्तित्वहरुसँग र प्रदेश प्रमुखसहित करिब ९ जना विशिष्ट व्यक्तित्वसँग हाम्रो भेट हुनेछ ।
भ्रमण टोलीमा रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दुई देशका संसदबीचको सम्बन्ध सुदृढ गर्ने सन्दर्भमा भ्रमण हुन लागेको जनाए। ‘नेपाली जनताको सद्भाव बोकेर रुस जाँदैछौँ । नेपाली जनता, नेपाल सरकार, राष्ट्रिय सभा संघीय संसदको समेत हाम्रो सद्भाव रुसमा गएर व्यक्त गर्नेछौँ । उताबाट पनि त्यत्तिकै महत्वका साथ हाम्रा सम्बन्धहरु भविष्यमा विकसित हुँदै जाने र नेपालको भ्रमण गर्ने अवस्था आउने नै छ । सद्भाव पूर्ण रुपले सफल हुनेछ ।’ उनले भने ।
राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा रुस प्रस्थान गरेको ८ सदस्यीय भ्रमणकारी टोली बैशाख १२ गते दिउँसो स्वदेश फर्किने कार्यतालिका छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया